सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न मियाँले दिए फेरि २ दिनको समय

बिजमाण्डू
२०८१ बैशाख ४ गते १८:३४ | Apr 16, 2024
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न मियाँले दिए  फेरि २ दिनको समय

काठमाडौं। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न फेरि २ दिनको समय दिइएको छ।

Tata
GBIME
Nepal Life

प्रदेश प्रमुख नजिर मियाँले यसअघि एकै पार्टीका दुई जनाको दाबी परेका कारण निष्कर्षमा पुग्न नसकिएको भन्दै मुख्यमन्त्रीका लागि निवेदन दिन वैशाख ६ गते अपराह्न ५ बजेसम्मको समय दिएका हुन्।

कांग्रेसका कमलबहादुर शाहले चैत २२ गते राजीनामा दिएपछि मियाँले १० दिनको समय दिएर आवेदन आह्वान गरेका थिए। उक्त अवधिको अन्तिम दिन आइतबार नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

‘नागरिक उन्मुक्ति पार्टीका दुई जना माननीय प्रदेश सभा सदस्यबाट दाबी पेस हुन आएको सन्दर्भमा दुवै दाबीको आधारमा निष्कर्षमा पुग्न नसकिएको हुँदा प्रदेश प्रमुख नजिर मियाँज्यूले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि वैशाख ६ गते ५:०० बजेभित्र दाबी पेस गर्न आह्वान गर्नु भएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि आइतबार लक्ष्मणकिशोरले कांग्रेसका १८, आफ्नो पार्टीका ५ र एकीकृत समाजवादीका ४ सांसदको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख मियाँलाई हस्ताक्षर बुझाएका थिए। राप्रपाका एक सांसद पनि लक्ष्मणकिशोरको पक्षमा थिए।

सोही दिन नागरिक उन्मुक्तिका कैलाश चौधरीले पनि आफ्नो पार्टीका २, एमालेका १०, माओवादी केन्द्रका ११ र स्वतन्त्र १ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

एकीकृत समाजवादी सुदूरपश्चिममा कांग्रेससँगको गठबन्धनमा गएपछि केन्द्रको गठबन्धनमा हलचल मच्चिएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान झलनाथ खनाललाई बालुवाटार बोलाएर कुरा गरेपछि एकीकृत समाजवादीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएको थियो।

एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने सहमति भएको भनिएको छ।