नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो ‘केटाकेटी सुनौलो भविष्य जीवन बीमा’ योजना

बिजमाण्डू
२०८१ बैशाख १२ गते ०९:१७ | Apr 24, 2024
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो ‘केटाकेटी सुनौलो भविष्य जीवन बीमा’ योजना

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा’ योजना सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको कमलादीस्थित प्रधान कार्यालयमा मंगलबार आयोजित समारोहमा योजना सार्वजनिक गरिएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त बीमा योजना शुभारम्भको घोषणा गरेका हुन्।

अनिश्चितताले भरिएको संसारमा, आफ्ना बालबालिकाहरूको लागि स्थिर र समृद्ध भविष्य सुनिश्चित गर्नु सर्वोपरि हुने भएकाले सो आवश्यकता परिपूर्ति गर्नको लागि व्यापक कभरेज प्रदान गर्न नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरिएको कम्पनीले बताएको छ।

आमाबाबुले बच्चाको सुनौलो भविष्य, गुणस्तरीय शिक्षा सुरक्षित छ भनी सुनिश्चित गर्न सक्ने र शैक्षिक खर्चदेखि बलियो आर्थिक सुरक्षा यस बीमा योजनाले प्रदान गर्ने कम्पनीको दाबी छ।

‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ भन्‍ने नाराका साथ सार्वजनिक गरिएको बीमा योजना बालबालिकासम्बन्धी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) हो। यसमा बीमित बालबालिकाको प्रवेश उमेर १ महिना (३० दिन पछि) देखि १७ वर्ष सम्म रहने र प्रस्तावकको प्रवेश उमेर २१ वर्ष देखि ६५ वर्षसम्म रहने कम्पनीले जनाएको छ।

न्यूनतम बीमा शुल्क भुक्तानी अवधि ५ वर्षदेखि अधिकतम अवधि २५ वर्ष सम्म हुनेछ। यो योजनाको न्यूनतम बीमाङ्क रकम २५ हजार तथा अधिकतम बीमाङ्क रकम आयस्रोतका आधारमा निर्धारण गर्न सकिनेछ।

कम्पनीका अनुसार यस योजनामा प्रस्तावकको बीमा प्रारम्भ भएको मितिदेखि जोखिम प्रारम्भ हुनेछ भने बालबालिकाको बीमा प्रारम्भ भएको मितिले २ वर्षपछि वा बच्चाको उमेर ५ वर्ष पूरा भएपछिको बीमालेखको वार्षिकोत्सव वा जुन अगाडि आउँछ सोहीदेखि जोखिम प्रारम्भ हुनेछ।

यस योजना अन्तर्गत बीमालेख चालु रहेको अवस्थामा बीमाङ्क भुक्तानी परिपक्वता सुविधा अन्तर्गत बीमा अवधि समाप्ति मितिसम्म बीमित प्रस्तावक तथा बीमित बालबालिका जीवित रहेमा सर्तहरूको अधिनमा रही बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनस बीमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानी दिइने कम्पनीले जनाएको छ।

बीमा अवधिभित्र जोखिम प्रारम्भ नहुँदै प्रस्तावकभन्दा अगाडि बीमित बालबालिकाको मृत्यु भएमा बीमालेखको सर्तहरूको अधिनमा रही बीमित बालबालिकाको मृत्यु हुनुभन्दा अघिसम्म भुक्तानी गरिएको बीमा शुल्क (पुरक करार तथा अतिरिक्त बापतको बीमा शुल्क बाहेक) भुक्तानी गरिने छ।

बीमा जोखिम प्रारम्भपछि बीमा अवधिभित्र बीमित बालबालिकाको मृत्यु भएमा बीमाङ्क रकमको २५ प्रतिशत तथा आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमा शुल्क रकम (पुरक करार तथा अतिरिक्त बापतको बीमा शुल्क बाहेक) जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ।

त्यस्तै, बीमा अवधिभित्र जुनसुकै समयमा बालबालिका छँदै प्रस्तावकको मृत्यु भएमा बाँकी अवधिको बीमाशुल्क मिनाहा गरी बीमालेखलाई निरन्तरता दिइने कम्पनीले बताएको छ। मासिक आय सुविधा बीमाङ्कको १ प्रतिशत बराबरको रकम बीमित बालबालिकालाई भुक्तानी गरिनेछ र यस्तो रकम घटना घटेपश्चात बीमा अवधि समाप्तिसम्म वा बालबालिकाको मृत्यु जुन अघि हुन्छ सो समय सम्मका लागि प्रदान गरिनेछ र बीमा अवधि समाप्तिमा बीमाङ्क रकम र बीमा अवधि समाप्तिसम्मको आर्जित बोनस समेत एकमुष्ठ भुक्तानी गरिनेछ।

बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकैसाथ मृत्यु भएमा प्रस्तावकको बीमाङ्क रकम र आर्जित बोनस तथा बीमित बालबालिकाको निधनमा बीमाङ्क रकमको २५ प्रतिशत रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ। बीमा अवधिभित्र प्रस्तावकको मृत्यु भएपश्चात बीमित बालबालिकाको समेत मृत्यु भएमा बीमाङ्कको २५ प्रतिशत तथा बीमित बालबालिका जीवित रहुन्जेलसम्मको आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमा शुल्क रकम (पूरक करार तथा अतिरिक्त बापतको बीमाशुल्क बाहेक) मध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ।

यस योजनामा वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुका साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात सर्मपण मूल्य प्राप्त गर्न सकिनेछ। सर्मपण मूल्यको गणना नेपाल बीमा प्राधिकरणको स्वीकृत विधि अनुरुप कम्पनीले गर्नेछ।

सर्मपण मूल्य प्राप्त भएको बीमालेखमा सर्मपण मूल्यको ९० प्रतिशत वा बीमाङ्क रकमको २५ प्रतिशत रकम तथा आर्जित बोनसमध्ये जुन रकम कम हुन्छ सो रकम ऋणको रुपमा प्राप्त गर्न सकिनेछ। बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा ऋण सुविधा बापत दिइएको रकम कटाई बाँकी रकम भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ।

यस योजनामा २१ वर्षदेखिका बीमित प्रस्तावकले अतिरिक्त बीमा शुल्क तिरेर ऐच्छिक पुरक करार सुविधाहरू दुर्घटना मृत्यु लाभ सुविधा, दुर्घटनाबाट हुने अपाङ्ग अशक्त बीमा शुल्क छुट सुविधा तथा घातक रोग सुविधा लिन सक्नेछन्। बीमाशुल्क भुक्तानी वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक तथा एकल गरी ५ तरिकाबाट गर्न सकिने कम्पनीले जनाएको छ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो योजना सबै सरोकारवालाहरूको हितमा रहेको र यसको फाइदा उठाउन सबैमा आग्रह गरे। आम ग्राहकहरूको आजको आवश्यकतालाई मध्यनजर गर्दै योजना सार्वजनिक गरिएको उनले बताए।