वीरगंज महानगरले ९ महिनामा उठायो ३६ करोड राजस्व, घरबहाल कर तिर्न उद्योगीलाई आह्वान

बिजमाण्डू
२०८१ बैशाख ४ गते १०:०० | Apr 16, 2024
वीरगंज महानगरले ९ महिनामा उठायो ३६ करोड राजस्व, घरबहाल कर तिर्न उद्योगीलाई आह्वान

वीरगंज । वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्षको ९ महिनामा ३६ करोड ७६ लाख ९ हजार ३९८ राजस्व संकलन गरेको छ।

Tata
GBIME
Nepal Life

महानगरका अनुसार चालु आर्थिक वर्षमा सम्पत्ति कर शीर्षकमा १२ करोड ७० लाख ४३ हजार ७८२ रुपैयाँ संकलन भएको छ। महानगरले दोस्रो धेरै घरबहाल करबाट चार करोड ५५ लाख ७५ हजार ८६७ रहेको छ।  महानगरले २४ वटा शीर्षकमा हाल राजस्व संकलन गर्दै आएको छ।

वीरगंज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षमा दुई करोड ९५ लाख बढी राजस्व संकलन गरेको बताए।

‘गत आर्थिक वर्षको ९ महिनाको तुलनामा यो वर्ष राजस्व संकलनमा सुधार देखिएको छ,’ उनले भने।

गत आर्थिक वर्षको ९ महिनामा भने ३३ करोड ८० लाख ५४ हजार ३६० रुपैयाँ राजस्व संकलन भएको थियो।

वीरगंज महानगरले गत आर्थिक वर्ष भरिमा भने रु५७ करोड एक लाख ७३ हजार २०१ रुपैयाँ राजस्व संकलन गरेको थियो। त्यसैगरि महानगरले आर्थिक वर्ष २०७८-७९ मा भने ५१ करोड २२ लाख २४ हजार ४९० राजस्व संकलन गरेकव थियो।

वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगंजका ठूला उद्योगी व्यवसायीलाई घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गरेका छन्।

‘नेपालको संविधानमा नै घरबहाल कर स्थानीय तहले संकलन गर्ने भनिएको छ। ठूला उद्योगले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा कर तिर्दा स्थानीय सरकारको राजस्वमा केही कमी आएको छ। त्यसैले घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गर्दछु,’ उनले भने।

महानगरले चालु आर्थिक वर्ष २०८०-८१ को लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। विनियोजित बजेटमध्ये चालुतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार र पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ छुट्याइएको थियो।

महागरले बजेट तथा नीति कार्यक्रममा चालु आर्थिक वर्षमा आन्तरिक राजस्वबाट एक अर्ब २० करोड ४४ लाख ३० हजार संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो।