काठमाडौं विश्वविद्यालयमा उत्पादन भयो हाइड्रोजन, कारमा फ्युल रिफिल गरियो

बिजमाण्डू
२०८० चैत्र १८ गते १३:३२ | Mar 31, 2024
काठमाडौं विश्वविद्यालयमा उत्पादन भयो हाइड्रोजन, कारमा फ्युल रिफिल गरियो

काठमाडौं । काठमाडौं विश्वविद्यलयले हाइड्रोजन फ्युल उत्पादन गरेको छ। आइतबारदेखि विश्वविद्यलयले हाइड्रोजन फ्युल उत्पादन गरेको हो। फ्युल उत्पादन गरेर गाडीमा ‘रिफिल’ समेत गरिएको छ।

Tata
GBIME
Nepal Life

विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसिएटिभ्सका प्रमुख विराजसिंह थापाका अनुसार हाइड्रोजन उत्पादन गरि गाडीमा फ्युल रिफिल गरिएको हो।

‘भर्खरै काठमाडौं विश्वविद्यालयको ग्रीन हाइड्रोजन उत्पादन र रिफुलिङ स्टेशनले सफलतापूर्वक परीक्षण सम्पन्न गरि हाइड्रोजन कारमा रिफिल गर्न थालेको छ। आज देशको लागि हाइड्रोजन दिवस हो,’ थापाले भने।

हाइड्रोजन फ्युल नेपालमा उत्पादित बिजुल र पानीलाई प्रशोधन गरि हाइड्रोजन रिफ्युलिङ स्टेसनमा हाइड्रोजनमा परिणत गरेको थापाले बताए। फ्युल सेन्टरलाई छिट्टै विधिवत रुपमा उद्घाटन गर्ने तयारी भइरहेको पनि उनले बताए।

पढ्नुस : ६ केजी हाइड्रोजन फ्युलले ८०० किलोमिटरको रेन्ज दिने कार भित्रियो नेपालमा

केही महिना अगाडि मात्र सरकारले हाइड्रोजन उत्पादन र प्रयोगको कार्यविधि स्वीकृति गरेको थियो। त्यसपछि यसका लागि अन्य कानुनहरु निर्माण गर्न बाटो खुलेको थियो।

हाइड्रोजन फ्युलको बिक्री वितरण तथा गाडीको लागि दर्ता प्रक्रिया र अन्य करका नियमहरु बनाउन अझै आवश्यक छ।

हाल धुलिखेलमा उत्पादित फ्युलको क्षमता सीमित रहेको थापाले बताए।

‘अहिले भएको फ्युल स्टेसनमा उत्पादन भएको हाइड्रोजनले एउटा गाडी मात्र रिफिल गर्न पुग्छ। तर व्यवसायीक प्रयोजनका लागि भने स्टेसन विस्तार गर्नु आवश्यक छ,’ उनले भने, ‘१० करोड लगानी गरियो भने ३५ वटा हाइड्रोजन गाडी रिफल गर्न पुग्छ।’

थापाका अनुसार अहिले विश्वविद्यालयले प्रत्यक दिन ३० देखि ३५ वटा हाइड्रोजन गाडी रिफिल गर्न सक्ने फ्युल स्टेसन निर्माणको लागि पाइलट योजनाको रुपमा डिजाइन बनाएको छ। विश्वविद्यालयले त्यसका लागि उत्पादन कम्पनीसँग छलफल पनि गरिरहेको छ।

हाइड्रोजन उत्पादनका पाइलट प्रोजेक्टहरु काठमाडौं उपत्यकासँगै पोखरा, हेटौंडा र भरतपुर जस्ता सहरका निर्माण गर्न सकिने थापाको भनाइ छ। हाइड्रोजनबाट ठूला ढुवानीका सवारीसाधन संचालन गर्ने योजना बनाइरहेको पनि उनले बताए।