तस्करीका सामान जफतबाट प्रहरीले तीन महिनामा उठायो ६७ करोड, मधेशमा धेरै तस्करी

बिजमाण्डू
२०८१ बैशाख १८ गते १०:४० | Apr 30, 2024
तस्करीका सामान जफतबाट प्रहरीले तीन महिनामा उठायो ६७ करोड, मधेशमा धेरै तस्करी

काठमाडौं । तीन महिनाको अवधिमा नेपाल प्रहरीले अवैधरुपमा ल्याएको सुनचाँदी, सामान, काठ लगायत बरामद् गरेर ६७ करोड रुपैयाँ संकलन गरेको छ।

Tata
GBIME
Nepal Life

गत माघ महिनादेखि चैत महिनासम्म ६७ करोड १ लाख १० हजार ८९६ रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको हो।

तस्करी गरेर ल्याएका, बिलबिजक भन्दाबढीको सामान प्रहरीले जफत गर्ने गर्छ। यसरी तस्करीको सबैभन्दा धेरै मधेश प्रदेशबाट बरामद गरेको देखिएको छ।

तीन महिनाको अवधिमा ४१ करोड १८ लाख ३८ हजार ६२० रुपैयाँको सामान बरामद गरेको नेपाल प्रहरीले जानकारी दिएको छ। मधेश प्रदेशमा सबैभन्दा धेरै तस्करी हुने गरेको देखिन्छ।

त्यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सोही अवधिमा ७ करोड ६ लाख ५८ हजार ३११ रुपैयाँ बराबरको सामान बरामद गरेको छ। रानी भन्सार कार्यालय रहेको कोशी प्रदेशबाट प्रहरीले ३ करोड १५ लाख ७३ हजार ४४६ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको प्रहरीको तथ्यांकमा देखिएको छ।

बागमती प्रदेशबाट प्रहरीले २ करोड ९ लाख १३ हजार ६२६ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। गण्डकी प्रदेशबाट बरामद सामानबाट १ करोड ३० लाख ९८६ रुपैयाँ राजस्व संकलन भएको छ। त्यसैगरि लुम्बिनी प्रदेशबाट ८ करोड ९४ लाख ७५ हजार ७४१ रुपैयाँ संकलन भएको छ।

प्रहरीले बरामद गरेको सामानबाट संकलन हुने राजस्व सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ। कुनै पनि भन्सार कार्यालय नभएको यस प्रदेशबाट ३९ लाख ९९ हजार ७९३ रुपैयाँ संकलन गरिएको देखिन्छ।

त्यस्तै सुदूरपश्चिम प्रदेशबाट प्रहरीले ३ करोड १६ लाख १० हजार ३९० रुपैयाँ संकलन गरेको छ।