भारतमा विद्युतीय गाडी बिक्रीमा टाटा ‘नम्बर वान’, एक वर्षमा साढे ५९ हजार बेच्यो

बिजमाण्डू
२०८० पुष २० गते १६:४७ | Jan 5, 2024
भारतमा विद्युतीय गाडी बिक्रीमा टाटा ‘नम्बर वान’, एक वर्षमा साढे ५९ हजार बेच्यो

काठमाडौं। भारतमा टाटा मोटर्सले सबैभन्दा बढी विद्युतीय गाडी बेचेको छ। सन् २०२३मा विद्युतीय गाडीको तथ्यांक सार्वजनिक गर्दै सबैभन्दा बढी टाटाको बिक्री भएको उल्लेख छ।

Tata
GBIME
Nepal Life

एक वर्षमा टाटाले ५९ हजार ५ सय ८० युनिट इभी बिक्री गरेको छ। यस्तै दोस्रोमा एमजी मोटर इन्डियाले ९ हजार ४ सय ३० युनिट इभी बिक्री गरेको छ। महिन्द्राले भने ४ हजार २ सय १ युनिट इभी बिक्री गरेर तेस्रो स्थानमा रहेको छ।

भारतमा सन् २०२२ मा ३८ हजार २५७ युनिट मात्र इभी बिक्री भएको थियो। तर, २०२३ मा भने १ सय १४ प्रतिशतसम्मले बढेर ८१ हजार ८ सय ७० युनिट इभी बिक्री भएका छन्।

यसमा लक्जरी इभी बिक्री गर्नेमा बीएमडब्लु अगाडि छ। यो कम्पनीले एक वर्षमा १ हजार २८० युनिट लक्जरी इभी बिक्री गरेको हो। भारतमा लक्जरी इभी कुल २ हजार ५८२ युनिट बिक्री भएका छन्। जसमा अन्य ब्रान्ड भोल्भो इन्डियाले ५ सय ५३ युनिट, मर्सिडिज बेन्चले ५ सय ५ युनिट, आउडीले १ सय ४० युनिट, पोर्से ९५ युनिट र ज्यागुआर ल्यान्ड रोभरले ९ युनिट लक्जरी इभी बिक्री गरेका छन्।

अटोकार इन्डिया

यस्तै बीवाइडीले एक वर्षमा भारतमा १ हजार ९ सय ९७ युनिट गाडी बेचेको छ। कम्पनीले विश्व बजारमा ३० लाख गाडी बिक्री गर्दा भारतमा भने बीवाइडीको बिक्री न्यून छ। यसैगरी हुन्डाईले १ हजार ५९७ युनिट र कियाले ४ सय ३६ युनिट मात्र इभी बिक्री गर्न सफल भएको छ।

भारतमा एक वर्षमा ४१ लाखभन्दा धेरै सवारीसाधन बिक्री भएको तथ्यांक छ।