मन्दीले बिक्री घटेपछि कुखुराको मासुको मूल्य ३०० रुपैयाँमा झर्‍यो, किसानलाई किलोमै ४० रुपैयाँ घाटा

अन्जना सुवेदी
२०८० मंसिर १० गते १६:३३ | Nov 26, 2023
मन्दीले बिक्री घटेपछि कुखुराको मासुको मूल्य ३०० रुपैयाँमा झर्‍यो, किसानलाई किलोमै ४० रुपैयाँ घाटा

काठमाडौं। आर्थिक मन्दीले रेष्टुरेन्टदेखि घरायसी प्रयोजनमा माग घटेपछि ब्रोइलर कुखुराको मासुको मूल्य किलोमा ३ सय ५ रुपैयाँमा झरेको छ। यो खुद्रा मूल्य हो। थोकमा प्रति किलो २ सय ७५ रुपैयाँसम्म पाइन्छ।

Tata
GBIME
Nepal Life

कुखुरापालक किसानले माग घटेपछि घाटा खाएर कुखुरा बेच्न थालेका छन्। नेपाल पोल्ट्री व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष नारायणहरि खत्रीका अनुसार एक किलो जिउँदो कुखुरा उत्पादन गर्न साना किसानलाई लागत २ सय २० रुपैयाँ लाग्छ। ठूला व्यवसायीलाई किलोको दुई सय रुपैयाँ लाग्छ।

‘ब्रोइलर कुखुरा ३५ दिनदेखि बेच्न सुरु हुन्छ। तर अहिले माग नभएकाले ५५ दिनसम्मका कुखुरा बजारमा आएका छन्,’ उनले बिजमाण्डूसँग भने, ‘ब्रोइलर कुखुरा डेढदेखि दुई किलोको हुने गर्थ्यो। अहिले बजारमा चार किलोको आइरहेको छ। कुखुरा जति धेरै दिन राख्यो त्यति घाटा हुने हो। किसानले किलोमै ४० रुपैयाँसम्म घाटा खाएर कुखुरा बेचिरहेका छन्।’

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले ३५ प्रतिशतसम्म घटाएर कुखुरा बेच्नुपरेको बताए। ‘कुखुराको उत्पादन अहिले धेरै छ। तर‚ मासुको माग निकै घटेको छ। त्यसी भएर मूल्य घटाउनु परेको हो‚’ उनले भने।

भदौ अन्तिमतिर उपभोक्ताले कुखुराको मासु प्रति किलो ४ सय ६० रुपैयाँसम्म किनेका थिए। तर त्यसपछि बिस्तारै ओरालो लागेको मूल्य दसैंपछि क्रमश: घटेको हो। संघले यसअघि कात्तिक २१ गते मासुको मूल्य प्रति किलो ३ सय २० रुपैयाँ निर्धारण गरेको थियो।

‘दसैंमा खसीबोकाकै मासु अपेक्षाअनुसार बिक्री भएन। कुखुराको मासु त निकै कम बिक्री भयो। माग कम भएकाले दसैंपछि लगातार मूल्य घटाउनु परिरहेको छ,’ बिसीले बिजमाण्डूसँग भने,’ दसैंतिहारका लागि भनेर किसानले उत्पादन बढाएका थिए। तर मासुको माग नै ३५ प्रतिशत हाराहारीमा घट्यो। डिमाण्ड घटेकाले मूल्य घटेको हो।’

सामान्य अवस्थामा उपत्यकामा कुखुराको मासु दैनिक ५ लाख किलो बिक्री हुने गरेको थियो। तर अहिले मुस्किलले ३ लाखदेखि सवा ३ लाख हाराहारी मात्र बिक्री भइरहेको छ।

समस्यामा पोल्ट्री क्षेत्र

नेपालको सबैभन्दा ठूलो ह्याचरी उद्योग अविनाश ह्याचरीले सातामा एक लाख मात्रै चल्ला उत्पादन गर्छ। कोभिड अघिसम्म यही उद्योगले सातामा ६ लाख चल्ला उत्पादन गर्थ्यो।

‘ह्याचरी उद्योगको अवस्था एकदमै खराब छ। हामीले आफ्नो उत्पादन क्षमताको ३० प्रतिशत मात्रै चल्ला उत्पादन गरिरहेका छौं,’ अविनाश ह्याचरीका संचालक एवं नेपाल ह्याचरी उद्योग संघका संस्थापक अध्यक्ष गुणचन्द्र विष्टले बिजमाण्डूलाई भने, ‘कुनै समय आत्मनिर्भर रहेको पोल्ट्री क्षेत्र बिस्तारै समाप्त हुने चरणमा छ।’ उनका अनुसार आत्मनिर्भर बनेको क्षेत्र आर्थिक मन्दीसँगै खुला सीमानाका कारण भारतबाट कुखुरा आएकाले संकटमा पुगेको हो।

‘तीन तहको निर्वाचनपछि भारतबाट जिउँदो कुखुरा र मासु अवैधरुपमा भित्रिन थाल्यो। मुलुकभित्रआर्थिक संकट पनि सुरु भयो,’ उनले भने, ‘हामीले खुला सीमामा कडाइका लागि प्रधानमन्त्री, गृहमन्त्री लगायत सबैलाई गुहार्‍यौं तर कुनै सुनुवाई भएन। अब यो उद्योगमा भएको लगानी खेर जाने अवस्थामा पुगेको छ।’ संघका अनुसार कोभिडपछि साना ठूला गरेर झण्डै २ सय २० ह्याचरी बन्द भइसकेका छन्।

‘पहिला ३ सय ४० ह्याचरी थिए। अहिले १ सय २० वटा संचालनमा छन्। त्यो पनि पूर्ण क्षमतामा होइन,’ संघका अध्यक्ष ऋषिराम पौडेलले भने, ‘पहिला सातामा ४५ लाख चल्ला उत्पादन हुन्थ्यो। अहिले २० लाखमा झरेको छ।’

चल्लाकै उत्पादनले पनि पोल्ट्री व्यवसाय धरासायी भइसकेको स्पष्ट देखिन्छ।

ब्रोइलर कुखुरा मात्रै होइन, अण्डा उत्पादन गर्ने लेयर्स कुखुरा पाल्नेको हालत पनि खराब छ। दाउन्ने एग्रो फार्मका प्रबन्ध निर्देशक विनोद पोखरेलका अनुसार अण्डा उत्पादन ४० प्रतिशतले घटेको छ। अण्डा उत्पादन घटेपनि मूल्य भने झन् सस्तिएको छ।

तीन वर्ष अघिसम्म दैनिक १ करोड १५ लाख अण्डा उत्पादन हुने गर्थ्यो। अहिले त्यो ८० लाख हाराहारीमा झरेको छ। ‘आर्थिक मन्दीसँगै मध्यमस्तर कमाइ हुने युवाहरु पलायन हुन थाले। जोसँग पैसा थियो, उनीहरु नै पलायन भएपछि अण्डा कसले खाइदिने?,’ उनले प्रश्न गर्दै भने, ‘अहिले धेरै पोल्ट्री लिलामी हुने अवस्थामा पुगेको छ।’

नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले मुलुकभित्र रहेका दाना उद्योग ४० प्रतिशत क्षमतामा चलेको जानकारी दिए। ‘देशभर १ सय १३ दाना उद्योग छन्। त्यो ४० प्रतिशत मात्रै क्षमतामा चलेका छन्,’ उनले भने, ‘बैंकको ऋण नभएको भए ७० प्रतिशत उद्योग बन्द भइसक्थे। ऋणकै कारण नोक्सानी खाएर चलाउनुपर्ने बाध्यता छ।’

उनका अनुसार दाना बनाउन प्रयोग हुने मकै, भटमास र पिनाको मूल्य अकासिए पनि मासुको माग घटेकाले मूल्य बढाउन सकिएको छैन। ‘कुखुरापालक किसान नै समस्यामा हुनुहुन्छ। यस्तो बेलामा दानाको मूल्य बढाउन उपयुक्त हुन्न भनेर बसेका छौं,’ पुरीले भने, ‘हामीले नोक्सानी सहेर उद्योग चलाइरहेका छौं।’