तीज नजिकिँदै गर्दा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, माग बढ्दा ग्राहक धान्नै हम्मेहम्मे

बिजमाण्डू
२०७९ भदौ २ गते ११:२७ | Aug 18, 2022
तीज नजिकिँदै गर्दा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, माग बढ्दा ग्राहक धान्नै हम्मेहम्मे

काठमाडौं। सोमबारबाट घट्न थालेको सुनचाँदीको मूल्य बिहीबार पनि घटेको छ। बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ। बुधबार सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर बिहीबार एक हजार १९५ रुपैयाँ कायम गरिएको छ। बुधबार चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो। 

यसअघि सोमबार सुनको मूल्यमा ४०० रुपैयाँ, मंगलबार ७०० रुपैयाँ र बुधबार ५०० रुपैयाँले घटेको थियो। बिहीबार तीन सय रुपैयाँले घट्दै चार दिनमा सुनको मूल्य एक तोलामै १९०० रुपैयाँले घटिसकेको छ।  

तीज नजिकिँदा सुनको मूल्य बढ्ने गरेकोमा अहिले भने घट्ने क्रम निरन्तर देखिएको छ। सुन पसलहरुमा गहना किन्नेको तछाड मछाड भिड हुने गर्छ। झन् सुनचाँदीको मूल्य निरन्तर घटेपछि यो वर्ष पनि तीज नजिकिएसँगै पसलहरुमा ग्राहकको भिड बढेको छ। अझ आपूर्ति कम हुँदा सुनको माग धान्न भने हम्मेहम्मे परिरहेको व्यापारीहरुले बताएका छन्। 

नेपालमा अन्तर्राष्ट्रिय बजारमा कायम भएको मूल्यका आधारमा सुनचाँदीको मूल्य निर्धारण हुन्छ। अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य सस्तो भएका कारण मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताएका छन्। 

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १७६३.२१ डलर र चाँदी प्रतिऔँस १९.७ डलर हाराहारीमा कारोबार भइरहेको छ। 
हाल नेपालमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग छ। तर आपूर्ति भने दैनिक १० किलो मात्र हुने गर्छ। बजारमा सुनको माग बढेकाले माग धान्न मुस्किल भएको व्यवसायीहरुको भनाइ छ। सुन आपूर्तिको कोटा बढाउन आफूहरुले माग गरिरहेको महासंघका अध्यक्ष बताउँछन्।

'अहिले दैनिक १० किलो सुन आउँछ, सिजन सुरु भएकाले दैनिक २५ देखि ३० किलोसम्म सुनको माग हुन्छ। अहिले स्टक तथा ग्राहकहरुले बेच्न ल्याएको सुनले जसोतसो माग धानेका छौं,' शाक्यले भने,'राष्ट्र बैंकले कोटा नबढाए तस्करी भएका सुनको कारोबार बढ्न सक्ने सम्भावना छ।'

गत वर्ष सिजनको समयमा सुनको माग दैनिक ५० किलोसम्म भएको महासंघले जनाएको छ।