भारतीय अर्बपति अडानीको रफ्तारमा हिन्डेनबर्गको रिपोर्टले लगायो ब्रेक, आँखा अन्तर्राष्ट्रिय बजारतर्फ

बिजमाण्डू
२०७९ चैत्र २२ गते ११:०५ | Apr 5, 2023
भारतीय अर्बपति अडानीको रफ्तारमा हिन्डेनबर्गको रिपोर्टले लगायो ब्रेक, आँखा अन्तर्राष्ट्रिय बजारतर्फ

‘समय आफ्नो पक्षमा आएपछि कसैले चाहेर पनि त्यसको गतिलाई रोक्न सक्दैन, र अबको समय भारतको हो।’- गत वर्षको सेप्टेम्बरमा सिंगापुरमा भएको ग्लोबल सिइओ कन्फ्रेन्समा विश्वभरका ४ सय ५० कार्यकारीहरुका माझ भारतीय अर्बपति गौतम अडानीले भनेका थिए।

Tata
GBIME
Nepal Life

उनले त्यसबेला के पनि भनेका थिए भने -‘यो  समग्र विश्वकै लागि पनि खुसीको खबर हो कि भारत आर्थिक सफलतातर्फ उन्मुख लोकतान्त्रिक मुलुक हो, जसले विश्वसामु आफूलाई उदाहरणीय रूपमा प्रस्तुत गरिरहेको छ।’

भारतको मात्र नभएर स्वयं अडानीकै पनि समय आएको महसुस त्यसबेला विश्व कर्पोरेट जगतले गरेको थियो। ६० वर्षका भारतीय उद्योगपतिले विश्वमै त्यो उचाइ छोएका थिए। उनको अडानी ग्रुपको ९ वटा सूचीकृत कम्पनीहरुको सेयरले उच्च रेकर्ड राखेको थियो, जसमध्ये चारवटाले १२ महिनामै दोब्बरभन्दा बढी मूल्य हासिल गरेको थियो। त्यही समयमा उनले अन्य अर्बपतिहरुको भन्दा बढी निजी सम्पत्ति जोडेका थिए।

६ महिनाकै अवधिमा उनको नेटवर्थ ७० अर्ब डलरले बढेर कुल सम्पत्ति १५८ अर्ब डलर पुगेको थियो, जसले उनलाई विश्वकै दोस्रो धनी ब्यक्ति बनाएको थियो। त्यसबेला उनको सम्पत्ति बिल गेट्स, वारेन बफेट र जेफ बेजोसको भन्दा बढी हुन पुग्यो।

र, यो सबै उनले ‘उत्कृष्ट भारत’ बनाइरहँदा हासिल गरेका उपलब्धिहरु थिए। विश्वकै दोस्रो सर्वाधिक जनघनत्व भएको देश भारत पूर्वाधारको विकासका लागि छटपटिइरहेका बेला राम्रा सडक, आधुनिक एयरपोर्टहरु र अत्याधुनिक पावर प्लान्टहरु अडानीले नै भारतलाई उपलब्ध गराइरहेका थिए।

उनका सूचीकृत कम्पनीहरुमध्ये सातवटाको मात्र गत डिसेम्बरसम्म १२ महिनाको अवधिको रेभेन्यू ३८ अर्ब डलर रहेको फ्याक्टसेट रिसर्चले जनाएको छ। ती कम्पनीहरुमा मात्र २६ हजार मानिसहरु कार्यरत छन्।

अडानी ग्रुपले भारतको सबैभन्दा व्यस्त जहाजका पोर्टहरु, नौ वटा पावर स्टेसनहरु र ट्रान्समिसन लाइनहरु बनाएको छ, जसले ३० लाखभन्दा बढी वितरकहरु, कोइला खानीहरु, खानेतेल उत्पादक, हाइवे तथा आठवटा एयरपोर्टहरुलाई सहज बनाइरहेछ। गत वर्षमात्र अडानी ग्रुपले यस्तो सम्झौता गरेको छ जसले उसलाई भारतकै दोस्रो ठूलो सिमेन्ट उत्पादक तथा भारतकै ठूलो टेलिभिजन नेटवर्क नयाँ दिल्ली टेलिभिजन (एनडी टीभी)लिमिटेडको मालिक पनि बनायो।  

अचानक अडानी समूहको यो रफ्तार २४ जनवरीमा रोकियो। अमेरिकी सर्ट सेलिङ कम्पनी हिन्डेनबर्ग रिसर्चले गौतम तथा उनका दाजु विनोदलाई कर्पोरेट इतिहासकै सर्वाधिक भ्रष्ट र फ्रड घोषित गर्दै एक प्रतिवेदन सार्वजनिक गर्‍यो। प्रतिवेदनले अडानी दाजुभाईले आफ्ना कम्पनीहरुको झुठा वासलात बनाउने, सेयर बजारलाई प्रभावित बनाउने र भारतको धितोपत्रसम्बन्धी कानुनहरुलाई उल्लंघन गरी आफ्नो कम्पनीहरुको सेयर मूल्यमा चलखेल गर्ने गरेको आरोप लगायो।

प्रतिवेदनले लगाएका सबै आरोपहरुको अडानी समूहले खण्डन गरे पनि प्रतिवेदन सार्वजनिक भएको दुई साताभित्रै उसका कम्पनीहरुको बजारमूल्य ११२ अर्ब डलरले तल झर्‍यो। गौतम अडानीकै व्यक्तिगत सम्पत्तिमा पनि ६५  अर्ब डलरले गिरावट आयो। अहिले बजारमा केही सुधार आएर उनको व्यक्तिगत सम्पत्ति ४७.२ अर्ब डलरमा कायम छ। तर, अडानीको रफ्तार सुस्ताएको छ।  

हिन्डेनबर्गको प्रतिवेदन सार्वजनिक भएको एक सातापछि नै अर्को खबर पनि सार्वजनिक भयो, जुन अडानी समूहको टाउको दुखाइको अर्को विषय बन्यो। गत फेब्रुअरीमा समूहको फ्ल्यागसिप बिजनेस अडानी इन्टरप्राइजेजले लामो समयदेखिको योजना अन्तर्गतको २.५ अर्ब डलर बराबरको सेयर बिक्री योजनालाई क्यान्सिल गर्नुपर्‍यो। यसो गर्नुमा पनि उनीहरुले एफपीओ जारी गर्नु अघि उक्त कम्पनीको सेयरको माग बढाउन आफ्नै अफसोर कम्पनीहरुमार्फत उक्त कम्पनीको सेयर किनेको खबर सार्वजनिक भएको थियो।

तर, उक्त समाचार सार्वजनिक भए लगत्तै गौतम अडानीले भिडियोमार्फत बजारमा देखिएको उतारचढावको परिस्थितिमा उक्त एफपीओ सार्वजनिक गर्न उपयुक्त नठानेको बताएर बजारलाई ‘म्यासेज’ दिन खोजेका थिए। त्यो एफपीओ अफरिङको योजना पनि त्यसै तुहियो।

त्यस लगत्तै गौतमका दाजु विनोदको अफसोर व्यापारिक साम्राज्यका बारेमा खुलासा भयो। अफसोर कम्पनीहरु र  अडानी ग्रुपको कारोबारबीच कनेक्सन रहेको पहिचान भएपछि भारतमै विपक्षी दल इन्डियन नेसनल कंग्रेसले संसदीय कार्वाहीकै क्रममा उक्त प्रमाणहरुलाई मध्यनजर गर्दै कम्पनीमाथि कारवाही हुनुपर्ने माग समेत उठायो। हाल अडानी ग्रुपका विषयमा उठेका यी आरोपहरुका सन्दर्भमा भारतको उच्च अदालतका साथै सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया सेबी दुबैले अनुसन्धान गरिरहेका छन्।

विश्वका सर्वाधिक धनाढ्यमध्येका एक गौतम अडानी र उनका भाई विनोदले आफ्नो पूर्वाधारको साम्राज्यलाई अर्को उचाइमा पुर्‍याए। तर, हिन्डेनवर्गको एक प्रतिवेदनका कारण १४ दिनको अवधिमा झण्डै ७० अर्ब डलर पनि गुमाए। अति नै महत्वाकांक्षी दुई दाजुभाईले विश्वका कुना कुनासम्म पनि आफ्नो कम्पनीलाई विस्तार गरे पनि त्यो विवादरहित बन्न सकेन।

भारतका २३ राज्यमा अडानी समूह अन्तर्गत दुई सय बन्दरगाह, एयरपोर्ट, पावर स्टेसनहरु, सिमेन्ट प्लान्ट,  खानीहरु, डिफेन्स इक्विपमेन्ट फ्याक्ट्रीहरु, नवीकरणीय ऊर्जा फर्महरु, विद्युतीय तथा ग्यास वितरण नेटवर्क फैलिएका छन्। ग्रुपले प्रदान गर्ने सेवाले भारतको कुल क्षेत्रफलको ८७ प्रतिशत हिस्सा ओगट्छ।

जतिबेला अडानीमाथि आरोप लाग्यो अधिकांश भारतीयले यसलाई भारतमाथिकै ‘प्रहार’का रुपमा लिए। अडानीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष सम्बन्ध भएका कारणले पनि यसलाई मुलुककै प्रतिष्ठाका विषयमा रुपमा हेरियो। हिन्डेनबर्गले लगाएको आरोप गौतम र मोदीबीचको ३५ वर्षदेखिको घनिष्ठ सम्बन्धका कारण समग्र भारतमाथिकै आक्रमणका रुपमा लिइएको थियो।

आफूमाथि लगाइएको आरोपको खण्डनका रुपमा गौतमले दिएको ४१३ पेज लामो स्पष्टीकरणमा उनले भारतको स्वतन्त्रता, अखण्डता, भारतीय संस्थाहरुको गुणस्तर तथा समग्र भारतकै आर्थिक वृद्धिको लक्ष्य तथा सफलताका कथाहरु माथिको नियोजित आक्रमणका रुपमा उल्लेख गर्दै ती आरोपहरुलाई ठाडै अस्वीकार गरेका थिए।

तर, हिन्डेनबर्गले लगाएका आरोपहरु आश्चर्जजनक रुपमा आएको भने थिएन। वर्षौदेखि अडानी ग्रुपका कम्पनीहरुमाथि कर छली, आयात निर्यातमा जालझेल, मनी लाउन्ड्रिङ जस्ता घटनामा संलग्न रहेको आरोप लाग्दै आएको थियो।

‘भारतमा व्यापार गर्न चाहनुहुन्छ भने तपाईले राजनीतिज्ञ तथा कर्मचारी दुवै संयन्त्रसँग राम्रो सम्बन्ध राख्‍नुपर्छ। यदि तपाई चाँडो आफूलाई फैलाउन चाहनुहुन्छ भने भारतीय प्रणालीमै रहेका केही अवरोधहरुलाई चिरेर अघि बढ्न सक्नुपर्छ।’- सन् २००९ मै फोर्ब्ससँगको एक अन्तर्वार्ताका क्रममा गौतम अडानीले भनेका थिए।

मोदी र अडानीबीचको निकटता निकै पुरानो हो। उनीहरु एकअर्काको निकट भएको ३५ वर्षभन्दा बढी भइसकेको छ। सन् ८० को दशकमा गुजरातको पश्चिमी क्षेत्रका बासिन्दा मोदी र अडानीको युवा उमेरमै चिनजान भएको थियो।

अडानीले सन् १९९४ मा गुजरातको मारीटाइम बोर्डबाट मुन्द्रामा जहाजहरुका लागि जेटी बनाउने अनुमति पाएका थिए।

त्यसको एक वर्षमै मोदीको भारतीय जनता पार्टीले गुजरातमा भारी मतले जित्यो। सन् २००१ मा मोदी गुजरातका मुख्यमन्त्री चुनिए, त्यसै समय सरकारले अडानीलाई मुद्रा पोर्ट संचालनका लागि ३० वर्षको लागि संचालनको सहमति दियो।

अडानी समूहले मोदीसँगको विशेष सम्बन्धकै कारण मुन्द्रा पोर्टलाई विशेष आर्थिक क्षेत्रका रुपमा लाभ लिनेगरी सुविधा दियो। हाल भारतको सबैभन्दा व्यस्त रहने अडानी मुन्द्रा पोर्ट अडानीहरुको अन्य सबै बन्दरगाहहरुको ‘राजा’ हो।  सेजअन्तर्गत रहेको कम्पनीको सन् २०२२ को कारोबार २.२ अर्ब डलर थियो। मुन्द्रा थर्मल पावर प्रोजेक्ट, पनि सन् २००९ मा संचालनमा आएको हो, जो अडानी पावरको मेरुदण्डका रुपमा छ। सन् २०२२ मा यसले ४.७ अर्ब डलरको ऊर्जा बिक्री गरेको थियो।

तर, मोदीको ‘आशिर्वाद’का कारण आफूले सफलता पाएको कुराप्रति भने गौतमले सधैं नै इन्कार गर्दै आएका छन्।

सन् २०१२ मा भारतको एक बिजनेस म्यागेजिनलाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए- ‘मेरो सफलता र व्यापारिक उदयका लागि नरेन्द्र मोदीसँगको मेरो निकटतालाई हेरिँदै आएको छ। उनले मेरो नभई समग्र भारतीय औद्योगिक वृद्धिका लागि नीतिगत पहल गरेका हुन् ताकि भारतको आर्थिक वृद्धि तीव्र बनोस्।’

सन् २०१४ मा गुजरातको उच्च अदालतले अडानीको मुन्द्रास्थित सेजले आधिकारिक वातावरणीय प्रभाव मूल्यांकन नगरिकनै उद्योग संचालन गरेको भन्दै केही कम्पनीहरुको संचालन बन्द गर्न आदेश दिएको थियो। वातावरणीय प्रभाव मूल्यांकन सही नभएको भन्दै कोइलाको धुलोलाई उचित ढंगबाट व्यवस्थापन नगरिएको आरोप लगाइएको थियो। तर, अर्को वर्ष मोदी प्रधानमन्त्री बने लगत्तै उक्त आदेश खारेज भयो र संघीय सरकारले नै सेजका फ्याक्ट्रीहरु संचालनको अनुमति दियो।

ती सबै प्रकरणहरुका बाबजुद यतिबेला अडानी समूह सेयर बजारमा देखिएको अप्रत्यासित र तीव्र वृद्धिका कारण विवादको केन्द्रमा छ। हिन्डेनबर्गका अनुसार गौतम दाजुभाईले अफसोर इन्भेष्टमेन्ट फण्डमार्फत अर्बौ डलर बराबरको सेयरहरु लुकाइरहेको छ। प्रतिवदेन अनुसार ती सेल कम्पनीहरुले दुई किसिमका उद्देश्यका लागि काम गर्छन्। एउटा, अडानी कम्पनीका सेयरहरु किन बेच गरी तरलता सिर्जना गर्ने र अर्को, कम्पनीको सेयर मूल्यलाई छेडछाड गरी सेयर मूल्य बढाउने।

अडानी ग्रुपको संस्थापक तथा अध्यक्षका रूपमा गौतम अडानीको अनुहार अगाडि देखिए पनि ग्रुप उनीहरुको पारिवारिक व्यवसायका रूपमा संचालित छ। सन् १९८१ मा उनीहरुले एसबि अडानी फ्यामिली ट्रस्टको स्थापना गरेर कारोबार संस्थागत गरेका थिए।  ट्रस्टमा गौतमसँग अडानीका दाजुभाइहरु महासुख, राजेश, वसन्त र विनोद पनि संलग्न छन्।

गौतमका भाई राजेश ग्रुपको म्यानेजिङ डाइरेक्टरका रुपमा छन्, जसले समग्र ग्रुपको संचालन हेर्ने गर्छन्। यस्तै ग्रुपको अष्ट्रेलियास्थित कारोबार जेठान समिर बोराले हेर्ने गर्छन्। भतिज प्रनभ अडानी इन्टरप्राइजका एमडी हुन्, जुन कम्पनी ग्रुपको फ्ल्यागसिप बिजनेस हो। गौतमका दुई छोरा करण र जीत, जसले अमेरिकाबाट शैक्षिक डिग्री लिएका छन्, उनीहरुले कम्पनीको बन्दरगाह र एयरपोर्ट बिजनेस हेर्ने गर्छन्। करणले यतिबेला सिमेन्ट बिजनेस पनि सम्हालिरहेका छन्।

यहाँ रोचक के छ भने गौतमका भाई विनोदको  कुनै अफिसियल टाइटल नभए पनि उनको नाम हिन्डेनबर्गको रिपोर्टमा १ सय ३८ पटक आएको छ। जबकी गौतम अडानीको नाम यहाँ जम्मा १०० पटक उल्लेख भएको छ।

प्रतिवेदनका अनुसार विनोदले अडानी कम्पनीका सेयरहरुको किनबेच गर्ने दर्जनौं अफसोर कम्पनीहरु संचालन गर्छन्। त्यसैले उनी यस गैरकानुनी कारोबारमा प्रमुख रुपमा मुछिएको हिन्डेनबर्गको आरोप छ।

न्यूयोर्क युनिभर्सिटीका फाइनान्स प्रोफेसर अश्वाथ दामोदरन यो प्रकरणको मुख्य विषय भनेको ‘शक्ति र नियन्त्रण’ हो भन्छन्।  कम्पनीले अफसोर कम्पनी खडा गरी सूचीकृत कम्पनीहरुमाथिको नियन्त्रण आफ्नै पारिवारभित्र रहिरहोस् भन्ने ध्येय अनुसार यसरी कारोबार भएको उनको भनाइ छ।

हिन्डेनबर्गको यो प्रतिवेदनले गौतम अडानीका ती कम्पनीहरुमाथिको नियन्त्रणलाई प्रभावित बनाउन सक्छ। तर, उनले पटक पटकका कठिनाइमा आफूलाई ‘प्रमाणित’ गर्दै आएका छन्।

सन् १९९७ मा गौतम अडानी १८ घण्टासम्म ग्याङ्स्टरको अपहरणमा परे पनि उम्किन सफल भएका थिए। यस्तै सन् २००८ मा उनी मुम्बईको ताज महल प्यालेस होटलमा डिनरका लागि गएका बेला आतंकवादीहरुको नियन्त्रणबाट भाग्न सफल भएका थिए। त्यही समूहले त्यस अवधिमा मुम्बईमा १७४ मानिसको हत्या गरेको थियो।

‘ईश्वरको कृपा सधैं मप्रति रहिरहेको छ।’- पछि उनले संचारमाध्यमसँग भनेका थिए।

आठ सन्तानमध्येका एक तथा पाँच छोरामध्ये चौथा गौतमले आफ्नो व्यावसायिक यात्रा सन् १९७८ मा थालेका हुन्। १६ वर्षकै उमेरमा स्कुल छाडेर उनी भाइ विनोदसँग मुम्बई छिरे। सुरुवातमा उनले हिराको कारोबार गर्ने कम्पनीमा काम गरे। केही समय त्यहाँ काम गरेपछि उनी गुजरात फर्किए। सन् २०८२ मा उनी गुजरात फर्किएर आफ्ना जेठा दाई महासुखलाई सहयोग गरे। महासुखले त्यसबेला आफ्नो साथी सेभन्तीलाल बोरासँग सानो प्लास्टिक प्याकेजिङ फ्याक्ट्री किनेका थिए।

‘हामीले वास्तवमै शून्यबाट सुरु गरेका थियौं।’- सन् २००९ मा एक अन्तर्वार्ताका क्रममा उनले भनेका थिए।

सन् १९८६ मा बोराले आफ्नी छोरी प्रीतिको विवाह गौतमसँग गरिदिए। त्यसको दुंई वर्षपछि गौतमले प्लास्टिक निर्यातका लागि अडानी एक्सपोर्टस् स्थापना गरे। लगत्तै उनको कम्पनी विस्तार हुँदै टेक्सटाइल कृषिजन्य वस्तुहरु, गरगहनालगायतका क्षेत्रमा पनि हात हाल्यो।

यो कम्पनी भारतको स्टक एक्सचेन्जमा सन् १९९४ मा सूचीकृत भयो। पछि नाम फेरेर यो अडानी एक्सपोर्ट्सबाट अडानी इन्टरप्राइजेज बनेको हो।

‘हामीले टुथपेष्ट, जुत्ता पालिस, सी फुड, कस्मेटिक्स तथा अन्य कैयन सामानहरु बेच्यौं। हामीले निर्यात गरेका सामानहरु कतै पनि प्रतिबन्धित भएनन् जसका कारण हामीले बाहिर राम्रो बजार भेट्यौं। यसले हामीलाई राम्रो नाफा दिन थाल्यो।’- विनोद अडानीले गौतमको बायोग्राफीका बारेमा कुरा गर्दै पत्रकारहरुसँग भनेका थिए।

यति मात्र नभई राजनीतिक सम्बन्धहरुले पनि गौतमको व्यवसायमा ठूलो अर्थ राख्छ। गुजरातको सेजका विषयमा अनुसन्धान अघि नबढाई त्यसै रोकिनु, सन् २००७ मा सेबीले प्रतिबन्ध लगाएका केही अडानी कम्पनीहरु सामान्य जरिवाना तिरेरै कारोबार फुकुवा हुनु लगायतका विषय राजनीतिक सम्बन्धका कारण पाएका लाभहरु हुन्।

सन् २०१४ मा भारतको राजस्व अनुसन्धान विभागले अडानी ग्रुपले आयात गरेको पावर प्लान्ट उपकरणको अधिक मूल्यांकन गरेको विषयमा अनुसन्धान गरेको थियो। त्यस घटनामा विभागले सन् २००९ देखि २०१३ को अवधिमा कम्पनीले विनोद अडानीको स्वामित्वमा रहेको मरिससस्थित कम्पनीमार्फत पैसा बाहिर पठाएको आरोप लगाएको थियो। यसबारे सरकारले अनुसन्धान सुरु गरे पनि पछि त्यो प्रकरण त्यसै बिलाएर गयो।  

यसैगरी कम्पनीले सन् २००४ देखि २००६ सम्मको अवधिमा आयातनिर्यात गरेको हिराको पनि सही मूल्यांकन नगरी कर छलेको विषयमा विभागले अनुसाधान गरेको थियो।

यसैगरी कर्नाटकमा रहको अडानी इन्टरप्राइज र अन्य कम्पनीले सरकारी अधिकारीहरुलाई घूस खुवाएर गैरकानुनी रुपमा फलामको निर्यात गरेको समेत आरोप लागेको थियो। सन् २०११ देखि २०१५ को अवधिमा अडानीका ५ वटा कम्पनीहरुले इन्डोनेसियाबाट कोइला आयात गर्दा अर्बौ डलर अफसोर कम्पनीमा पठाएरको आरोप पनि लागेको छ। सन् २०२० मा भारतको उच्च अदालतले तल्लो अदालतले त्यसको अनुसन्धान रोक्न गरेको निर्णयलाई उल्ट्याइदिएको थियो। यो मुद्दा हालसम्म पनि चलिरहेको छ।

अडानी इन्टरप्राइजेजमाथि लागेका अनेकन् आरोपहरुका बाबजुद यसको व्यापारको गति कहिल्यै रोकिएन। अडानी पोर्ट्सले भारतमा सातवटा बन्दरगाहहरुको विकास गर्‍यो र हाल यसको अधीनमा कुल १२ वटा बन्दरगाहहरु छन्। यसैगरी यो समूहले सन् २०१९ मा ६ वटा एयरपोर्टहरु संचालन गरेको थियो, जुन गतवर्ष मुम्बईमा अर्को थपिएर ७ पुगेको छ। सन् २०१४ देखि २०२२ को अवधिमा समूहका तीनवटा सूचीकृत कम्पनीहरुको कारोबारमा ५५ प्रतिशतको वृद्धि भएको छ।

‘दुर्भाग्य यो हो कि प्रधानमन्त्री मोदीसँगको निकटताका कारण अडानी ग्रुपले कर्मचारीतन्त्रलाई प्रभावित पार्ने क्षमता राख्दछ।’- पूर्व इन्भेष्टमेन्ट बैंकर तथा विपक्षी दलकी नेतृ महुवा मोइत्रा भन्छिन्- ‘मलाई थाहा छैन सरकार कतिको जवाफदेही छ तर ‘यो देशको कानुन अडानीलाई लागू हुँदैन’ भन्ने भ्रमलाई बदल्न जरुरी छ।’

यति धेरै विवादका बाबजुद पनि गौतम एकरत्ति पनि डगमगाएका छैनन्। यतिबेला उनको नजर अन्तर्राष्ट्रिय व्यापारतर्फ छ। सन् २००८ मा इन्डोनेसियाको कोइलाखानीसँग सम्झौता गरेर उनी अन्तर्राष्ट्रिय व्यापारमा अघि बढेका थिए। त्यसको दुई वर्षपछि ग्रुपले अष्ट्रेलियाको कोइलाखानी किन्यो। सन् २०११ मा उसले अष्ट्रेलियाकै एक बन्दरगाहलाई किन्यो। सन् २०२१ मा श्रीलंकामा कन्टेनर टर्मिनल बनाएको कम्पनीले इजरायलको हाइफा पोर्टमा १.२ अर्ब डलरको डिल गरेको छ। इजरायलको दोस्रो ठूलो बन्दरगाह मानिने हाइफामा अडानी ग्रुपको ७० प्रतिशत सेयर रहने बताइएको छ।

हिन्डेनबर्गको प्रतिबेदन सार्वजनिक भएकै समय पारेर गौतम इजरायल पुगेर भाषण गरेका थिए र सो सम्झौतामा हस्ताक्षर गरेपछि त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग तस्वीर समेत खिचाएका थिए।

भारतमा सेबीले गरिरहेको अनुसन्धानका विषयमा पनि गौतम निकै आत्मविश्सासी देखिएका छन्। भारतको सर्वोच्च अदालतले सेबीलाई अडानी इन्टरप्राइजेजमाथि लागेको आरोपका सम्बन्धमा अध्ययन गरी दुई महिनाभित्र प्रतिवेदन पेस गर्न भनेको छ। यसै विषयलाई इंगित गर्दै गत मार्च २ मा गौतमले आफ्ना करिब १० लाख ट्‍वीटर फलोअरका लागि लेखे-‘आखिर सत्यकै जीत हुनेछ।’ (फोर्ब्सबाट साभार)