पोखरा र वीरगंजमा नेपाल टेलिकमले सुरु गर्‍यो फाइभजी परीक्षण, कहाँ-कहाँ हुँदैछ ट्रायल?

बिजमाण्डू
२०८० बैशाख २३ गते ०९:२७ | May 6, 2023
पोखरा र वीरगंजमा नेपाल टेलिकमले सुरु गर्‍यो फाइभजी परीक्षण, कहाँ-कहाँ हुँदैछ ट्रायल?

काठमाडौं। नेपाल टेलिकमले काठमाडौंपछि पोखरा र वीरगंजमा फाइभजी परीक्षण सुरु गरेको छ। सरकारले सुरुआतमा काठमाडौंसहित पोखरा, वीरगंज र विराटनगर गरी चार सहरमा परीक्षण गर्ने योजना अघि सारेको थियो। तर, फाइभजीमा चिनियाँ प्रविधि प्रयोगलाई लिएर अमेरिकी दबाबका कारण टेलिकमले परीक्षणलाई तीव्रता दिन सकेको छैन।

Tata
GBIME
Nepal Life

काठमाडौंमा पनि बबरमहल र सुन्धारा क्षेत्रमा फाइभजी परीक्षण गरिरहेको टेलिकमले पोखरा र वीरगंजमा बल्ल काम थालेको हो। टेलिकमले पोखरा र वीरगंजमा आफ्नो कार्यालय हातामा रहेको एउटा/एउटा टावरमा फाइभजीलाई आवश्यक पूर्वाधार र प्रविधि जडान गरेर परीक्षण गरिरहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

उनका अनुसार टेलिकमले काठमाडौं (वाग्मती), पोखरा (गण्डकी) र वीरगंज (मधेस प्रदेश) पछि अब बाँकी चारवटा प्रदेशमा पनि फाइभजी परीक्षण सुरु गर्ने तयारी गरिरहेको बताए।

‘कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा फाइभजी परीक्षण सुरु गर्न हामीले सामान ल्याउन हामीले आयात स्वीकृति (इम्पोर्ट लाइसेन्स) पाइसकेका छैनौं। हिजोसम्म पनि स्वीकृत भएको छैन। छिट्टै आउँछ होला,’ अधिकारीले भने, ‘अहिलेसम्म कुन कुन ठाउँमा फाइभजी परीक्षण गर्ने भन्ने यकिन त भएको छैन। तर,अहिले सुरुवात टेलिकमकै कार्यालयमा हो। अफिसकै स्ट्रक्चर (टावर) हरुमै फाइभजी हाल्ने हो।’

परीक्षण सफल भएपछि मात्रै टेलिकमले व्यवसायिक रुपमा फाइभजीलाई विस्तार गर्ने जनाएको छ। मोबाइल टेक्नोलोजीमा फाइभजी धेरै सुविधा उपयोग गर्न मिल्ने उच्च गुणस्तरको नयाँ प्रणाली हो।

सुरुमा अंग्रेजी नयाँ वर्षको अवसरमा गएको जनवरी १ (पुस १७ गते)बाट फाइभजी परीक्षणको सफ्ट लन्च गर्ने योजना टेलिकमको थियो। उक्त मितिमा परीक्षण सुरु नभएपछि गत माघ २२ गते आफ्नो वार्षिकोत्सवको अवसरमा गर्ने भनिएको थियो। टेलिकमका अधिकारीहरु फाइभजी कम्प्याटिबल सेट पर्याप्त नभएको भन्दै पुस १७ गतेबाट थाल्ने परीक्षण अन्तिम समयमा आएर रोकेको जवाफ दिँदै आएका छन्।

औपचारिकरुपमा सुरु गर्ने टेलिकमको योजना थियो। तर, टेलिकमको योजना दोस्रोपटक विफल भयो।

वार्षिकोत्सवमा औपचारिक रुपमा फाइभजी परीक्षण गर्ने डेडलाइन तोकिएको थियो। टेलिकमले अझै पनि कहिलेसम्म प्रयोगकर्ताहरुले फाइभजी परीक्षण गर्न पाउँछन् भनेर प्रष्ट पार्न सकेको छैन।

अमेरिकाले चिनियाँ प्रविधि नछाडे ‘रेड लाइन’ मा राख्‍ने चेतावनी दिएपछि टेलिकमको फाइभजी परीक्षण सुस्त छ। फाइभजी परीक्षण सुस्त हुनुमा पनि अमेरिकी दबाब नै मुख्य कारक रहेको स्रोत बताउँछ।

परीक्षण अवधिभर उपभोक्ताहरूले नि:शुल्क रूपमा फाइभजी डेटा दिने सरकारले घोषणा गरिसकेको छ। नियामक नेपाल दूरसंचार प्राधिकरण समेत टेलिकमले गरेको फाइभजी परीक्षणको शैलीमा सन्तुष्ट छैन। उपभोक्ताहरुले फाइभजी परीक्षणमा सामेल नै हुन नपाएको भन्दै तीव्र गतिमा काम अघि बढाउन ताकेता गर्दै आएको छ।

परीक्षण सुरु भएकै क्षेत्रमा रहेका टेलिकमका ग्राहकहरुले फाइभजीको अनुभव लिन नसकेको गुनासो गरिरहेका छन्।