दुई पाङ्ग्रेको बजार हिस्सा खुम्चिँदा एसेम्ब्ली उद्योग संकटमा, ‘ब्रेक इभन’मा चल्न पनि मुस्किल

शुक्र गिरी
२०८० माघ ८ गते १५:१२ | Jan 22, 2024
दुई पाङ्ग्रेको बजार हिस्सा खुम्चिँदा एसेम्ब्ली उद्योग संकटमा, ‘ब्रेक इभन’मा चल्न पनि मुस्किल

काठमाडौं । मोटरसाइकल र स्कुटरको बिक्री लगातार घटेको छ। यसले आयात कारोबार गर्नेलाई त गाह्रो परेकै छ, नेपालमै एसेम्ब्ली प्लान्ट राखेर उत्पादन गर्नेलाई झन् गाह्रो परेको छ।

Tata
GBIME
Nepal Life

मोटरसाइकल र स्कुटरको बिक्री ६७ प्रतिशतसम्मले घटेको हो। कुनै समय वार्षिक साढे ३ लाख युनिटभन्दा बढी बिक्री हुने गरेकोमा अहिले १ लाख युनिटको हाराहारीमा खुम्चिएको छ।

अनएसेम्बल्ड बाइकको हिस्सामा पनि गिरावट आएको छ। भन्सार विभागको तथ्यांकअनुसार ६० प्रतिशत अनएसेम्बल्ड बाइक तथा स्कुटरको आयात घटेको छ। आर्थिक वर्ष २०७८/७९ मा १ लाख ४ हजार युनिट अनएसेम्बल्ड बाइक तथा स्कुटर आयात हुँदा पछिल्लो वर्ष ४१ हजार युनिट मात्र आयात भएका छन्।

सुरुमा नेपालमा दुईवटा कम्पनीको मात्र एसेम्बल्ड उद्योग संचालनमा थिए। तर, अहिले आधा दर्जन छन्।

आर्थिक वर्ष २०७७/७८ मा वार्षिक रूपमा ३३ अर्ब १६ करोड रुपैयाँ मूल्य बराबरको ३ लाख ५८ हजार १५६ युनिट बाइक तथा स्कुटरहरु आयात भएको थियो। जसमा सबैभन्दा बढी ५० सीसीदेखि २५० सीसी इन्जिन क्षमताका बाइक तथा स्कुटर भित्रिएका थिए। सो वर्ष २ हजार २६५ युनिट दुई पाङ्ग्रे इलेक्ट्रिक सवारी आयात गरिएको थिए।

चालु आर्थिक वर्षको मंसिर महिनासम्म भने जम्मा ३११ युनिट अनएसेम्बल्ड बाइक तथा स्कुटरहरु आयात भएका छन्। सो अवधिमा नेपालमा एसेम्बल्ड प्लान्ट स्थापना गर्न सरकारले सहुलियत दिएपछि बजाज र टीभीएसले प्लान्ट निर्माण गरेका थिए।

आर्थिक वर्षतयारी बाइक तथा स्कुटर(युनिट)अनएसेम्बल बाइक तथा स्कुटर(युनिट)इलेक्ट्रिककुल
२०७७/७८३ लाख ५५ हजार ५८०३११२ हजार २६५३ लाख ५८ हजार १५६
२०७८/७९१ लाख ८४ हजार ४६६१ लाख ४ हजार ३४३ हजार ६१०२ लाख ९२ हजार ११०
२०७९/८०६९ हजार ४४४४१ हजार ८९१७ हजार १५५१ लाख १८ हजार ४९०
२०८०/८१ पुससम्म२८ हजार ७७३३ हजार ७२४२ हजार ९९०६३ हजार ८०१
* रकम रुपैयाँमा

तर उक्त संख्या आर्थिक वर्ष २०७८/७९ मा भने २९ अर्ब २१ करोड रुपैयाँ मूल्य बराबरको २ लाख ९२ हजार ११० युनिट मात्र दुई पाङ्ग्रे सवारी आयात भएका छन्। यसमा इलेक्ट्रिकको हिस्सा ३ हजार ६१० युनिट छ।

यसमा तयारी अवस्थाका १ लाख ८४ हजार ४६६ युनिट बाइक तथा स्कुटर आयात हुँदा अनएसेम्बलमा भने १ लाख ४ हजार ३४ युनिट मात्र आयात भएका छन्।

यसैगरी २०७९/८० मा गएर ११ अर्ब ९३ करोड रुपैयाँ मूल्य बराबरको एक लाख १ लाख १८ हजार ४९० युनिट बाइक तथा स्कुटरहरु आयात भएका छन्। यसमा पनि ७ हजार १५५ युनिट इलेक्ट्रिक स्कुटर तथा बाइक आयात भएका छन्।

यसमा पनि ६९ हजार ४४४ युनिट तयारी अवस्थाका आयात भएका छन्। यसमा ४१ हजार ८९१ युनिट भने अनएसेम्बल बाइक तथा स्कुटरहरु आयात भएको विभागको तथ्यांकमा छ।

चालु आर्थिक वर्षको ६ महिनामा कुल ७ अर्ब २१ करोड रुपैयाँ बराबरको ६१ हजार ८०१ युनिट बाइक तथा स्कुटर आयात भएका छन्। यस बाट सरकारले ७ अर्ब ४६ करोड रुपैयाँ राजश्व बुझाएको छ।

जसमा ३३ हजार ७२४ युनिट अनएसेम्बल बाइक तथा स्कुटर आयात भएका छन्। यस्तै तयारी अवस्थाका २८ हजार ७७ युनिट बाइक तथा स्कुटर आयात भएका छन्।

अनएसेम्बल अवस्थाका सबै मोटरसाइकलमा ३० प्रतिशत भन्सार महसुल लगाउने गरेको छ। अन्तःशुल्क भने फरक-फरक छ। २०० सीसीसम्मका मोटरसाइकलमा ४०, २०० सीसीमाथिका मोटरसाइकलमा ६० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ।

आर्थिक ऐन २०८०/८१ मा उल्लेख भएअनुसार एसेम्बल गरी सवारीसाधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका सवारी पैठारी गर्दा लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। यसले गर्दा व्यवसायीहरु एसेम्ब्ली उद्योग स्थापना गरेर नेपालमै बाइक तथा स्कुटर एसेम्बल गर्न इच्छुक भएका थिए।

तर पछिल्लो केही वर्षदेखि दुई पाङ्ग्रे सवारीको बजार हिस्सा घट्दो क्रममा छ। नेपालमा एसेम्बल उद्योग स्थापना गरेका कम्पनीहरुका लागि मार्केट साइज खुम्चिँदै जानु राम्रो संकेत होइन। उनीहरुले यसरी सहुलियत पाएर एसेम्बल उद्योग खोलिरहँदा बजार घट्दै जाँदा अप्ठ्यारोमा पर्न थालेका छन्।

उनीहरुले एसेम्बल उद्योग स्थापना गर्दा कति युनिट बाइक उत्पादन गर्न सक्ने भन्ने क्षमता एकिन गरेर मात्र त्यहीअनुसार स्टाफदेखि संचालन खर्च र लगानी गरेका हुन्छन्। उनीहरुले यसरी उद्योग स्थापना गर्दा नेपालमा बाइक तथा स्कुटरको नेपालमा बजार हिस्सा साढे ३ लाखभन्दा बढी थियो। तर उक्त बजार हिस्सा अहिलेको अवस्थामा ६० प्रतिशतले घट्दो क्रममा रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ।

बजार बढ्दै जाने अपेक्षा राखेर एसेम्बल प्लान्ट स्थापना गरेका व्यवसायीहरुले घट्दो बजारलाई देखेर अर्कै धारणा बनाइरहेका छन्। टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका मार्केटिङ हेड विक्रम पौडेलले एसेम्बल प्लान्ट चलाउग पछिल्लो समयको व्यापारले अप्ठ्यारो परेको बताए।

‘एसेम्बल प्लान्ट राख्दा बाइकको बिक्री राम्रो थियो,’ पौडेलले भने, ‘तर अहिले आर्थिक मन्दीका कारण बिक्री घट्यो। यसले उद्योगमा गरिएको लगानी अनुसार प्रतिफल आउन कठिन भएको छ।’

उनका अनुसार कम्पनीले यसरी एसेम्बल प्लान्ट लगाउँदा यस्तो परिस्थिति आउने कल्पना पनि थिएन। तर अहिले कम्पनी संचालन खर्चदेखि कमर्चारी व्यवस्थापन समेतमा ठूलो असर परेको उनको भनाइ छ। एसेम्ब्ली उद्योगका लागि एक अर्बदेखि डेढ अर्ब लगानी भएका छन्। यो लगानीको ब्याज, कामदार खर्च लगायत ठूलो रकम हुन आउँछ।

‘धेरै भोल्युमको हिसाबले जुन हिसाबले प्रशासनिक खर्च तथा म्यानपावर मोबिलाइजेसन हुन्थे, अहिले त्यो हिसाबमा भोल्युभ निकै कम छ। त्यो हिसाबले काम नहुँदा प्रफिट मार्जिनबाटै जाने भयो,’ उनले भने, ‘मानौं हिजो खर्च दुई रुपैयाँ थियो तर भोल्युम पनि थियो। जसले प्रफिट मार्जिन बढाउदै लग्यो। तर अहिले खर्च दुई रुपैयाँ नै छ भने भोल्युम छैन। जसले प्रफिट मार्जिन स्वात्तै घट्यो। अहिले बजारले जुन प्रोडक्टलाई रोजेको छ त्यसमा बढी फोकस छौं।’

बजाजको आधिकारिक बिक्रेता एचएच एण्ड कम्पनका असिस्टेन्ट जनरल म्यानेजर अमितराज चालिसे अहिले घट्दो बजार हिस्साले एसेम्बल उद्योग समस्यामा परेको बताउँछन्।

‘मासिक ३० हजार युनिट दुई पाङ्ग्रे सवारीसाधन बिक्री हुने नेपाली बजारमा अहिले ६ हजार युनिटको हाराहारीमा पनि हुन मुस्किल छ,’ उनले भने, ‘यो ६ हजार युनिट पनि सबै बिक्रेताको बजार हिस्सा हो। जसले गर्दा अहिले ७० प्रतिशतभन्दा धेरै बजार घटेको छ। यसले आयात गर्नेलाई भन्दा हामी जस्तो नेपालमा एसेम्बल गर्ने कम्पनीलाई धेरै समस्यामा पारेको छ। हाम्रो लगानी र संचालन खर्च धान्न मुस्किल छ। ब्रेक इभनको त कुरै छौडौं।’

यस्तै एसेम्ब्ली प्लान्ट लगाएर बाइक बिक्री गर्दा लगभग ३० प्रतिशतसम्म सहुलियत पाइने उनले बताए।

‘तर एसेम्बल प्लान्ट लगाउदा जति धेरै बजार हिस्सा बढ्दै गयो त्यही फाइदा हुने हो। तर त्यो अवस्था अहिले मन्दीमा देखिँदैन र यो कति समयसम्म बस्छ भन्ने कुरा पनि अहिलेसम्म केही भन्न सकिने अवस्था छैन,’ चालिसे भन्छन्, ‘कुनै समय बजाजले १० हजारदेखि १५ हजार युनिटसम्म बाइक बिक्री गर्ने गरेको थियो। तर अहिले संख्या घटेर २ हजारदेखि ३ हजारमा खुम्चिँदै छ।’

यस्तै यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजका पूर्व प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले पछिल्लो समय नेपाली बजारमा दुई पाङ्ग्रेको हालसम्मकै धेरै नराम्रो बिक्री दर देखिएको बताए।

‘मासिक ७ हजार बिक्री गर्नेको सेल्स हजार १५०० मा खुम्चिएको छ,’ उनले भने, ‘अन्त:शुल्कले केही राहत मिल्छ भनेर एसेम्बल प्लान्ट लगाइयो तर अहिले बाइक नै बिक्री हुन छाड्यो। यसले कम्पनीले गरेको लगानी संकटमा पर्ने हो की भन्ने डर पैदा गराएको छ। आयात गर्दा संचालन खर्च समेत पुर्‍याउन कठिन भएको अवस्थामा यसले अन्योल छ।’

बजार हिस्सा घट्दै एसेम्बल उद्योग भने बढ्दो

सरकारले नेपालमा एसेम्बल उद्योग लगाएर अनएसेम्बल पार्ट्स ल्याउदा अन्तःशुल्कमा दिएको सहुलियतले केही वर्षमा नै दुई पाङ्ग्रे सवारी एसेम्बल प्लान्ट स्थापना गर्ने लहर चलेको थियो। जसमा हालसम्म नेपालमा विद्युतीय र पेट्रोल इन्जिनका दुई पांग्रेले नै एसेम्बल थालेका छन्। अहिले लगभग आधा दर्जन यस्ता एसेम्ब्ली उद्योगहरु स्थापना भएर सञ्चालनमा आएका छन्।

यस्तै चार पाङ्ग्रेमा पनि हुन्डाईले एसेम्ब्ली प्लान्ट निर्माण गरेर अहिले गाडी टेष्टिङको फेजमा छ। कम्पनीले सुरुमा भेन्यु उत्पादन गर्ने योजना अनुसार अहिले परीक्षण भइरहेको छ।

दुई पाङ्ग्रेको एसेम्ब्ली प्लान्टको सुरुवात बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले गरेको थियो। बजाजको पल्सर बाइक बिक्री ह्‍वात्तै बढेको बजार कम्पनीले देखेको थियो। कम्पनीले पनि सुरुमा २४ करोड लगानीमा एसेम्बल प्लान्ट लगाएको थियो। सुरुमा यसको क्षमता वार्षिक लगभग १८ हजार युनिट उत्पादन गर्ने सक्ने थियो। अहिले उक्त क्षमता बढाएर १ लाख युनिटभन्दा माथि बाइकहरु उत्पादन गर्न सक्ने क्षमतामा छ। सोहीअनुसार पल्सर बाइकको कुनै पनि सिरिज नेपालमै एसेम्बल हुने गरेका छन्।

त्यस लगतै बजाजसँग प्रतिस्पर्धा गरिरहेको टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पनि नेपालमै बाइक तथा स्कुटर एसेम्बल गर्न थाल्यो। बारा जिल्लामा मोटरसाइकल वार्षिक ६० हजार र स्कुटर ४० हजार गरी कुल १ लाख युनिट उत्पादन क्षमताको प्लान्ट बनाएको छ। २५ करोड लगानीबाट सुरु गरेको प्लान्ट विस्तार गरेर अहिले अर्बभन्दा माथि लगानी गरिसकेको कम्पनीले जनाएको छ।

नेपालमा एसेम्बल गर्न बजाजलाई भन्दा टीभीएसलाई निकै सफलता मिल्यो। किनभने बजाजको स्कुटर थिएन भने टीभीएससँग स्कुटरहरु थियो। टीभीएसले आक्रामक मार्केटिङसँगै एनटर्क स्कुटर धेरै बेच्यो। नेपालमा पछिल्लो समय स्कुटरको व्यापार बाइकको भन्दा राम्रो हुँदै गएको देखिएको छ।

यसैगरी केही विद्युतीय स्कुटर ब्रान्डहरुले पनि नेपालमा एसेम्ब्ली प्लान्ट स्थापना गरेर संचालनमा ल्याए। यसैबीच भारतको लक्जरियस बाइक ब्रान्ड रोयल इन्फिल्डले यसै चालु आर्थिक वर्षबाट आफ्नो एसेम्ब्ली प्लान्ट संचालनमा ल्यायो।

यसको आधिकारिक बिक्रेता त्रिवेणी ग्रुपले नेपालमा नै एसेम्ब्ली प्लान्ट स्थापना गरेर रोयल इनफिल्डको बाइक सस्तोमा ग्राहकहरुलाई उपलब्ध गराउन थाल्यो। जसमा सरकारले २०० सीसीभन्दा माथिको बाइकमा चालु आवदेखि केही सडक करहरुमा छुटको व्यवस्था गर्‍यो। जसले गर्दा एसेम्ब्ली प्लान्ट लगाएको रोयल इन्फिल्डलाई राम्रो अवसर मिल्यो। कम्पनीले ५० करोड लागतमा निर्माण गरेको उक्त एसेम्ब्ली प्लान्टबाट वार्षिक २० हजारभन्दा बढी मोटरसाइकल तयार पार्नसक्ने क्षमताको छ।

यस्तै केही हप्ता अगाडिदेखि यामाहा बाइकको आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले पनि नेपालमा एसेम्ब्ली प्लान्ट संचालनमा ल्याएको छ। कम्पनीको पनि नेपाली अटो बजारमा यामाहाका बाइक तथा स्कुटरको राम्रो पकड छ। त्यसैले बजाज र टीभीएसले प्लान्ट लगाएर पाएको सफलताबाट यामाहा टाढा हुन चाहेन। यो प्लान्टबाट वार्षिक ६० हजार युनिटसम्म स्कुटर र बाइक उत्पादन गर्ने सक्ने क्षमताको छ। कम्पनीले यसलाई डेढ अर्ब लागतमा निर्माण गरेको थियो।

साथै हिरोको आधरिकारिक बिक्रेता एनजीएमले पनि नेपालमा आधा अर्ब लगानीमा एसेम्ब्ली प्लान्ट निर्माण गरिसकेको थियो। कम्पनीले उक्त एसेम्ब्ली प्लान्टबाट एक्सपल्स बाइक समेत उत्पादन सुरु गरेको थियो। तर पछि यसको उत्पादक कम्पनी हिरो मोटोकर्पले नेपालका लागि आधिकारिक बिक्रेताको नवीकरण नगर्ने निर्णय गर्‍यो। त्यसपछि एनजीएम समस्यामा पर्न गयो।

यसैगरी सुजुकीको पनि अहिले एसेम्ब्ली प्लान्ट निर्माण भइरहेको छ। कम्पनीले यसलाई यही महिनादेखि संचालनमा ल्याउने तयारी गरिरहेको छ। यो प्लान्ट निर्माण गर्न सुजुकी बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले ६० करोड रुपैयाँ खर्च गरेको छ। जसबाट वार्षिक रुपमा ३० हजार स्कुटर तथा बाइक उत्पादन गर्न सकिन्छ।

नेपालमा अहिले पनि निरन्तर सबैभन्दा धेरै बाइक तथा स्कुटर बिक्री गर्ने होन्डा छ। होन्डाले पनि नेपालमा एसेम्ब्ली प्लान्ट लगाउने तयारी गरिरहेको छ। स्रोतका अनुसार कम्पनीले अहिले एसेम्ब्ली प्लान्टको सिभिल वर्कको काम गरिरहेको छ।