नेपाल र कतारले ८ क्षेत्रमा सहकार्य गर्ने, महासंघले गर्‍यो लगानी आदान प्रदानसम्बन्धी समझदारी

बिजमाण्डू
२०८१ बैशाख १२ गते १३:२३ | Apr 24, 2024
नेपाल र कतारले ८ क्षेत्रमा सहकार्य गर्ने, महासंघले गर्‍यो लगानी आदान प्रदानसम्बन्धी समझदारी

काठमाडौं। नेपाल र कतारबीच विभिन्न ८ विषयमा सहकार्य गर्ने समझदारी भएको छ।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको नेपाली टोली र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेतृत्व गरेको टोलीबीच भएको वार्तामा ८ विषयमा सहकार्य गर्ने समझदारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

८ क्षेत्रमा सहकार्य गर्ने समझदारी

नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता र समझदारी भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।

कतारका राजा र प्रधानमन्त्री पुष्पकमल दाहालको दाहालको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बर अफ कमर्सका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानी द्विपक्षीय समझदारी पत्र आदानप्रदान गर्दै। तस्बिरः रासस

सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले हस्ताक्षर गरे।

यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच पनि लगानी आदान प्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरे।

दुई देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध बिस्तार एवं साझा हितका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए।

द्विपक्षीय भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, अर्थमन्त्री वर्षमान पुन लगायत सहभागी थिए।