अर्थसचिव मरासिनीले लिए राष्ट्र बैंकको सञ्चालकका रुपमा शपथ, सरुवामा नपरे कार्यकाल १५ महिना

बिजमाण्डू
२०८१ बैशाख १३ गते १६:५७ | Apr 25, 2024
अर्थसचिव मरासिनीले लिए राष्ट्र बैंकको सञ्चालकका रुपमा  शपथ, सरुवामा नपरे कार्यकाल १५ महिना
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ शपथ लिंदै राष्ट्र बैंक सञ्चालक समितिका सदस्य मधुकुमार मरासिनी

काठमाडौं। अर्थसचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। सचिव मरासिनीलाई बिहिबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ गराएका हुन्।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थसचिव राष्ट्र बैंक, सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ। सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ।

मरासिनीलाई सरकारले वैशाख १० गते अर्थसचिव बनाएको थियो। नेस्नल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते मुद्दा दायर गरेपछि निलम्बनमा परेका मरासिनीलाई विशेष अदालतले वैशाख ७ गते सफाइ दिएको थियो।

सरकारले सरुवा नगरे मरासिनी अबको १५ महिनासम्म राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य रहनेछन्। उनको सचिवको ५ वर्षे कार्यकाल २०८२ साउनसम्म छ।

मरासिनीको शपथ कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रार विमल पौडेल, राष्ट्र बैंकका निर्देशक एवम सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायत उपस्थित थिए।