६३ सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये ४१ वटाले दिएका छैनन् लाभांश, तर पनि आकर्षण

अन्जना सुवेदी
२०७९ माघ १८ गते ०८:५६ | Feb 1, 2023
६३ सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये ४१ वटाले दिएका छैनन् लाभांश, तर पनि आकर्षण

काठमाडौं। पछिल्लो समयमा लगानीकर्ता हाइड्रोपावर कम्पनीको सेयरमा आकर्षित भएका छन्। नेपाल स्टक एक्सचेन्जमा जलविद्युत क्षेत्रका ६३ कम्पनी सूचीकृत छन्।

Tata
GBIME
Nepal Life

योमध्ये ४१ कम्पनीले अहिलेसम्म पनि लगानीकर्तालाई प्रतिफल दिएका छैनन्। प्रतिफल नै नदिने कम्पनीमा लगानीकर्ता किन आकर्षित भइरहेका छन् ?

ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल छोटो समयमा नाफा कमाउन चाहने लगानीकर्ताको प्रवेश बढी हुने गरेको बताउँछन्। ‘पछिल्लो समयमा हाइड्रोपावरको सेयर मूल्य धेरै उतारचढाव आउने गरेको छ,’ उनले बिजमाण्डूसँग भने, ‘त्यही भएर छिटै नाफा कमाउने समूहले लगानी गर्दा जलविद्युत कम्पनीहरुको सेयरमा आकर्षण देखिएको हुनसक्छ।’

उनका अनुसार कम्पनीहरुले हकप्रद सेयर जारी गरेकाले समेत आकर्षण बढेको हो। लगानीकर्ताले हकप्रदलाई सकारात्मक लिएपनि यसले सेयर आपूर्ति ह्वात्तै बढाउँछ। जसकारण मूल्य समायोजनको नोक्सानका साथै भविष्यमा प्रतिफल वितरणको समय अझ लम्बिने सम्भावना हुन्छ।  

लगानीकर्ता तथा इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले छिटो नाफा कमाउन सक्ने भएकाले ट्रेडिङ गर्न रुचाउने लगानीकर्ताको आकर्षण जलविद्युतको सेयरमा बढेको बताए।

‘हाइड्रोपावर कम्पनीहरुमा चलखेल धेरै हुन्छ। यस्ता कम्पनीहरु बजार जानेकालाई ठिकै हुन्छ तर सर्वसाधारण लगानीकर्ताको लगानी फस्छ धेरै हाइड्रोपावरहरुको प्रति सेयर आम्दानी र नेटवर्थ धेरै कम छ,’ उनले भने, ‘लाभांश दिएको छैन र तत्कालै दर्जनौ कम्पनी लाभांशका लागि योग्य छैनन्। त्यसैले अहिलेका अधिकांश हाइड्रोपावर कम्पनी नयाँ तथा ट्रेडिङ नजानेका लगानीकर्ताहरुका लागि जोखिम हो।’

उनले बजार जानेका लगानीकर्ताले हाइड्रोबाट नाफा बुक गरेको देखेर पनि अरु लगानीकर्ता तानिएको हुनसक्ने बताए। नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले भविष्यका लागि लगानी गर्ने लगानीकर्ता हाइड्रोपावर क्षेत्रमा आकर्षित भएको बताए।

उनले भने,’कतिपय लगानीकर्ताले त्यस कम्पनीको फ्यूचर प्लान हेरेर पनि लगानी गरिरहेका हुनसक्छन्। लगानीकर्ताले ती कम्पनीहरुमा भविष्यमा रिटर्नको सम्भावना पनि देखेका हुन्छन्।’

पछिल्लो समय सेयर बजारमा सूचीकृत हुने कम्पनीहरुमा हाइड्रोपावर कम्पनी अधिक छन्। हाल दोस्रो बजारमा कारोबार गर्न मिल्ने जलविद्युत क्षेत्रका कम्पनी नै ६३ छन्। साथै प्राथमिक बजारमा अर्थात आइपीओ निष्कासनको चरणमा पनि थुप्रै कम्पनीहरु रहेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने धितोपत्र बजारमा बैंक तथा वित्तीय क्षेत्र र बीमा कम्पनीपछि दोस्रो ठुलो स्थान हाइड्रोपावर कम्पनीले ओगटेको छ। हाल पुँजी बजारमा जलविद्युत कम्पनीहरुको हिस्सा ११ प्रतिशत छ।

जलविद्युत परियोजना निर्माण गरेको ३० वर्षपछि सरकारलाई हस्तान्तरण गर्नुपर्ने कानूनी व्यवस्था छ। त्यसैले पनि हाइड्रोपावरमा भएको लगानीको अन्योलता कायमै छ।

टप टेन रिटर्न बेसका हाइड्रोपावर

सेयर बजारमा सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये केही कम्पनीहरुले लगानीकर्ताहरुलाई राम्रै प्रतिफल दिन्छन्। तथ्यांक अनुसार गत वर्षको नाफाबाट प्रतिफल वितरण गर्ने १६ जलविद्युत कम्पनी छन्।

त्यसमध्ये रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर मर्जरपछि बनेको रिडी पावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई सर्वाधिक लाभांश वितरण गरेको छ। कम्पनीले लगानीकर्तालाई कुल ४२ प्रतिशत लाभांश दिएको हो।

त्यस्तै कालिका पावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५.७८ प्रतिशत, चिलिमे हाइड्रोपावरले १५ प्रतिशत, बुटवल पावर कम्पनीले १२ प्रतिशत, माउन्टेन इनर्जी नेपाल, युनाइटेड इदि मार्दीले, अरुण कावेली पावर र रुरु जलविद्युत कम्पनीले १० प्रतिशत लाभांश वितरण गरेका छन्।