मासिक १० हजार रुपैयाँ तिर्दा पनि साउदीका नागरिकले हेर्न पाएनन् विश्वकप, किन भैरहेछ ‘ब्लक’?

बिजमाण्डू
२०७९ मंसिर ११ गते १२:४३ | Nov 27, 2022
मासिक १० हजार रुपैयाँ तिर्दा पनि साउदीका नागरिकले हेर्न पाएनन् विश्वकप, किन भैरहेछ ‘ब्लक’?

साउदी अरेबियामा आधिकारिक प्लाटफर्मबाटै प्रशारण भैरहेको विश्वकप प्रतियोगिता अवरुद्ध भएपछि साउदी नागरिक निराश भएका छन्।

Tata
GBIME
Nepal Life

साउदी अरेबियमा कतारी ब्रोडकास्टर बिइआईएन मिडिया ग्रुपले संचालन गरिरहेको टिओडी टिभीमा विश्वकप प्रशारण भैरहेको छ। आधिकारिक रुपमा विश्वकप प्रशारण गरिरहेको प्लाटफर्मबाट प्रशारण भैरहेको विश्वकप बिना कुनै जानकारी 'ब्लक' भएपछि फुटबल प्रेमीले राम्रोसँग प्रतियोगिता हेर्न नपाएको गुनासो गरेका हुन्।

टिओडी त्यही टेलिभिजन च्यानल हो जुन साउदी अरेबियामा केही वर्षदेखि प्रशारण प्रतिबन्धमा परेको थियो। कतार र साउदी अरेबिया बीच उत्पन्न राजनीतिक तनावका बीच प्रतिबन्ध लगाइएको उक्त टेलिभिजनले सन् २०२१ को अक्टोबरमा मात्रै पुन संचालनको अनुमति पाएको थियो।

साउदी अरेबियामा विश्वकप प्रशारण अवरुद्ध भएकोमा टेलिभिजन संचालक बिआईएन मिडिया ग्रुपले आफ्ना साझेदार तथा प्रयोगकर्ताहरुलाई सूचना जारी गरेको छ।

सूचनामा उसले भनेको छ- 'हामीले साउदी अरेबियामा विश्वकपको प्रशारण गर्न सकिरहेका छैनौं। फिफा विश्वकप कतार २०२२ को आधिकारिक स्ट्रिमिङ पार्टनर टिओडी डट टिभीको प्रशारण प्रभावित भैरहेको छ। तर यो समस्या हाम्रो नियन्त्रण बाहिरको भएकाले हाल यसमा हामी केही गर्न असमर्थ छौं। हामी शिघ्र थप जानकारी गराउने नै छौं।'

साउदी सरकारले भने उक्त च्यानलबाट प्रशारण भैरहेको विश्वकप अवरुद्ध भएको विषयमा केही प्रतिक्रिया जनाइसकेको छैन। यसलाई साउदी कतार सम्बन्धको प्रभावका रुपमा पनि लिइएको छ। दुई देशबीच लामो समय बिभिन्न राजनीतिक तनाव समेत रहेकाले यस 'ब्लक'लाई उक्त सम्बन्धसँग समेत जोडेर हेरिएको छ। यसलाई साउदी अरेबियाको नयाँ 'डिप्लोम्याटिक मुभ' हुनसक्ने विश्लेषण पनि भैरहेको छ। 

टिओडी टेलिभिजन मध्यपूर्व र उत्तर अफ्रिकाका बिभिन्न २४ देशहरुमा विश्वकप प्रशारण गर्ने आधिकारिक च्यानल हो।

केही प्रयोगकर्ताहरुले विश्वकप सुरु भएको दिन अर्थात नोभेम्बर २० तारिख देखि नै आफूहरुले यसको प्रशारण  राम्रोसँग हेर्न नपाएको बताएका छन्। उनीहरुका अनुसार उद्घाटन समारोहको आधाघण्टा अघिदेखि नै सबै प्रशारण बन्द भएको थियो।  

कतिपय प्रयोगकर्ताहरुले प्रशारण भैरहेकै समयमा 'इरर म्यासेज' देखा पर्ने र त्यसको १० मिनेटमै प्रशारण बन्द हुने समस्या भोगिरहेको बताएका छन्।

उक्त 'इरर म्यासेज'मा 'सरी, अनुरोध गरिएको पेजले संचार मन्त्रालयको नियमहरु भंग गरिरहेको छ।' भन्ने र त्यसको १० मिनेटभित्रै प्रशारण बन्द हुने गरेको प्रयोगकर्ताहरुले एएफपिसँगको कुराकानीमा बताए।

उनीहरुले विश्वकप फुटबल प्रशारण हेर्नका लागि उक्त टेलिभिजनलाई मासिक ३ सय रियाल तिरेको बताए। यो नेपाली १० हजार ७ सय रुपैयाँ पर्न आउँछ।  

बिआईएनले साउदी अरेबियामा २२ वटा विश्वकप म्याच सित्तैमा देखाउने समेत बताएको छ। उसले  यसअघि साउदी अरेबियाले अर्जेन्टिनालाई जितेको म्याच र शनिबार पोल्याण्डसँग हारेको म्याच पनि सित्तैमा प्रशारण गर्ने बताएको थियो। तर प्रशारण अवरुद्ध भएपछि फुटबलप्रेमीहरुमा चरम निराशा छाएको छ।

सन् २०१७ को जुनमा साउदी युवराज मोहम्मद बिन सलमानले कतारमाथि क्षेत्रिय प्रतिबन्ध लगाउने योजनाको नेतृत्व गरेका थिए । साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले बिभिन्न आरोपहरु लगाउँदै कतारमाथि प्रतिबन्धको सुरुवात गरेका थिए। कतारले आतंकवादीहरुलाई सघाएको तथा इरानसँग निकट सम्बन्ध राखेको आरोप कतारमाथि लगाइएपनि दोहाले उक्त आरोपहरुको निरन्तर खण्डन गर्दै आएको छ।

उक्त प्रतिबन्धकै समयमा बिआईएन मिडिया ग्रुप पनि साउदी अरेबियामा प्रतिबन्धमा परेको थियो। तर गत अक्टोबरमा रियादले उक्त प्रतिबन्ध हटाउने घोषणा गरेको थियो।