वेस्ट हमसँगको बराबरीले लिभरपुललाई अर्को धक्का, प्रिमियर लिगमा केके भयो?

बिजमाण्डू
२०८१ बैशाख १६ गते ०६:३७ | Apr 28, 2024
वेस्ट हमसँगको बराबरीले लिभरपुललाई अर्को धक्का, प्रिमियर लिगमा केके भयो?
प्रतिस्पर्धामा लिभरपुल र वेस्ट हमका खेलाडी। तस्बिर: रोयटर्स

प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा लिभरपुल वेस्ट हमसँग बराबरीमा रोकिएको छ। लण्डन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले उपाधि ताकेर बसेको लिभरपुललाई २-२ गोलको बराबरीमा रोकेको हो।

Tata
GBIME
Nepal Life

लण्डन स्टेडियममा घरेलु टोलीले ४३ औँ मिनेटमा जारोड बविनको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको लिभरपुललाई एन्ड्र्यु रोबर्टनसले बराबरीमा ल्याए। उनले खेलको ४८ औँ मिनेटमा लुइस डियाजको पासमा गोल गरे।

खेलको ६५ औँ मिनेटमा वेस्ट हमका अलफोन्से एरोलाले आत्मघाती गोल गर्दा लिभरपुलले अग्रता बनाउने अवसर पायो। तर, खेलमा फर्कन घरेलु टोली सफल भयो। यसपटक ७७ औँ मिनेटमा मिचाइल एन्टोनियोले वेस्ट हमलाई बराबरीमा ल्याए।

यो बराबरीले लिग टाइटल जित्ने होडमा रहेको लिभरपुललाई ठूलो धक्का दिएको छ। अघिल्लो खेलमा एभर्टनसँग २-० गोलले स्तब्ध भएको लिभरपुल यो बराबरीले थप कमजोर बनेको छ। शीर्ष स्थानको आर्सनलले ३४ खेलबाट ७७ र दोस्रो स्थानको म्यानचेस्टर सिटीले ३३ खेलबाट ७६ अंक बनाउँदा लिभरपुलको ३५ खेलबाट ७५ अंक छ।

गएराति नै सम्पन्न प्रिमियर लिगका अन्य खेलमा चेल्सी र एस्टोन भिल्ला २-२, म्यानचेस्टर युनाइटेड र बर्नली तथा फुलहम र क्रिस्टल प्यालेस १-१ गोलको बराबरीमा रोकिए। त्यस्तै न्युक्यासलले सेफिल्ड युनाइटेडलाई ५-१ गोलले हराउँदा वुल्भ्सले लुटन टाउनलाई २-१ तथा एभर्टनले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले हरायो।