दुई वर्षदेखि ‘इनएक्टिभ’ अकाउन्ट हटाउँदै गुगल, अकाउन्ट सुरक्षित गर्न के गर्ने?

बिजमाण्डू
२०८० साउन २३ गते १५:२२ | Aug 8, 2023
दुई वर्षदेखि ‘इनएक्टिभ’ अकाउन्ट हटाउँदै गुगल, अकाउन्ट सुरक्षित गर्न के गर्ने?

गुगलले कम्तीमा पनि दुई वर्षदेखि संचालनमा नरहेको (इनएक्टिभ) अकाउन्टलाई ‘डिलिट’ गर्ने तयारी गरेको छ। कम्पनीले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नयाँ नियमहरु घोषणा गर्ने क्रममा यो निर्णय लिएको हो।

Tata
GBIME
Nepal Life

संचालनमा नरहेको सूचीमा रहेका अकाउन्टहरु सन् २०२३ को डिसेम्बर १ सम्म डिलिट हुने छैनन्। यो अवधिमा गुगलले प्रभावित हुने अकाउन्टमा ‘वार्निङ नोटिफिकेसन’ पठाउनेछ। गुगलले प्रयोगकर्तालाई आफ्नो इमेलको ‘ब्याकअप’ राख्न चेतावनी दिँदै सन्देश पठाउनेछ।

पुराना र संचालनमा नरहेका अकाउन्टहरु ‘रिसाइकल्ड पासवर्ड’को भरमा हुने र तिनीहरु सुरक्षाको दृष्टिकोणले पनि चुनौतिपूर्ण हुने गुगलले जनाएको छ। ‘इनएक्टिभ’ अकाउन्टहरुमा फिसिङ, ह्याकिङ र स्पाम पनि धेरै हुने पाइएको छ।

पहिलो चरणमा गुगलले अकाउन्ट खोलेर फेरि कहिलै प्रयोगकर्ताले लग-इन नगरेको अकाउन्टलाई ‘डिलिट’ गर्नेछ। प्रयोगकर्ताले अकाउन्ट संचालन नगरे पनि उनीहरुकै सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय गरिएको गुगलले जनाएको छ।

तर गुगल प्ले स्टोरमा एक्टिभ रहेका, युट्‍युब च्यानल खोलिएका, गिफ्ट कार्ड बाँकी रहेका अकाउन्टहरुमा भने तत्काल यो नियम लागू नहुने कम्पनीले जनाएको छ।

सन् २०२० मा नै गुगलले अकाउन्ट प्रयोग नगर्ने प्रयोगकर्ताहरुको सेवा कटौती गर्ने घोषणा गरेको थियो। तर, त्यसबेला अकाउन्ट ‘डिलिट’ नगर्ने कम्पनीले जनाएको थियो। अहिले भने गुगलले पुरानो अडान त्याग्दै अकाउन्ट नै ‘डिलिट’ गर्ने निर्णय गरेको हो।

आफ्नो गुगल अकाउन्ट सुरक्षित गर्न के गर्ने ?

गुगल प्रयोगकर्ताले कुनै पनि प्लेटफर्म दुई वर्षसम्म लग-इन नगरेको खण्डमा जीमेलदेखि गुगल फोटो, गुगुल डक्स लगायतमा रहेका मेसेज, डकुमेन्ट वा फोटो पछि चाहिएको बेला ‘रिकभर’ गर्न पाउनेछैनन्। त्यसैले आफ्नो अकाउन्ट ‘डिलिट’ हुनबाट कसरी बचाउने त?

गुगलको यो निर्णय कार्यान्वयनमा आउन अझै केही समय लाग्नेछ। यो अवधिमा लामो समयसम्म संचालनमा नरहेका अकाउन्टका प्रयोगकर्ताले आफ्नो अकाउन्ट ‘सेभ’ गर्न र ‘डिलिट’ हुनबाट बचाउन अकाउन्टमा लग-इन गर्नुपर्नेछ। पुरानो र इनएक्टिभ अकाउन्ट छ र त्यसको पासवर्ड थाहा छ भने लग-इन गरे अकाउन्ट सदाका लागि बन्द हुन बाट बच्नेछ। पासवर्ड थाहा नभए वा बिर्सिए युजरनेम र आफ्नो रेजिस्टर्ड फोन नम्बरबाट पनि नयाँ पासवर्ड राखेर अकाउन्टमा साइन इन गर्न सकिन्छ।

दुई वर्षमा एकपटक जीमेल प्रयोगकर्ताले लग-इन गरे उनीहरुको अकाउन्ट सुरक्षित हुनेछ। प्रयोगकर्ताले अकाउन्टमार्फत गुगलको कुनै पनि प्लेटफर्म चलाएको खण्डमा पनि उनीहरुको अकाउन्ट डिलिट हुनेछैन।