इलाम २ मा तीन उम्मेदवारको भर आत्मानन्दमाथि, सुहाङको भर माओवादीमाथि!

नेत्र तामाङ
२०८१ बैशाख १२ गते २०:३३ | Apr 24, 2024
इलाम २ मा तीन उम्मेदवारको भर आत्मानन्दमाथि, सुहाङको भर माओवादीमाथि!

काठमाडौं। इलाम २ को उपनिर्वाचनको अन्तिम चुनावी सभा बुधबार समापन भएको छ। बुधबार मध्यरातिबाट निर्वाचन आचारसंहिता लाग्ने र प्रचार गर्न नपाइने भएपछि दलका उम्मेदवारहरूले बुधबारै चुनावी प्रचारको मैझारो गरेका छन्।

Tata
GBIME
Nepal Life

पूर्वसभामुख एवं एमाले उपाध्यक्ष सुवास नेम्बाङ २०७९ मंसिरमा निर्वाचित भएका थिए। सुवासको गत भदौ २६ गते निधन भएपछि शनिबार उपनिर्वाचन हुन लागेको हो।  

चार जनाको टक्कर

इलाम २ मा १९ उम्मेदवार भए पनि नेकपा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम लिम्बुबीच प्रतिस्पर्धा हुने आकलन छ।

सुहाङ सुवासका छोरा हुन्। उनलाई जिताउन आग्रह गर्दै एमाले अध्यक्ष केपी ओलीले यो क्षेत्रको विकासको जिम्मा आफूले लिने वाचा गरिसकेका छन्। वैशाख ५ गते इलामको देउमाई पुगेर ओलीले सुहाङको जिम्मा आफूले लिने बताएका हुन्।

‘कानुनमा मास्टर्स गरेको विद्वान व्यक्तित्व युवा हो सुहाङ नेम्बाङ। वास्तविक उम्मेदवार। कहाँ पुग्ने भनेर थाहा भएको, गन्तव्य थाहा भएको,’ ओलीले भने।

ओलीले अरू पार्टीलाई अनावश्यक खर्च गरेर बालुवामा पानी खन्याएझैँ नगर्न समेत आग्रह गरे। ‘अनावश्यक खर्च नगर्नु होला। बालुवामा पानी खनाएजस्तै हो। जित्ने सुहाङले हो,’ ‌ओलीले भने।

सुहाङ युवा उम्मेदवार हुन् भने उनको पक्षमा बुवाको सेन्टिमेन्ट भोट आउने अनुमान गरिएको छ। यसो त सुहाङलाई माओवादी केन्द्रको समर्थन रहेको छ। अघिल्लो पटक कांग्रेस माओवादीको गठबन्धन हुँदासमेत सुवासले जित निकालेकोले यस पटक सहजै सुहाङले जित्ने दाबी एमालेको छ।

नेपाली कांग्रेसका डम्बर खड्का यस पटक जसरी पनि पहिलो हुने दाउमा छन्। अघिल्लो पटक सुवाससँग ११४ मतले पछि परेका खड्कालाई जिताउन यहाँ कांग्रेका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा खटिएका छन्। केन्द्रमा शेरबहादुर देउवा समूहका भनिए पनि उनलाई जिताउन यहाँ डा शेखर कोइराला समूह पनि खटिएका छन्।

मंगलबार चुलाचुली पुगेर डा कोइरालाले खड्कालाई जिताएर पठाउन आग्रह गरे। ’रुख चिन्हमा मत हालेर डम्बर खड्कालाई यहाँबाट जिताएर पठाउनोस् इलाम -२ को विकासको जिम्मा म लिन्छु,’ उनले भने।

खड्कालाई सबैभन्दा ठूलो डर आफ्नैबाट भए पनि पहिचान पक्षधरको चर्को टक्करबीच आफू जित्ने दाबी उनको छ। खड्का यस क्षेत्रको विकासको सूत्रधार आफू भएको दाबी गर्छन्।

उपनिर्वाचनमा ठूला दललाई टक्कर दिने अर्का युवा उम्मेदवार हुन् मिलन लिम्बु। रास्वपाबाट टिकट पाएका उनलाई जसरी पनि जिताउन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछानेले पटक पटक आग्रह गरेका छन्। सहकारी ठगी प्रकरणमा बारम्बार नाम मुछिएपछि पछिल्लो समय रवि र रास्वपामाथि प्रश्न समेत बढिरहेको छ। सुशासनका पक्षमा रास्वपालाई थप शक्ति चाहिएको भन्दै उनले चुनावी प्रचारमा भनेका छन्, ‘अरू कुरा केही थाहा छैन हामीलाई मिलन लिम्बु पठाउनुस्।’

पुराना दलप्रति वितृष्णा बढेकोले आफूले जनमत पाउने दाबी मिलनको छ।

इलाममा तीन दलका उम्मेदवारलाई टक्कर दिने अर्का उम्मेदवार हुन् – डकेन्द्र थेगिम। थेगिमले मुढा चिन्ह पाएका छन्। एमालेका पूर्व कार्यकर्ता थेगिमलाई साना दलहरूको साथ छ। यति मात्र हैन पहिचानवादीहरूको मत आफूलाई भएको दाबी थेगिमको छ।

थेगिमका छोरा एकदेव लिम्बु र छोरी सुनिता थेगिम कलाकार हुन्। एकदेव युवा पुस्ताका प्रिय गायक हुन् भने सुनिता लिम्बु समुदायको लोक गीतमा चिनिएकी गायिका। यही नाताले गायक राजेश पायल राई, र्‍यापर लाउरेसमेत थेगिमलाई मत माग्न इलाम पुगेका थिए।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), धरानका मेयर हर्क साङपाङदेखि हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ छ। डकेन्द्र किरात धर्मगुरु आत्मानन्द लिङ्देनका चेला पनि हुन्।

आत्मानन्दसँग आशीर्वाद लिँदै कांग्रेस नेता डा शेखर कोइराला।

इलाम -२ को निर्वाचनमा विगतमा लारुम्बा निर्णायक मतको रूपमा हेरिन्थ्यो। यो पटक पनि पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री रवि लामिछाने, नेपाली कांग्रेसका नेता शेखर कोइराला, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायतले लिङ्देन गुहार्न लारुम्बा पुगे। आत्मानन्दले ४ हजार बढी मत प्रभावित पार्न सक्ने बताइएको छ। अघिल्लो पटक कांग्रेसलाई साथ दिएको आरोप आत्मनन्दलाई लागेकाले यसपटक सुहाङ उनलाई भेट्न पुगेनन्।

गुरुसँगको भेटमा नेपाली कांग्रेसका नेता डा. शेखरले आफ्नो पार्टीले अगाडि सारेका उम्मेदवार खड्काको पक्षमा खुल्न आग्रह गरेर फर्किएका छन्।