६ केजी हाइड्रोजन फ्युलले ८०० किलोमिटरको रेन्ज दिने कार भित्रियो नेपालमा

बिजमाण्डू
२०८० कात्तिक २० गते ०८:३८ | Nov 6, 2023
६ केजी हाइड्रोजन फ्युलले ८०० किलोमिटरको रेन्ज दिने कार भित्रियो नेपालमा

काठमाडौं। नेपाल आयल निगम र काठमाडौं विश्‍वविद्यालय (केयू)को सहकार्यमा पहिलो हाइड्रोजन फ्युल कार नेपाल भित्रिएको छ। शनिबार केयूले उक्त हाइड्रोजन फ्युल कार नेपालमा भित्र्याएको केयूका उप-प्रध्यापक डा. विराजसिंह थापाले बताए।

Tata
GBIME
Nepal Life

‘हामीले शनिबार उक्त हाइड्रोजन फ्युल कार नेपालमा भित्र्याएका छौं,’ उनले भने, ‘हामीले हुन्डाईको नेक्सो कमर्सियल कार हाइड्रोजन फ्युलमा नेपाल ल्याएका हौं।’

नेक्सो एक किसिमको हाइड्रोजन फ्युल सेल एसयूभी हो जसले अत्याधुनिक प्रविधि र उत्कृष्ट ड्राइभिङ दायराका साथ फ्युचरिस्टिक डिजाइनलाई संयोजन गरेको छ।

थापाका अनुसार यो गाडी केयूले ३३ हजार डलरमा ल्याएको हो। यसमा भएको ६ केजी हाइड्रोजन फ्युल सिलिन्डरले ८०० किलोमिटरसम्म रेन्ज दिने उनको दाबी छ। यसलाई रिफिल गर्न ५ मिनेटको मात्र समय लाग्छ।

यसका लागि निगमले अप्रिल २०२१ मा नै ५ करोड रुपैयाँ केयूलाई दिने सम्झौता गरेको थियो। त्यही अनुसार केयूले रिसर्च एण्ड इफ्रास्ट्रक्चर विकास तथा यसको अध्ययन गरेर ग्रिन हाइड्रोजन ल्याब सेट अप गरेको छ। जसका लागि निगमले हालसम्म ४ करोड रुपैयाँ भुक्तानी गरेको निगमका उपनिर्देशक मनोज कुमार ठाकुरले बताए।

‘हामीले ५ करोड रुपैयाँको सम्झौता गरेकोमा गाडी खरिद गर्न, अध्ययन र ल्याब सेट अपदेखि रिफ्युल स्टेसन निर्माण गर्न ४ करोड रुपैयाँ भुक्तानी गरिसकेका छौं,’ ठाकुरले भने।

यस्तै, थापाका अनुसार अहिले ल्याएको गाडी केयूको ल्याबमा पाइलट प्रोजेक्टको रुपमा राखिने छ। उक्त ग्रिन हाइड्रोजन ल्याबबाट ५ जनाले ग्रिन हाइड्रोजनमा पीएचडी गर्दै गरेको थापाको भनाइ छ।

‘हाम्रो डिजाइनमा ग्रिन हाइड्रोजन ल्याब र रिफ्युलिङ स्टेसनको कोरियाली कम्पनीले म्यानुफ्याक्चर गरेको हो। यसको एसेम्बली नेपालमा गर्न संभव अहिले छैन। यसका लागि पार्ट्स जापान अमेरिका र चीनबाट आएका थिए,’ थापाले भने, ‘हाम्रो स्पेसिफेकेसन अनुसार रिफ्युलिङ स्टेसन ५ किलोवाटको २ करोड रुपैयाँमा तयार भएको छ। यो स्टेसन नेपाल अनुकूल हुने गरी निर्माण गरिएको छ। यसका लागि हाम्रा विद्यार्थी तथा विज्ञहरुलाई ६ महिना जर्मनी पठाएर रिसर्च गरेर डिजाइन गरिएको छ।’

अहिलेको यो कारले १०० किलोमिटर रेन्ज दिन्छ। रिफ्युलिङ स्टेसन सानो भएकाले दैनिक १०० किलोमिटर मात्र रेन्ज दिने गरी हाइड्रोजन फ्युल आफूहरुले उत्पादन गर्न सक्ने उनले बताए।

उनले भने, ‘यसका लागि प्रोडक्सन टाइम ४ घन्टाको लाग्छ। हामीसँग भएको फ्युल स्टेसनले यति नै दैनिक उत्पादन गर्न सक्छ। त्यही भएर हामीलाई भविष्यमा ठूलो फ्युल स्टेसन निर्माण गर्नुपर्छ।’

अहिले केयूले लिएर आएको गाडी ६ केजी पूर्ण रुपमा सार्वजनिक गर्न १ हप्ताको समय लाग्‍ने थापाको भनाइ छ। त्यति हाइड्रोजन रिफिल गर्दा ८०० किलोमिटर रेन्ज प्रदान गर्ने थापाको दाबी छ।

तर, ५० किलोवाटसम्मको रिफ्युल स्टेसन निर्माण गर्न पर्दा भने ७ करोड रुपैयाँ लाग्‍ने थापाले बताए। यसले दिनको १० वटा रिफ्युल गर्न पुग्‍ने थापाले बताए।

उनका अनुसार अहिलेको हिसाबले हेर्दा १ केजी हाइड्रोजन फ्युल रिफिल गर्न ५ डलर अर्थात लगभग ५०० रुपैयाँ खर्च लाग्छ।

‘अहिले भएको ल्याबले १ हजार लिटर हाइड्रोजन प्रोडक्सन गर्न सक्छौँ। १ हजार लिटर हाइड्रोजन कम्प्रेस गर्दा १ लिटर हाइड्रोजन फ्युल अर्थात ग्यास बन्छ,’ उनले भने।

यसले अब नेपालमा पनि हाइड्रोजन फ्युल कार संचालन गर्ने बाटो खुलेको उनले बताए।

‘अबको युग यसमा छ। नेपालमा उत्पादन भएको बिजुली प्रयोग गर्न नेपालमा उत्पादन नहुने इन्धनलाई विस्थापन गर्न यो राम्रो विकल्प सावित हुने छ,’ उनले भने, ‘तर, यसका लागि कानुनी बाटो अझै सरकारले खुलाएको छैन। दर्ता प्रक्रियादेखि नम्बर प्लेट दिने कानुन अड्चनहरुमा धेरै काम गर्न बाँकी छन्।’

त्यही अनुसार केयूले सरकारका संबन्धित निकायहरुसँग लबिङ गर्दै आइरहेको थापाको भनाइ छ।