हवाई उडानको चाप व्यवस्थापन गर्न हिथ्रो एयरपोर्टले लम्ब्यायो अवधि, अब अझै अक्टोबरसम्म

बिजमाण्डू
२०७९ भदौ १ गते ११:४९ | Aug 17, 2022
हवाई उडानको चाप व्यवस्थापन गर्न हिथ्रो एयरपोर्टले लम्ब्यायो अवधि, अब अझै अक्टोबरसम्म

काठमाडौं। संसारकै अति व्यस्त विमानस्थलमा पर्ने लन्डनको हिथ्रो विमानस्थलले हवाई उडानको चाप व्यवस्थापनका लागि उडान संख्या कटौती अवधि अझै डेढ महिना लम्ब्याएको छ।  

Tata
GBIME
Nepal Life

विमानस्थलले विभिन्न वायुसेवा कम्पनीको उडान कटौती अवधि बढाएको हो। आउँदो अक्टोबरको अन्तिमसम्मका लागि उडान तालिका कटौती अवधि थपिएको विमानस्थल व्यवस्थापनले जनाएको छ। 

गत जुलाई दोस्रो साताबाट लागू गरेको प्रावधान आउँदो सेप्टेम्बर ११ सम्म लागू गर्ने भनिएको थियो। एयरपोर्टले एयर ट्राफिक कन्जेसन नियन्त्रणमा नआएको भन्दै थप डेढ महिना समय थपेको हो।

'हाम्रो मुख्य उद्देश्य यात्रुलाई विश्वसनीय सेवा दिनु हो। दैनिक हुँदै आएका उडान प्रभावकारी बनाउनका लागि हामीले जुलाइबाट सुरु गरेको प्रावधानले केही सकारात्मक प्रभाव देखाइसकेको छ,' एयरपोर्ट कमर्सियल चिफ रोज बेकरले भनेका छन्, 'उडान कटौती लामो अवधिसम्म रहने छैन।'

यो प्रावधान लागू भएसँगै यात्रुको उडान-अवतरण समयमै हुँदै आएको विमानस्थलले जनाएको छ। विमानस्थलका अनुसार विगतमा झेलिँदै आइएको उडान रद्द, उडान डिले, ब्यागेज संकलनमा लाग्दै आएको समय लगायत समस्या नियन्त्रणमा आइरहेको छ।

पछिल्लो समय ८८ प्रतिशत यात्रुले २० मिनेटमै सेक्युरिटी क्लियर गर्दै आएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलले व्यवस्थापन सुदृढ पार्न १३ सय नयाँ जनशक्ति भर्ती गरिसकेको छ।

विमानस्थलले छिटै दैनिक एक लाख यात्रुलाई सेवा दिने तयारी रहेको जनाएको छ।