अर्थतन्त्र थिलथिलो भएका बेला अर्थमन्त्रीको सारथी बन्दै कृष्णहरि पुष्कर, ‘ज्ञान भएको मान्छे आवश्यक’

बिजमाण्डू
२०७९ चैत्र २३ गते १६:४२ | Apr 6, 2023
अर्थतन्त्र थिलथिलो भएका बेला अर्थमन्त्रीको सारथी बन्दै कृष्णहरि पुष्कर, ‘ज्ञान भएको मान्छे आवश्यक’

काठमाडौं। बिग्रिएको सार्वजनिक वित्तले आर्थिक गतिविधि सुस्त भइरहँदा अब वित्तीय क्षेत्रमा पनि समस्या देखिन थालेको छ। सरकारी कर्मचारीलाई तलब खुवाउन १० प्रतिशत बढी ब्याजमा आन्तरिक ऋण उठाइरहनु परेको छ भने बैंक तथा वित्तीय संस्थाको खराब ऋण अनुपात पोहोरभन्दा दोब्बर भइसकेको छ।

Tata
GBIME
Nepal Life

आयातमा गरिएको कटौती र आन्तरिक मागमा आएको कमीले बाह्य क्षेत्रमा सुधार देखिए पनि राजस्व उठ्तीमा गहिरो खाडल देखिएको छ। राजस्व उठ्तीभन्दा खर्च २ खर्ब ३२ अर्ब रुपैयाँ नाघिसकेको छ।

महँगी बढेको छ, आर्थिक वृद्धिदर खुम्चिएको छ, राजस्व प्रशासन निकै कमजोर भएको छ, आम सर्वसाधारणदेखि लगानीकर्तासम्मको मनोबल गिरेको छ, आन्तरिक माग घटेको, ऋणको मागमा ठूलो कमी आएको छ, नयाँ लगानी हुन छाडेको छ।

अहिलेको समस्या समाधान गर्न सार्वजनिक वित्त र मौद्रिक नीति बुझेको अर्थसचिव चाहिन्छ। वित्त नीतिमा गरेको हेरफेरले मौद्रिक नीतिमा कस्तो असर गर्छ र मौद्रिक नीतिमा चालिएको कदमले वित्त नीति कसरी अगाडि बढ्छ भनेर असर र प्रभावलाई विश्लेषण गर्न सक्ने हुनुपर्छ।

किनभने अहिलेको अवस्था सामान्य छैन, निकै नै विषम छ। तर, सरकार अहिलेको अवस्थामा गम्भीर नदेखिएको उसको कदमले देखाएको छ।

अर्थमन्त्री जनार्दन शर्मा हुँदा उनको दाहिने हात भएर काम गरेका कृष्णहरि पुष्करलाई फेरि पनि अर्थसचिवका रुपमा भित्र्याइँदैछ।

कोभिड पछाडि बढेको उच्च माग र कर्जा लगानीका कारण अर्थतन्त्रमा समस्या देखिन थालेको थियो। अर्थमन्त्री भएर शर्मा आएपछि अर्थतन्त्र झन् झन् चौपट हुँदै गयो। बाह्य क्षेत्र ठूलो खाडल देखिएपछि १० वस्तुको आयातमा प्रतिबन्ध लगाउनु पर्‍यो भने ३०० भन्दा बढी वस्तुको आयातमा एलसी मार्जिन शतप्रतिशत कायम गर्नुपर्ने अवस्था आयो।

महत्वकांक्षी र भीमकाय बजेट ल्याइयो, स्रोतको उचित व्यवस्थापन नगरी, बजेट अनुशासन पनि फिटिक्कै भएन। तिनै शर्माको सारथी थिए कृष्णहरि पुष्कर।

राजनीतिक नेतृत्व रिझाउन माहिर पुष्कर अर्थसचिव बन्ने देखिएपछि लगानीकर्ताको मनोबल थप कमजोर देखिएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पत्नी आरजु राणा र प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहाललाई रिझाएकै कारण उनी अर्थसचिव बन्ने पक्का भएको हो।

पुष्कर अहिले देश बाहिर छन्। निजामती सेवामा प्रवेश गरेपछि पुष्करले पछाडि फर्किनु परेको छैन। अफताब आलम श्रममन्त्री भएर आउँदा सचिवालयमा रहेर काम गरेका पुष्करले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमान सिंह कार्की आउँदा प्रवक्ताको भूमिका निर्वाह गरेका थिए।

त्यो बेला लोकमानले जस्तै पावर एक्सर्साइज उनले गरेका थिए। लोकमानको समयमा उनले सार्वजनिक रुपमा पत्रकार सम्मेलन गरेर कर्मचारीलाई हप्काएका थिए। उनी कुनै पनि राजनीतिक दल सरकारमा आउनेवित्तिकै सम्बन्ध बनाउन सक्ने खुबी राख्छन्। उनको यही क्षमताका कारण कर्मचारी वृत्तमा ‘पुष्कर प्रवृति’ भन्ने स्थापित नै छ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माका पालामा राजस्व सचिव भएर अर्थ मन्त्रालय छिरेका पुष्कर अर्थसचिव बनेका थिए। पुष्कर कै कारण शर्मा बदनाम भएर अर्थ मन्त्रालयबाट बाहिरिएका थिए। अर्थतन्त्रका बारेमा ज्ञान नभएका शर्माले आफूखुसी निर्णय गर्न लगाए। त्यसलाई जस्ताकोतस्तै सदर गर्दै गएपछि शर्मा बदनाम बने। अर्थ मन्त्रालयबाट बाहिरिँदा शर्मा कलंकको टीका लगाएर निस्किए।

राजस्व प्रशासनमा सामान्य ज्ञान समेत नभएका पुष्करलाई आरजुकै दबाबमा सचिव बनाइएको थियो। उनी राजस्व सचिव भएर आएपछि राजस्व प्रशासन थप कमजोर बन्यो। राजस्व प्रशासनका बारेमा ज्ञान नै नभएको व्यक्ति ल्याएपछि राजस्वमा समेत असर गर्‍यो। राजस्व सचिव भएर आउँदा उनलाई भन्सारको ‘एचएस कोड’ भनेको के हो भन्ने समेत थाहा थिएन।

एचएस कोड समेत थाहा नभएका व्यक्ति सचिवको रुपमा आएपछि त्यसको असर असुलीमा पनि पर्‍यो। उनले राजस्व उठाउनमा ध्यान दिएनन्। शर्मालाई रिझाउन उनले ल्याएका सबै प्रस्तावलाई सदर गर्दै गए। त्यसले राजस्व प्रशासन समेत भताभुंग बन्यो। अहिले त्यो सुधार गर्न नसक्ने अवस्थामा पुगेको छ।

अर्थसचिव हुन अर्थशास्त्र पढेको व्यक्ति हुनुपर्छ भन्ने जरुरी छैन, तर आर्थिक क्षेत्रका बारेमा ज्ञान भने चाहान्छ। ‘पुष्कर अर्थ मन्त्रालयका लागि बनेको मान्छे नै होइन,’ उनीसँग काम गरेका एक कर्मचारीले भने, ‘ऊ रिझाउन जान्ने मान्छे हो, अहिलेको विषम परिस्थितिमा ज्ञान भएकै मान्छे चाहिन्छ।’ उनका अनुसार अर्थमन्त्री अर्थतन्त्रका बारेमा जानकार र पढेलेखेको भएपनि अर्थसचिव त्यस्तो नहुँदा काममा ‘डेलिभरी’ दिन सकिँदैन।

पुष्कर कर्मचारी वृत्तमा रुचाइएको नाम होइन, तर मन्त्रीले भनेपछि गरिहाल्छु नि भन्ने प्रवृत्तिका कारण राजनीतिक वृत्तमा रुचाइन्छन्।

अहिले अर्थतन्त्र खुम्चिरहेको छ। ८ प्रतिशतको आर्थिक वृद्धि राखेपनि ४ प्रतिशत हाराहारी पुग्ने प्रक्षेपण एसियाली विकास बैंकले गरेको छ। वित्तीय क्षेत्रले विश्वास गुमाउँदै गएको छ, खराब ऋण पनि पोहोरभन्दा दोब्बरले बढेको छ।

‘एकातिर राजस्वले चालु खर्च धान्न सकेको छैन, अर्कोतिर वित्तीय क्षेत्र ठूलो दबाबमा छ,’ एक पूर्व अर्थसचिवले भने, ‘अहिलेको अवस्थाले अर्थतन्त्रलाई कतिसम्म असर गर्न सक्छ भनेर अनुमान गर्ने सक्ने मान्छे अर्थसचिव हुनुपर्छ, त्यो क्षमता पुष्करसँग छ जस्तो मलाई लाग्दैन।’ अहिले भन्सार मात्र होइन, आन्तरिक राजस्वमा पनि गिरावट छ। आन्तरिक उत्पादन घटेको छ, उद्योगधन्दा क्षमताभन्दा ३० प्रतिशतले मात्र चलेका छन्।

अर्थसचिव समन्वयकारी हुनुपर्छ, त्यसका लागि विषयको ज्ञान आवश्यक पर्छ। ‘अर्थसचिवले धेरै कुरा आफ्नै तहबाट मिलाउन सक्छ,’ ती पूर्व सचिवले भने, ‘स्रोत व्यवस्थापन, राजस्व परिचालन, विदेशी दातृ निकायसँगको सम्बन्ध यावत कुराहरु अर्थसचिवको क्षमताबाट प्रतिविम्बित हुन्छ।’ उनका अनुसार अर्थसचिवका रुपमा अहिलेका बेला एउटा प्रशासक भएर मात्र पुग्दैन, डाइनामिक मान्छे नै चाहिन्छ।

अहिले राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर लागू गर्ने कुरा गरेको छ। कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८५ प्रतिशतको हारहारी हुँदासमेत बैंकहरुले ऋण लगानी गर्न सकेका छैनन्। यस्तो बेलामा काउन्टर साइक्लिकल बफर लागू गर्दा के हुन्छ भन्ने कुरा अर्थसचिवलाई ज्ञान हुन जरुरी छ।

‘पुष्करमा मौद्रिक तिरको कुनै पनि ज्ञान छँदै छैन, सार्वजनिक वित्तको बारेमा पनि उनी कम जानकार छन्,’ ती पूर्वसचिवले भने, ‘यसको पुष्टी उनको अघिल्लो कार्यकालले नै गर्छ।’ उनी अर्थसचिव हुँदा अर्थ प्रशासन कमजोर भयो भने राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जाकै कारण सरकारसँग सम्बन्ध पनि बिग्रियो।

पुष्कर अर्थमन्त्री डा. प्रकाशशरण महतको सारथी भएर भित्रिँदै गर्दा लगानीकर्ताले चिसो प्रतिक्रिया दिन थालेको छ। सेयर बजार रातो भएको छ।

अर्थमन्त्री भएर महतले निजी क्षेत्र र नियामकसँग संवाद थालेपछि निजी क्षेत्र र आर्थिक विषयमा सरोकार राख्नेहरु सकारात्मक बन्दै गएका थिए। उनले गृह मन्त्रालयसँग सीमामा हुने राजस्व छलीलाई रोक्न गरेको छलफल, राष्ट्र बैंकसँग ब्याज घटाउन गरेको पहललाई बजारले सकारात्मक रुपमा लिँदै गएको थियो।

आरजुको आशीर्वादले अर्थमन्त्री बनेको भन्ने आरोपलाई चिर्दै अर्थतन्त्र सुधार गर्न गम्भीर छन् भन्ने हिसाबले बजारले उनलाई हेर्न थालेको थियो। तर, पुष्करलाई आफ्नो सारथी बनाउने निश्चित भएपछि डा. महत पनि आरजुको छायामा जनार्दन शर्माभन्दा फरक रहेनछन् भन्ने सन्देश गएको छ।