खजुरीको ब्राण्डको लोभलाग्दो सफलता, चापागाउँबाट काठमाडौं हुँदै विदेशसम्म फैलियो कारोबार  

बिजमाण्डू
२०७९ असोज १३ गते १३:४० | Sep 29, 2022
खजुरीको ब्राण्डको लोभलाग्दो सफलता, चापागाउँबाट काठमाडौं हुँदै विदेशसम्म फैलियो कारोबार  

काठमाडौं। पोलेको घाउ, अनि त्यसको डाह कस्तो हुन्छ ? आगलागीमा परेकालाई जतिको अरु कसलाई थाहा होला र ! पोलेर विक्षिप्त बनाएको छालालाई पुरानै अवस्थामा फर्काउन कठिन पर्छ।

Tata
GBIME
Nepal Life

कति त्यस्ता घाउहरू त भरिँदा पनि भरिदैनन्, पुरानो अवस्थामा कहिल्यै आउनै सक्दैनन्। आगलागीबाट कतिले ज्यान गुमाएका छन् भने कतिको घरगोठ र गरिखाने थलो नै सखाप भएको छ। यस्तै आगलागीको पीडाबाट नेपालको एक चर्चित ब्राण्ड 'खजुरीको'ले पनि गुज्रनुपर्‍यो।

१२ वर्ष अघि 'खजुरीको'को चापागाउँस्थित कारखाना नै सबै जलेको थियो। चापागाउँमा नै खजुरीकोको दोस्रो कारखाना बनिरहेको थियो तर उत्पादन सुरु भइसकेको थिएन।

विस. २०५२ सालदेखि नै पाउरोटी, बन, पफ, कुकिज र बिस्कुटको बजारमा राज गर्दै आएको खजुरीकोको लागि त्यो निकै कठिन समय थियो। एक स्थापित ब्राण्ड बनिसकेको खजुरीकोले झण्डै दुई महिना त केही उत्पादन नै गर्न पाएन। बजारमा एक उचाइमा पुगिसकेको खजुरीकोले फेरि शून्यबाट काम सुरु गर्नुपर्ने भयो। त्यो कठिन समयमा खजुरीकोलाई पुरानै अवस्थामा फर्काउन नेपाल इन्भेस्टमेन्ट बैंकले धेरै सहयोग गरेको कम्पनीका प्रबन्ध निर्देशक जगन्नाथ महर्जन सम्झन्छन्।

‘आगलागीको खबर पाउनेबित्तिकै हामीलाई बैंकले फोन गरेर तुरुन्त मिटिङ राख्नु भयो,' उनले बिगत सम्झिए, 'खजुरीकोलाई स्थापना गर्ने समयमा जस्तै यसलाई फेरि अघि बढाउन तत्काल ऋण दिनुभयो।’

आगलागीको तीन-चार महिनाभित्र नै खजुरीकोले उत्पादन सुरु गरिहाल्यो। तर त्यसपछि खजुरीको पाउरोटी भने उपभोक्ताहरूले चाख्न पाएका छैनन्। ‘महिना दिनसम्म हाम्रो उत्पादन बन्द हुँदा पनि बजार र उपभोक्ताहरू खजुरीको बिस्कुट, पफको प्रतीक्षामा थिए। त्यस बखत बजार तथा उपभोक्ताहरू माझ हामीले गुडविल कमाएको रहेछौं भन्ने महसुस भयो।’- उनले भने।

आगलागीको त्यो प्रकोपबाट माथि उठेर फेरि खजुरीको बिस्कुट, पफ र कुकिजको अग्रणी ब्राण्ड बन्न सफल भएको छ। करिब तीन दशकदेखि चियाको साथी बन्दै आएको खजुरीकोको सुरुवात सन् २०४१ सालमा जगन्नाथका बुवाले चापागाउँस्थित घरमै पाउरोटी र बिस्कुट बनाएर सुरु भएको थियो।

त्यो समयमा चापागाउँ गाउँ नै थियो, कच्ची बाटो, बत्ती, ग्यास चुल्हो, टेलिफोनको लाइन पनि पुगेको थिएन। उनी विगतलाई सम्झिन्छन्, ‘हाम्रो बुबाले हातैले पिठो मुसेर, भट्टीमा दाउरा बालेर पाउरोटी, बन , दुनोट, केक बनाएर बेच्नु हुन्थ्यो। सुरुमा त आफ्नै घरमा बनाएर घर कै बाहिर उत्पादनहरू राखेर बेच्ने गर्नु हुन्थ्यो।’

जगन्नाथ सानैदेखि आफ्नो बुवालाई काममा सघाउने गर्थे। घरमा बनेको पाउरोटी, बनहरू लिएर चापागाउँ आसपासका पसल-पसलहरू डुलेर बेच्ने पनि गर्थे। आफ्नो पढाई सकेपछि उनले नै बुबाको घरायसी उद्योगलाई ब्राण्डको रुपमा विस्तार गरे।

सन् २०५२ मा घरेलु उद्योगका रूपमा औद्योगिक क्षेत्रबाट आधिकारिक यात्रा सुरु गरेको खजुरीकोको व्यवस्थापनको जिम्मेवारी पाएपछि जगन्नाथले खजुरीकोको सानो घरायसी उद्योगलाई आधुनिक र ठूलो बनाउने सपना देखे।

‘मलाई हाम्रो उत्पादनको गुणस्तर र स्वादमा विश्वास थियो। बजारमा पनि हाम्रो उत्पादनको बिक्री राम्रै हुन्थ्यो। यही विश्वासले नै हामीलाई खजुरीको होम बेकरीलाई उद्योगको रुपमा स्थापना गर्न हिम्मत दियो।’- उनले भने।

आफ्नो सपना पूरा गर्न ठूलो रकम चाहिन्छ भन्ने सत्यदेखि उनी पर थिएनन्। त्यसैले लगानी जुटाउन उनी व्यवसायको प्रस्ताव लिएर बैंक पुगे। त्यो बेलामा बैंकहरू पनि धेरै थिएनन्। भएका अधिकांश बैंकले पनि उनलाई रिङरोड बाहिर लगानी गर्दैन भनेर फर्काइ पनि दिए। तर पनि उनी निरन्तर लागिरहे।

अन्तत: उनलाई नेपाल इन्डोस्वेज बैंक (हाल नेपाल इन्भेस्टमेन्ट बैंक)ले २५ लाख रूपैयाँ ऋण सहयोग गर्‍यो। उनी भन्छन्, ‘मैले बैंक समक्ष आफ्नो व्यवसायको प्रस्ताव राखें। वहाँहरुले आएर उद्योगको स्थलगत अध्ययन गर्नुभयो। सायद उहाँहरूलाई केही चित्तबुझ्दो लागेर होला लगेर होला लोन पास गरिदिनु भयो।’

त्यसपछि उनको सपनाले उडान पायो। त्यसैबाट उनले चापागाउँको आफ्नै जग्गामा नै उद्योगको लागि भवन बनाए। भारत तथा चीनबाट बेकरीका मेसिनहरू ल्याएर फिट गरेपछि आधुनिक तवरले पाउरोटी र बनको उत्पादन सुरु भयो।

मेसिनबाट बनेको पाउरोटी र बनको गुणस्तर निकै राम्रो निस्क्यो, अनि मिठो पनि। फिनिसिङ  एकदम 'निट' थियो। खजुरीकोको चर्चा चापागाउँ आसपासको ठाउँबाट पाटन बजार हुँदै बिस्तारै  काठमाडौंमा पनि फैलिँदै गयो।

यसका लागि उनले पाउरोटीको प्याकेजिङ पनि परिवर्तन गरे। उनी भन्छन्, ‘त्यतिबेला पाउरोटी व्याक्स पेपरमा नदेखिने गरी प्याकिङ गरिन्थ्यो। हाम्रो पाउरोटी निकै राम्रो देखिन्थ्यो। यतिको राम्रो उत्पादन त उपभोक्ताले देख्नुपर्छ भन्ने लाग्यो र हामीले प्लास्टिकले प्याक गर्न सुरु गर्‍यौं।’

यो आइडियाले काम पनि गर्‍यो। गाउँमा उत्पादन भएको पाउरोटी ललितपुर तथा काठमाडौं सहरहरूमा मज्जाले बिक्री हुन थाल्यो। त्यो समयमा नै उनले सामान गाडीमा हालेर, साइकल ब्वाइहरू राखेर र वितरक समेत नियुक्त गरेर हरेक गल्ली गल्ली, गाउँ गाउँमा खजुरीकोको उत्पादनहरू पुर्‍याउन थाले।

खजुरीकोको उद्योग सुरु भएको एक वर्षमा नै चौबिसै घण्टा उत्पादन गर्न थाल्यो। ग्राहकहरूको माग दिन प्रतिदिन बढ्दै थियो, मागलाई सम्बोधन गर्दै जगन्नाथ आफ्नो उद्योग र उत्पादन विस्तार गर्न अनवरत लागिरहे। जम्मा दुई-तीनजना कामदारबाट सुरु भएको कम्पनीमा एक सय जनाभन्दा बढी कामदारहरु जोडिन पुगे।

चापागाउँको दुईवटा प्रोडक्सन युनिटले पनि खजुरीको बिस्कुटको माग धान्न हम्मे हम्मे परेपछि उनले बिसं २०६२ मा चितवनमा खजुरीकोको नयाँ प्लान्ट स्थापना गरे। ‘त्यहाँ पहिला चुरोट फ्याक्ट्री थियो। जग्गा र भवन पनि थियो। हाम्रो बजेट र आवश्यकता अनुकूल भएर हामीले चितवनमा नयाँ प्रोडक्सन प्लान्ट स्थापना गर्‍यौं,’ उनले भने।

बिसं २०६५ सम्म आउँदा खजुरीकोले हेटौंडामा आफ्नो उद्योग बिस्तार गर्‍यो। व्यवसायले फड्को मार्दै थियो। हाल खजुरीकोले दुई प्रकारको पफ, बिस्कुटमा भिटामिल्क, कोकोनिको, चोकोचोको र ग्लुकोज, कुकिजमा पिनट, बटर, कोकोनट, आँटाजस्ता विविध प्रकार अनि चेस बोर्ड शैलीको कुकिज र तिल हालेको पफ उत्पादन गर्दै आएको छ।

हाल १५ सयभन्दा बढी कमर्चारी आबद्ध कम्पनीमा अधिकांश महिला कर्मचारीहरू छन्। उनी यसको कारणहरू खुलाउँछन्, ‘हामीले खजुरीको सुरु गर्दा चापागाउँमा धेरै गलैंचा उद्योगहरू थिए। त्यहाँ काम गर्ने अधिकांश महिलाहरू नै हुन्थे।’

त्यतिखेर समाज अहिलेको जस्तो थिएन। सचेतनाको कमी थियो। केटाहरू स्कुल पढ्न जान्थे भने धेरैजसो केटी गलैंचा बुन्ने काममा थिए। गलैंचा उद्योगमा काम गर्नेहरुले खाजामा खजुरीको पाउरोटी र हलुवा खाने गरेको जगन्नाथ सम्झन्छन्।

समयक्रमसँगै गलैंचा उद्योगहरू बन्द हुँदै जाँदा त्यहाँ काम गर्ने महिलाहरु बेरोजगार हुन थाले। त्यसअघिसम्म खजुरीकोमा पुरुषहरूले नै पाउरोटी, बन लगायतका उत्पादनहरू बनाउने गर्थे। खाद्यान्न उद्योगमा सबैभन्दा महत्त्वपूर्ण भनेको सरसफाइ हो। ‘यो कुरामा स्वभावले नै महिलाहरूमा बढी हुन्छ। हामीले जागिर गुमाएका तिनै महिलाहरूलाई खजुरिकोमा आबद्ध गर्न थाल्यौं। यो एउटा ट्रायलको रुपमा सुरु भएको थियो।’- उनले भने।

महिलाहरूको लगनशीलता, सरसफाइ, कामको फिनिसिङ सबैले खजुरीकोलाई यस्तो प्रभाव पार्‍यो कि बिस्तारै खजुरीकोमा महिला कर्मचारीहरूको बाहुल्यता बढ्दै गयो।

उनले भने -'हामीले महिला तथा स्थानीयलाई रोजगार दिन बढी पहल गर्छौं। हामीले सुरुमा महिलाहरू सशक्तिकरण गर्दा उनीहरुलाई पढ्न लेख्न समेत आउँदैनथ्यो। हामीले पढ्न लेख्नदेखि मेसिन संचालन गर्न सबै सिकायौं।'

उनका अनुसार हाल कम्पनीमा कलेज पढ्दै गरेका धेरै विद्यार्थीहरु पनि आबद्ध छन्।

खजुरीकोको सफलता पछाडि जगन्नाथ खजुरीकोको उत्पादनको गुणस्तर, स्वाद मूल्य र वितरण प्रणाली सबै पक्षको हात रहेको मान्दछन्। एक वर्षदेखि खजुरीकोले आफ्नो ट्रेडिङ बिजनेसलाई फैलाउँदा खजुरीको नौवटा 'चेन स्टोर' पनि सञ्चालन गरेको छ। यस स्टोरमा खजुरीकोको उत्पादनसहित दैनिक उपयोग हुने तीनसयभन्दा बढी सामानहरु उपलब्ध छ।

खजुरीकोको व्यवसाय अहिले जगन्नाथ सहित उनका चार दाजुभाइ तथा छोराछोरीहरू मिलेर सम्हालिरहेका छन्। चापागाउँबाट सुरु भएको खजुरीकोको यात्रा काठमाडौं उपत्यकाभित्र मात्र सीमित रहेन। अहिले यो ब्राण्डका सामानहरु नेपालको कुनाकाप्चादेखि विदेशमा समेत जान थालिसकेको छ। हाल खजुरी अमेरिका, जापान, अस्ट्रेलिया लगायतका देशमा निर्यात हुने जगन्नाथ बताउँछन्।