पद्‍म कोलोनीले ५.६८ अर्बमा दुई हाउजिङ निर्माण गर्दै, काठमाडौं र इटहरीमा ५ सय घर

बिजमाण्डू
२०७९ चैत्र १२ गते १२:११ | Mar 26, 2023
पद्‍म कोलोनीले ५.६८ अर्बमा दुई हाउजिङ निर्माण गर्दै, काठमाडौं र इटहरीमा ५ सय घर

काठमाडौं। पद्‍म कोलोनीले एकैसाथ दुईवटा हाउजिङ परियोजना निर्माण गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

सञ्‍चार व्यवसायी राजुप्रसाद कँडेलको कम्पनी पद्‍म कोलोनीले नागार्जुन नगरपालिकाको रामकोट डाँडापौवा र इटहरीमा हाउजिङ परियोजना निर्माण थाल्ने भएको हो। पहिलो चरणमा दुवै ठाउँमा कम्पनीले जग्गा अधिग्रहण गरिरहेको छ।

कम्पनीले रामकोटको फेज-५ अन्तर्गत ३ सयवटा र इटहरीको फेज-६ अन्तर्गत २ सय घर निर्माण गर्ने जनाएको छ। जसको कुल अनुमानित लागत ५ अर्ब ६८ करोड रुपैयाँ हो। रामकोट परियोजनाको अनुमानित लागत ३ अर्ब ५० करोड र इटहरीको २ अर्ब १८ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

रामकोट परियोजना निर्माणका लागि अहिलेसम्म करिब ९० प्रतिशत जग्गा खरिदको काम सकिएको बताइएको छ। इटहरी परियोजनाका लागि भने कुल क्षेत्रफलमध्ये आधा जग्गा अधिग्रहणको काम सकिएको छ।

डाँडापौवामा निर्माण हुने हाउजिङ परियोजनाको कुल क्षेत्रफल १२६ रोपनी रहने कम्पनीले जनाएको छ।

उता इटहरी परियोजना भने कुल १२ बिघा (१५९.७५ रोपनी) मा फैलिने बताइएको छ। इटहरी परियोजनालाई कम्पनीले भविष्यमा थप विस्तार गर्दै थप घरहरु निर्माण गर्ने बुझिएको छ। यसलाई ५ सय युनिटसम्म विस्तार गर्न सकिएमा बताइएको छ। विराटनगरबाट २५ किलोमिटरको दूरीमा इटहरी परियोजना निर्माण हुनेछ।

सन् २०२४ बाटै हाउजिङ निर्माण (सिभिल) सुरु गर्ने तयारीमा पद्म कोलोनी छ। दुवै परियोजनाको लगानी टुंग्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ। कुल लागतमध्ये ८० प्रतिशत ऋण र बाँकी २० प्रतिशत भने कम्पनीले इक्‍विटी लगानी गर्नेछ।

कम्पनीका अनुसार यी घरहरुको बुकिङ परियोजनाको निर्माण ८० प्रतिशत नसकिएसम्म खुल्ने छैन। निर्माण सुरु भएको करिब दुई वर्षमा मात्रै बुकिङ खोल्ने योजनामा कम्पनी छ।

यसका साथै कम्पनीले यसअघि निर्माण गरेका विभिन्न हाउजिङ परियोजनामा बिक्री नभएका घरहरु बेच्ने बताउँदै स्टक क्लियरेन्स आफ्नो पहिलो प्राथमिकता भएको जनाएको छ।

कम्पनीले फेज-१ सितापाइला र फेज-२ कुसुन्ती परियोजना पूर्णरुपमा बिक्री गरिसकेको छ। बाँकी परियोजनामा निर्माण भएका घरहरु कम्पनीले बिक्री गरिरहेको जनाएको छ। कम्पनीले फेज-३ रामकोट र फेज-४ टौखेल (नागार्जुन) मा निर्माण गरिरहेको छ। यस्तै, कम्पनीले फेज-७ अन्तर्गत काठमाडौंको ठूलोभर्‍याङमा नयाँ परियोजना ल्याउने योजना बनाएको छ।

कम्पनीले परियोजना निर्माणलाई लक्षित गर्दै १ अर्ब रुपैयाँभन्दा बढी ऋणलाई रेटिङ पनि गराइसकेको छ। ७ करोड ८३ लाख रुपैयाँ दीर्घकालीन कर्जालाई एनपी बी र ९४ करोड ९२ लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ केयर रेटिङ्स नेपालले जारी गरेको छ।