एसेम्ब्ली उद्योग बढेको प्रभाव देखियो, तयारीभन्दा अन-एसेम्बल बाइक २५% बढी आयात

बिजमाण्डू
२०८१ बैशाख ११ गते १३:४६ | Apr 23, 2024
एसेम्ब्ली उद्योग बढेको प्रभाव देखियो, तयारीभन्दा अन-एसेम्बल बाइक २५% बढी आयात

काठमाडौं। नेपालमै एसेम्बल गरेर बाइक उत्पादन गर्ने कम्पनी बढेसँगै अन-एसेम्बल बाइकको आयात बढेको छ। दुई पाङ्ग्रे सवारी बिक्रेता कम्पनी प्राय: सबैले पछिल्लो समय एसेम्बल प्लान्ट निर्माण गरेर संचालनमा ल्याएपछि तयारीभन्दा अन-एसेम्बल बाइक तथा स्कुटर धेरै आयात भएका छन्।

Tata
GBIME
Nepal Life

चालु आवको ९ महिनामा ६ अर्ब ७४ करोड रुपैयाँ बराबरका ५२ हजार ५२ युनिट अन-एसेम्बल बाइक तथा स्कुटर आयात भएका छन्। गत वर्ष यही अवधिमा अन-एसेम्बल बाइक तथा स्कुटर २९ हजार ६०० युनिट आयात भएका थिए। ती अन-एसेम्बल बाइक तथा स्कुटर ३ अर्ब ४२ करोड रुपैयाँ बराबरका हुन्।

अन-एसेम्बल बाइक तथा स्कुटरको आयात बढेपछि तयारी बाइक तथा स्कुटरको आइात घट्न पुगेको छ।

चालु आवको ९ महिनामा तयारी बाइक तथा स्कुटर ४१ हजार ७६६ युनिट आयात गरिएको छ। गत वर्ष सोही अवधिमा ४९ हजार ९२८ युनिट तयारी बाइक तथा स्कुटर आयात गरिएको तथ्यांक छ।

तयारी बाइक तथा स्कुटरको तुलनामा अन-एसेम्बल बाइक तथा स्कुटर यो वर्ष ९ महिनामा २५ प्रतिशत बढी आयात गरिएको हो।

अहिले नेपालमा हिरो, टीभीएस, बजाज, यामाहा, रोयल इन्फिल्ड, सुजुकी, बेनेली, होन्डालगायत ब्रान्डका एसेम्ब्ली उद्योग छन्। ती उद्योगसँग वार्षिक ३० हजारदेखि एक लाख युनिटसम्म बाइक तथा स्कुटर निर्माण गर्न सक्ने क्षमता छ।

सरकारले बाइक आयातबाट ९ महिनामा ११ अर्ब ३९ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ। गत वर्ष सोही अवधिमा बाइक आयातबाट ८ अर्ब ५५ करोड रुपैयाँ भन्सार शुल्क संकलन भएको थियो।

चालु आव ९ महिनामा ७६ करोड रुपैयाँ बराबरका ७ हजार २७२ वटा थ्री ह्वीलर्स इभी र ५८ करोड रुपैयाँ बराबरका ४ हजार ९५३ युनिट दुई पाङ्ग्रे इभी आयात भएको तथ्यांक छ।