भाडा आकासिएपछि हवाई उडानमा यात्रा गर्ने घटे, वायुसेवा कम्पनीले उडान घटाउँदै

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७९ भदौ २ गते ०९:०० | Aug 18, 2022
भाडा आकासिएपछि हवाई उडानमा यात्रा गर्ने घटे, वायुसेवा कम्पनीले उडान घटाउँदै

काठमाडौं। हवाई भाडादर वृद्धि भएपछि आन्तरिक उडानमा यात्रु संख्या ठूलो मात्रामा घटेको छ। हवाई इन्धनको मूल्य बढेसँगै भाडा पनि आकासिएको छ। त्यही भएर यात्रु दैनिक औसतमा ४ हजारले घटेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकमा देखिन्छ।

Tata
GBIME
Nepal Life

विमानस्थल कार्यालयका अनुसार अहिले दैनिक १२ हजार यात्रु आन्तरिक उडानमा ओहोरदोहोर गरेका छन्। विगतमा दैनिक १६ हजार यात्रु ओहोरदोहोर गरेका थिए।

अहिले धनगढी तर्फको एकतर्फी उडान भाडादर नै अधिकतम १७ हजार रुपैयाँ पुगेको छ। काठमाडौं- मुम्बई रुटको भाडा पनि यतिनै छ। धनगढी मात्रै होइन अन्य गन्तब्यको भाडा पनि धेरै छ। त्यही भएर अहिले जहाजमा यात्रा गर्ने कम भएका छन्।अहिले दैनिक उडान नै १ सय २३ वटामा सीमित भएको छ। विगतमा १ सय ३४ वटासम्म उडान हुन्थ्यो।

बुद्ध एयरका बिक्री तथा बजार निर्देशक यात्रुको चाप कम भएको स्वीकार गरे। उनका अनुसार बुद्धबाट दैनिक ६ हजार यात्रुले यात्रा गरेका छन्। उनले हवाई भाडा बढेकै कारण यात्रुको संख्या कम भएको बताउँदै उडान संख्या पनि कम रहेको जानकारी दिए। यती एयरले यात्रु कम भएपछि उडान संख्या घटाएको छ।

कम्पनीका प्रवक्ता सुदर्शन वर्तौलाले यात्रु कम भएकाले वायुसेवाले आपसी समझदारीमा फ्लाइट मर्ज गरिरहेको बताए। उनले यात्रु घटेपनि भाडामा अस्वस्थ प्रतिस्पर्धा भने नरहेको जानकारी दिए। उनका अनुसार आफ्नो कम्पनीले २१ वटा मात्रै उडान गर्दै आएको छ। यतीले दैनिक २८ उडान गर्थ्यो। वर्तौलाले चाडपर्व सुरु भएकाले यात्रु बढ्ने अपेक्षा गर्दै सेप्टेम्बर १५ देखि चाप बढ्ने अनुमान गरे।

श्री एयरलाइन्सले पनि यात्रु कम भएको जनाएको छ। श्री एयरलाइन्सले अकुपेन्सी ९० प्रतिशत भन्दा कम रहेको जानकारी दिएको छ। कम्पनीका प्रवक्ता अनिल मानन्धरले हवाई भाडा आकासिएकोले यात्रु कम भएको बताउँदै उडान नै रद्द गर्नुपर्ने अवस्था आएको जानकारी दिए। उनका अनुसार विगतमा बसमा यात्रा गर्ने हवाईमा आएका थिए। अहिले फेरि हवाई यात्राबाट बसयात्रा गर्ने बढेको हुनसक्ने मानन्धरले बताए।

कम्पनीले दैनिक १७ वटा उडान गर्दै आएको छ। पछिल्लो समय बुद्ध, यती, श्री, सौर्य, गुण लगायत विभिन्न वायुसेवा कम्पनीको दुई तर्फी उडान क्रमशः १४८, ४२,३४, १०, ८ उडान अवतरण हुँदै आएको त्रिभुवन विमानस्थलले जनाएको छ।

शनिबारको लागि निर्धारण गरिएको भाडादर 

साभार: इ-सेवा

उडान गन्तब्य

न्यूनतम-अधिकतम भाडादर

काठमाडौं-विराटनगर

४५००/–१०२०५/-

काठमाडौं-धनगढी

७४८५/–१७०२५/-

काठमाडौं-पोखरा

३९००/–६९८५/-

काठमाडौं-जनकपुर

३१००/–५८६०/-

काठमाडौं-नेपालगञ्ज

५८५०/–१३९८०/-

काठमाडौं-तुम्लिङटार

७५४०/–८२०५/-

काठमाडौं-भरतपुर

४३९०-/-४९९०/-

काठमाडौं-भैरहवा

४२००/–८६७५/-