इन्स्योरेन्समा धमाधम घट्दै जनशक्ति, कारण  प्राधिकरणको व्यवहार कि विदेश मोह?

सुनिल कुँवर
२०८१ बैशाख २२ गते ०६:२३ | May 4, 2024
इन्स्योरेन्समा धमाधम घट्दै जनशक्ति, कारण  प्राधिकरणको व्यवहार कि विदेश मोह?

काठमाडौं। स्वदेशमा दक्ष जनशक्ति नभएर विदेशमा एक्चुअरी (बीमांकीय जोखिम मूल्यांकन) गराउनु परिरहेको बीमा क्षेत्रमा जनशक्ति घट्दै गएका छन्।

Tata
GBIME
Nepal Life

रोजगारीका लागि रोजाइको क्षेत्र मानिने इन्स्योरेन्स कम्पनीमा आबद्ध कर्मचारीको संख्या एक वर्षमा साढे ४ प्रतिशतले घटेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार पछिल्लो एक वर्षमा इन्स्योरेन्समा प्रत्यक्ष रोजगारी ४.४५ प्रतिशतले घटेको छ। सन् २०२१/२२ मा बीमा क्षेत्रमा १२ हजार १३६ प्रत्यक्ष रोजगार रहेकामा २०२२/२३ सम्म आइपुग्दा यो संख्या ११ हजार ४९६ मा झरेको छ।

एक वर्षमा एजेन्ट संख्या १९ हजारले घटेको छ। प्राधिकरणका अनुसार २०२१/२२ मा २ लाख ९६ हजार एजेन्ट रहेकामा २०२२/२३ सम्म आइपुग्दा यो संख्या २ लाख ७७ हजारमा झरेको छ।

सर्भेयरहरुको संख्या पनि १.८५ प्रतिशतले घटेको छ। २०२१/२२ सम्म १ हजार २४० सर्भेयर थिए। एक वर्षमा सर्भेयरको संख्या २३ ले घटेको छ।

नयाँ आकर्षित नहुने र पुराना कर्मचारी बाहिरिने क्रम बढेका कारण इन्स्योरेन्समा आबद्ध जनशक्ति घटेको हो। कर्मचारीहरु जागिर छोडेर विदेश जाने क्रम बढेको छ। यस्तै नेपाल बीमा प्राधिकरणले लिएको नीतिले पनि जनशक्ति घटेको बीमकहरुको भनाइ छ।

नेपाल जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कर्मचारीदेखि एजेन्टसम्मै घटेको बताए।

‘एजेन्ट व्यवस्थामा प्राधिकरणले लिएको नीति, मर्जर तथा प्राप्ति र कम्पनीहरुले ल्याएको स्वेच्छिक अवकास योजना र विदेश जाने क्रम बढेकाले जनशक्ति घटेको हो,’ उनले भने।

प्राधिकरणले दुई वर्षअघि जीवन र निर्जीवन बीमा कम्पनीको पुँजी अढाइ गुणा बढाउन मर्जर नीति लिएको थियो। २०७८ चैतसम्म २० निर्जीवन र १९ जीवन बीमा कम्पनी थिए। अहिले यो संख्या जीवन र निर्जीवन दुवैतर्फ १४/१४ छ।

७ वटा लघुबीमा कम्पनी थपिए पनि मर्जर तथा प्राप्तिमा गएर यो बीचमा ११ कम्पनीको अस्तित्व मेटिएको छ। कम्पनीहरु मर्जर तथा प्राप्तिमा जाँदा कतिपय कर्मचारी स्वेच्छिक अवकाशको सुविधा लिएर बाहिरिएका थिए।

बीमा ऐन, २०७९ को व्यवस्था अनुसार प्राधिकरणले गत वर्षदेखि परीक्षा लिएर मात्रै अभिकर्ताको लाइसेन्स दिन थालेको छ। यसले गर्दा नयाँ अभिकर्ता आउने क्रम घटेको बीमकहरु बताउँछन्।

हिमालयन लाइफ इन्स्योरेन्सका सीइओ मनोजलाल कर्ण बीमा कम्पनीले पछिल्लो समय नयाँ एजेन्ट र जनशक्ति थप्न नसकेको बताउँछन्।

‘पहिले कम्पनी आफैंले एजेन्ट बनाउँथे। अहिले प्राधिकरणले परीक्षा लिने व्यवस्था गरेको छ। यसले गुणस्तर त बढाउँछ। तर, पहिले जस्तो एजेन्ट राख्न सकिएको छैन,’ उनले भने, ‘कम्पनीहरुको मर्जर, विदेश पलायन र अवकास सुविधा कर्मचारी घट्नुका मुख्य कारण हुन्।’

इन्स्योरेन्सका कति कर्मचारी जागिर छोडेर विदेशिए भन्ने तथ्यांक भने छैन। एकीकृत तथ्यांक कसैले नराखे पनि सुरक्षित भविष्यका लागि भन्दै खासगरी अनुभव धेरै नभएका कर्मचारीले धमाधम जागिर छोडिरहेका छन्।

‘बीमा कम्पनीको जागिर छोड्नु भनेको विदेश जानु नै हो। हामीकहाँ जागिर गरिरहेका खासगरी युवाहरुमा यहाँ बस्ने सोच नै छैन। उनीहरुले कामसँगै विदेश जाने प्रोसेस समेत गरिरहेका छन्,’ एक सीइओले भने।