एनएसी अध्यक्ष अधिकारीलाई पर्यटनमन्त्री तामाङको काँध, ‘ग्राउण्ड ह्याण्डलिङ खोस्न दिन्न’

वसन्तराज उप्रेती
२०८१ बैशाख २४ गते १२:२५ | May 6, 2024
एनएसी अध्यक्ष अधिकारीलाई पर्यटनमन्त्री तामाङको काँध,  ‘ग्राउण्ड ह्याण्डलिङ खोस्न दिन्न’
पर्यटनमन्त्री हितबहादुर तामाङलाई स्वागत गर्दै एनएसी अध्यक्ष युवराज अधिकारी

काठमाडौं। वैशाख १६ र १७ गते काठमाडौंमा भएको लगानी सम्मेलनलाई लक्षित गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन सम्हाल्ने गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने परियोजना विकास गरियो। लगानी बोर्डले सुरुमा छनोट गरेको परियोजनाको सूचीमा यो अटाएको थिएन।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा निजगढ विमानस्थल बनाउन चाहनेलाई त्रिभुवन विमानस्थल व्यवस्थापनको जिम्मा दिने गरी परियोजना बनाएर सम्मेलनमा सोकेस गरियो। बोर्डका अनुसार यो परियोजनामा जापानको रेसोना बैंकले इच्छा देखाएको छ।

खासमा प्रधानमन्त्री दाहालले भने भारतीय अर्बपति गौतम अडानीको समूहलाई आकर्षित गर्न यो परियोजना सोकेसमा राख्न लगाएका थिए। परियोजना अगाडि बढे ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी व्यवस्थापन लिने कम्पनीको हुनेछ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ विमानस्थल स्वदेशी लगानीबाट निर्माण गर्न सम्भव नभएकाले विदेशीलाई आकर्षित गर्न त्रिभुवन विमानस्थलको पनि व्यवस्थापन गर्न दिनु पर्ने प्रस्ताव गत पुसमा अगाडि सारेपछि अडानी समूहले इच्छा देखाउँदै आएको छ।

प्राधिकरणले प्रस्ताव गरे अनुसार नै पूर्वसचिव शंकरप्रसाद अधिकारी संयोजक रहेको समितिले पनि त्रिभुवन विमानस्थलको व्यवस्थापन गर्न दिएर निजगढ विमानस्थलमा विदेशी लगानी भित्र्याउन सकिने प्रतिवेदन वैशाख ९ गते पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई बुझाइसकेको छ।

पर्यटनमन्त्री हितबहादुर तामाङलाई प्रतिवेदन बुझाउँदै समितिका सदस्य

प्रतिवेदनका लागि समिति गठन गर्नुअघि प्राधिकरणले गत मंसिर दोस्रो साता त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवामा नेपाल वायुसेवा निगम (एनएसी) लाई निरन्तरता नदिने निर्णय गरेको थियो।

यो पृष्ठभूमिमा मन्त्री तामाङले भने त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा एनएसीबाट कुनै हालतमा खोस्न नदिने बताएका छन्।

दिन प्रति दिन ओरालो लागिरहेको एनएसीलाई उँभो लगाउने खालको कार्ययोजना मागेर कार्यान्वयन गराउनुको साटो मन्त्री तामाङले संस्थालाई कमजोर बनाउन भूमिका खेलिरहेका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बल पुग्ने गरी अभिव्यक्ति दिएका हुन्।

उनले वैशाख १९ र २० गते अध्यक्ष अधिकारीले धुलिखेलको एउटा होटलमा राखेको तालिमका क्रममा पुगेर ग्राउण्ड ह्याण्डलिङ खोस्न नदिने बताए। तालिम एभिएसन सेक्युरिटीमा केन्द्रित थियो। मन्त्री तामाङलाई समापनका क्रममा बोलाइएको थियो। तर उनले एक कदम अघि बढेर त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ निजी क्षेत्रलाई नदिनेमा ढुक्क हुन भने।

अधिकारीले यसलाई मन्त्रीले काँध थापिदिएको रुपमा लिएका छन्। हुन पनि हवाई सुरक्षामा सुधारदेखि व्यवस्थापकीय पाटोमा अक्षम ठहरिएका अधिकारी विभागीय मन्त्रीले कमजोरीमा प्रश्न गर्नुको साटो नियामकको निर्णय र प्रधानमन्त्रीले अगाडि बढाएको प्रस्ताव विपरीत आफ्नो पक्षमा उभिएपछि नहौसिने कुरै भएन।

‘मन्त्रीले कुनै हालतमा ग्राउण्ड ह्याण्डलिङ खोस्न दिन्न भनेपछि अध्यक्षज्यूलाई निकै राहत भएको छ,’ तालिममा सहभागी निगमका एक उच्च अधिकृतले भने।

ग्राउण्ड ह्याण्डलिङ सेवा एनएसीको आम्दानीको भरपर्दो आधार हो। उसले विना प्रतिस्पर्धा पाएको यो सेवावापत वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी कमाउँदै आएको छ। २ वटा वाइडबडी जहाज सञ्चालनबाट नाफा कमाउन नसकेको एनएसीले ग्राउण्ड ह्याण्डलिङबाट हुने कमाइबाट नै कर्मचारीलाई तलब भत्ता दिंदै आएको छ।

अध्यक्ष अधिकारीले मंसिर १५ गते बिग्रिएको ९ एन एकेएक्स कलसाइनको न्यारोबडी जहाज मर्मत गराउन ५ महिना लगाए। वाइडबडी जहाजबाट वार्षिक ३ अर्बभन्दा बढी र ट्विनअटर जहाज संचालनबाट वार्षिक ५० करोडभन्दा बढी घाटा छ।

घाटा बढ्दो क्रममा रहेका कारण एनएसीले सम्झौताअनुसार ऋणको किस्ता तिर्न सकिरहेको छैन। यो अवस्थामा सुधारका लागि खबरदारी गर्नुपर्ने जिम्मेवारीमा रहेका मन्त्री तामाङले अधिकारीलाई उल्टै काँध थापेर हौस्याउने काम गरेका हुन्।

तामाङले मन्त्रालयको नेतृत्व सम्हालेको २ महिना भइसक्दा पनि एनएसीका काम कारबाहीमा सुधारको पहल गरेका छैनन्। ‘मन्त्रीले एनएसीको नेतृत्वसँग सुधारको योजना माग्नु त कता हो कता, कुरै नबुझी अध्यक्षकै पक्षमा बोल्नुभएको छ। यस्ता मन्त्रीबाट के आशा गर्नु?,’ एनएसीका सञ्चालक समितिका एक सदस्यले भने।

तालिम समापनका बेला दिएको अभिव्यक्तिबारे प्रष्ट पार्न हामीले मन्त्री तामाङसँग सम्पर्क गरेका थियौं। उनले निगमले गर्दै आइरहेको ग्राउण्ड ह्याण्डलिङ सेवा अरुलाई दिन भएका चलखेलबारे थाहा पाएको भन्दै कुनै पनि हालतमा खोस्न नदिने बताए।

‘निगमले दिँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा अरुलाई दिने कुरा आइरहेको छ। एक तप्काले यो सेवा निगमले दिनै सक्दैन भनिरहेको छ। तर म कुनै हालतमा निगमबाट खोस्न दिन्न। निजी क्षेत्रलाई दिएर निगमलाई संकटमा पार्नु त भएन नि,’ मन्त्री तामाङले बिजमाण्डूसँग भने।

तामाङले काँध थापेका अधिकारी तिनै हुन् जसलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षामा खेलाँची गरेको भन्दै पछिल्लो ६ महिनामा २ पटक स्पष्टिकरण सोधिसकेको छ।