आईपीएलमा राजस्थानको रवाफ कायमै, लखनउलाई पराजित गरेपछि शीर्षस्थानमा ६ अंकको अग्रता

बिजमाण्डू
२०८१ बैशाख १६ गते ०६:२७ | Apr 28, 2024
आईपीएलमा राजस्थानको रवाफ कायमै, लखनउलाई पराजित गरेपछि शीर्षस्थानमा ६ अंकको अग्रता
लखनउविरुद्ध ब्याटिङमा राजस्थानका ब्याटर। तस्बिर: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल)को जारी संस्करणमा राजस्थान रोयल्स आफ्नो दबदबालाई कायमै राखेको छ। गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्टलाई ७ विकेटले हराउँदै राजस्थानले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको हो। यो जति सँगै राजस्थान प्लेअफको पनि नजिक पुगेको छ।

Tata
GBIME
Nepal Life

लखनउस्थित अटल बिहारी बाजपेयी स्टेडियममा राजस्थानले टस जितेर घरेलु टोलीलाई ब्याटिङको निम्ता दिएको थियो। सुरुवाती ब्याटिङमा उत्रिएको लखनउले निर्धारित ओभर ब्याटिङ गर्दै ५ विकेट गुमाएर १९६ रन बनायो।

लखनउका लागि कप्तान केएल राहुलले सर्वाधिक ७६ रन बनाउँदा दीपक होडाले तथा आयुष बढोनीले अविजित १८ र क्रुणाल पाण्ड्याले अविजित १५ रन बनाए।

बलिङतर्फ राजस्थानका सन्दीप शर्माले २ विकेट लिँदा ट्रेन्ट बोल्ट, आभेस खान र रविचन्द्रन अश्विनले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले कप्तान सञ्जु सामसनको आक्रामक इनिङ्सको सहायतामा १ ओभर बाँकी छँदै लक्ष्य भेट्टायो। राजस्थानका लागि सामसनले ३३ बलमा अविजित ७१ रन बनाउँदा ध्रुव जुरेल ५२ रनमा अविजित रहे। यसबाहेक यशस्वी जसवालले २४, जोस बटलरले ३४ तथा रियान परागले १४ रन बनाए।

बलिङतर्फ लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले समान १ विकेट लिए।

९ खेल खेल्दा एउटामात्र खेलमा हार ब्यहोरेको राजस्थानको हाल १६ अंक छ। दोस्रो देखि पाँचौँ स्थानसम्मका कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदराबाद, लखनउ सुपर जायन्ट र दिल्ली क्यापिटल्सको समान १० अंक छ।

आईपीएलमा आज दुई खेल हुँदैछ। दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर अहमदाबादमा भिड्नेछन्।

त्यस्तै, दोस्रो खेलमा चेन्नइ सुपर किंग्स र सनराइजर्स हैदराबाद राति पौने ८ बजे चेन्नइमा भिड्नेछन्।