विश्वका ठूला टेक कम्पनीहरूले धमाधम कामदार कटौती थाले, आर्थिक मन्दीसँगै गुम्दैछ रोजगारी

बिजमाण्डू
२०७९ मंसिर १ गते ११:४५ | Nov 17, 2022
विश्वका ठूला टेक कम्पनीहरूले धमाधम कामदार कटौती थाले, आर्थिक मन्दीसँगै गुम्दैछ रोजगारी

काठमाडौं। केही अघि अमेजनले आफ्ना हजारौं कामदारहरु कटौती गर्ने योजना बनाएको कामबाट हटाइएका कर्मचारीहरूको लिंक्डइन पोष्टहरूबाट बाहिर आएको थियो। त्यसपछि अमेजनका डिभाइस वनर डेभ लिम्पले कामदारहरु कटौती गर्ने योजनाबारे बताउँदै चिन्ता व्यक्त गरेको थियो। 

Tata
GBIME
Nepal Life

टेक उद्योगमा आफ्नो प्रभुत्व जमाउन सफल ट्विटर, मेटा, कोइनबेस र स्न्याप जस्ता फर्महरूमा कार्यरत कामदारहरूले नयाँ अवसरहरू खोजिरहेको घोषणा समेत गरेका छन्। टेक रोजगार कटौती ट्र्याक गर्ने ल्येअफ डट फाई वेबसाइटका अनुसार विश्वव्यापी रूपमा टेक कम्मपनीहरुले १ लाख २० हजारभन्दा बढी कामदारहरूलाई कामबाट निकालेका छन्।  हालसम्म टेक कम्पनीमा काम गर्ने १ लाख २० हजार कामदारहरु बेरोजगार भैसकेको उक्त वेबसाइटको तथ्यांकले देखाउँछ। 

विभिन्न फर्महरूले विभिन्न कारणले कर्मचारी कटौती गर्छन् तर यो वर्ष भने ती सबै कम्पनीहरुको कामदार कटौतीको कारक एउटै छ।  र  त्यो हो आर्थिक मन्दी। कोरोना महामारीको समयमा हाम्रो जीवन अनलाइन तथा डिजिटल रुपमा विकास हुँदै गएको थियो। त्यही अनुसार मानिसहरु तथा कम्पनीहरु पनि डिजिटल रुपमा अपग्रेड गर्दै गएका थिए। त्यो समय त्यस्ता डिजिटल रुपमा अपग्रेड गर्ने टेक कम्पनीहरुको व्यवसायहरू बढ्दै गयो।

यसैका कारण मेटाले यस वर्षको पहिलो नौ महिनामा १५ हजारभन्दा बढी मानिसहरूलाई काममा राखेको थियो। तर हाल त्यसको विपरित हुँदै गएको छ। व्यापार घट्न थालेको छ। कम्पनीहरुले संचालन खर्च कम गर्न कामदारहरु कटौती गर्न थालेका छन्। स्टोर तथा रिटेलर शपहरु बन्द गर्न थालेका छन्। मेटाले मात्र १३ प्रतिशत कामदार कटौती गरिसकेको छ।

मन्दीले बजार परिवर्तन हुँदै

अनलाइन विज्ञापनहरू धेरै टेक कम्पनीहरूका लागि आम्दानीको मुख्य स्रोत हुन्। तर विज्ञापन व्यवसायका लागि यो समय ब्ल्याक डे जस्तै भएको छ। यिनीहरु आफै आर्थिक संकटबाट गुज्रिएका छन्। कम्पनीहरुले डोमिनेन्ट विज्ञापन अभ्यासहरूको बढ्दो विरोधको सामना गरिरहेका छन्। उदाहरणका लागि, एप्पलले मानिसहरूको अनलाइन गतिविधि ट्र्याक गर्न र त्यो डेटा विज्ञापनदाताहरूलाई बेच्न गाह्रो बनाएको छ।

साथै पछिल्लो समय विश्व अर्थव्यवस्था समस्यामा पर्दा धेरै कम्पनीहरूले आफ्नो अनलाइन विज्ञापन बजेट घटाएका छन्। वित्तीय प्रविधि क्षेत्रमा बढ्दो ब्याजदरले कम्पनीहरूलाई पनि मारमा परेको छ।

हालैका महिनाहरु धेरै ठूला टेक कम्पनीहरूका लागि आयको यो वास्तवमै निराशाजनक त्रैमासिक भएको पीपी फोरसाइटका प्रविधि विश्लेषक पाओलो पेस्केटोरले बताए। उनका अनुसार एप्पल जस्ता ठूला कम्पनीहरुले पनि खर्च कटौतीको लागि योजनाहरु बनाइरहेका छन्।

अमेजनले पनि आफ्नो कामदार कटौती गर्नुको कारण असामान्य र अनिश्चित समष्टिगत आर्थिक वातावरणलाई दिएको छ। 'हाम्रो वार्षिक सञ्चालन योजना समीक्षा प्रक्रियाको एक भागको रूपमा हामी सँधै हाम्रो प्रत्येक व्यवसायलाई हेर्छौं र परिवर्तन गर्नुपर्छ भन्ने विश्वास गर्छौं,' प्रवक्ता केली नान्टेलले भनिन्, 'सोही योजना अनुसार कामदार कटौती र संचालन खर्च कम गर्ने बाटो तिर अग्रसर छ। उपभोक्तालाई सेवा दिने विषयमा कसरी सहज वातावरण बन्छ भन्ने कुरालाई समेत कम्पनीले हेरिरहेको छ।'

 लागत घटाउन दबाब

पछिल्लो समय कम्पनीका लगानीकर्ताहरूले पनि  लागत घटाउन दबाब दिएका छन्। गुगल र युट्युबको माउ कम्पनी अल्फाबेटलाई लेखेको खुला पत्रमा सक्रिय लगानीकर्ता सर क्रिस्टोफर होनले फर्मलाई कामदार कटौती गरी भुक्तानी गर्न आग्रह गरेका थिए।

उनले पत्रमा अल्फाबेटले लागतको बारेमा थप अनुशासित हुनुपर्ने उल्लेख गरेका छन्। यसको सेल्फ-ड्राइभिङ कार कम्पनी वेमो जस्ता परियोजनाहरू समेत अहिले घाटामा चलिरहेका छन्।

एलन मस्कले हालै लगानी गरेको ट्विटरमा लागत घटाउने ठाउँ कहाँ छ भनेर खोजिरहेका छन्। नाफा कमाउने हो वा नयाँ प्रयोगकर्ताहरूलाई आकर्षित गर्न संघर्ष गर्ने हो भन्नेमा उनी निश्चित हुन सकेका छैनन्।  मस्कले कर्मचारीहरूलाई फुल टाइम काम गर्ने वा काम छोड्ने बिषयमा समयमै जानकारी दिन निर्देशन दिएका छन्।

प्राय सबै टेक उद्योग लागत वृद्धि गर्न सक्ने अवस्थामा छैनन्। तर जागिरबाट निकालिएका कामदारहरुले भने अर्को नयाँ अवसरका रुपमा स्टार्ट- अपहरु खडा गर्न सक्ने पनि विश्लेषकहरु बताउँछन्।