पूर्वको धार्मिक पर्यटनमा एक नेपालीको खर्च ११ हजार ८००, छैन पूर्वाधार, कोभिडले थिलथिलो

बिजमाण्डू
२०७९ असार १५ गते ११:०७ | Jun 29, 2022
पूर्वको धार्मिक पर्यटनमा एक नेपालीको खर्च ११ हजार ८००, छैन पूर्वाधार, कोभिडले थिलथिलो

काठमाडौं। प्रदेश नम्बर १ मा रहेका धार्मिकस्थलको भ्रमणमा प्रति पर्यटक ११ हजार ८०० रुपैयाँ खर्च हुने गरेको एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार, उनीहरुको भ्रमण अवधि साढे २ दिन हुने गरेको छ।

Tata
GBIME
Nepal Life

अधिकांश पर्यटकले मुख्य धार्मिकस्थल बाहेक वरपरका स्थानमा भ्रमण नगरेको र भ्रमण गर्ने इच्छा समेत नराख्ने गरेको पाइएको छ।

धार्मिकस्थलको भ्रमणमा जाने पर्यटकको कुल खर्चमध्ये मुख्य खर्च यातायातमा हुने गरेको देखिएको छ। सार्वजनिक, निजी तथा रिजर्भका सवारी साधनबाट भ्रमणमा जाने पर्यटकको संख्या समान रहेको पाइएको छ।

प्रदेश नं. १ मा रहेका धार्मिकस्थलहरुको भ्रमण गर्दा पर्यटकले असोज, कात्तिक तथा चैत महिनालाई अन्य महिनाको तुलनामा बढी उपयुक्त महिनाको रुपमा लिएको पाइएको छ।

धार्मिकस्थल वरपर रहेका पूजा सामाग्री, उपहार तथा हस्तकला सामाग्रीको व्यापार गर्ने व्यवसायीको औसत ५ जनाको परिवार यस व्यवसायमा निर्भर रहेको देखिएको छ। कुल लगानी वार्षिक ७ लाख ३१ हजार रुपैयाँ तथा बिक्री आय वार्षिक १५ लाख ८४ हजार रुपैयाँ रहेको यस व्यवसायको औसत नाफा २८.४ प्रतिशत रहेको पाइएको छ।

धार्मिकस्थल वरपर रहेका होटलहरुमध्ये विगत १० वर्ष अवधिदेखि सञ्चालनमा रहेका होटलले प्रवाह गर्ने सेवा सुविधा आधुनिक तथा पर्यटकस्तरीय रहेको पाइएको छ।

धार्मिकस्थल वरपरमा रहेका होटलले सेवा प्रदान गरेवापत प्राप्त गर्ने अधिकांश भुक्तानी नगद मै हुने गरेको पाइएको छ।

आधुनिक भुक्तानीका माध्यमहरु क्युबर कोड, इ-वालेट, कनेक्ट आइपीएस, मोबाइल बैंकिङको प्रयोग नगन्य रहेको पाइएको छ।

धार्मिकस्थलसम्म वा त्यो स्थलमार्ग भएर सञ्चालन गर्ने ९० प्रतिशत यातायात व्यवसायी यस व्यवसायबाट प्राप्त हुने आयमा पूर्ण रुपमा निर्भर रहेको पाइएको छ।

धार्मिकस्थलसम्म वा स्थलको बाटो भएर सञ्चालन भएका सवारी साधनले वार्षिक १६ पटकसम्म रिजर्भ जाने गरेको छ।

सवारी साधनको स्वामित्व व्यवसाय सञ्चालन गर्ने वास्तविक व्यवसायीको नहुँदा बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने सुविधा तथा सहुलियत वास्तविक सवारी सञ्चालकले प्राप्त गर्न नसकेको देखिएको छ।

धार्मिकस्थल वरपर रहेका पूजा सामाग्री, उपहार, हस्तकलाको व्यापार गर्ने व्यवसायीहरु, यातायात व्यवसायी तथा पर्यटकस्तरीय होटल व्यवसायीहरु व्यवसायको क्षमता तथा सुविधा विस्तार नगरी यथास्थितिमा व्यवसाय सञ्चालन गर्ने योजनामा रहेको पाइएको छ।

महामारीको प्रभाव पूजा सामाग्री व्यवसायमा हालसम्म पनि कायम रहेको देखिएको छ। बन्दाबन्दी तथा लकडाउन हुनु पूर्वको बिक्री आयको तुलनामा कोभिडको दोस्रो लहर पश्चातको बिक्री आय १२.९ प्रतिशतले कमी रहेको पाइएको छ।

यद्यपि, पूजा सामाग्री व्यवसाय कोभिड-१९ महामारीका कारण बन्द हुने स्थितिमा नरहेको देखिएको छ।

कोभिड-१९ बाट अति प्रभावित क्षेत्रको रूपमा रहेको होटल व्यवसायको कारोबार बन्दाबन्दी पूर्वको तुलनामा कोभिड-१९ को दोस्रो लहर पश्चात् २७६ प्रतिशतले कमी भएको देखिएको छ। यद्यपि, धार्मिकस्थलमा रहेका होटल व्यवसाय बन्द हुने अवस्थामा रहेको देखिदैन।

धार्मिकस्थल वरपर रहेका होटलले ५ जनाका दरले रोजगारी दिएकोमा कोभिड-१९ को दोस्रो लहरपछि ३ जनालाई मात्र रोजगारी प्रदान गरेको पाइएको छ।

कोभिड-१९ महामारी अवधिमा नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले घोषणा गरेका सहुलियत तथा सुविधा प्राप्त गर्ने यातायात व्यवसायी ५.० प्रतिशत मात्र रहेको पाइएको छ।

अधिकांश यातायात व्यवसायीलाई यस्तो सुविधाका बारेमा जानकारी नभएको देखिएको छ। कोभिड महामारी अघिको तुलनामा दोस्रो लहरपछि यातायात व्यवसायको आय १३.५ प्रतिशतले कमी भएको पाइएको छ।

समग्र धार्मिक पर्यटनसँग सम्बन्धित क्षेत्रहरु : पूजा सामाग्री, उपहार तथा हस्तकला, यातायात, होटल व्यवसायको आय, मुनाफा र सिर्जना गरेको रोजगारी कोभिड-१९ महामारी सुरु हुनु पूर्वको अवस्थामा पूर्ण रुपमा फर्कि नसकेको र महामारीको प्रभाव हालसम्म पनि कायम रहेको देखिएको छ।

सुधारका लागि राष्ट्र बैंकको सुझाव

अधिकांश पर्यटकहरुले धार्मिकस्थलको भ्रमण गर्दा पारिवारिक तथा समूहगत रुपमा गर्ने भएकाले स्थानीय होटलले प्रवाह गर्ने सेवाको प्याकेज पनि सामूहिक तथा पारिवारिक भ्रमणलाई अनुकूल हुने गरी बनाउनुपर्ने राष्ट्र बैंकले सुझाव दिएको छ।

धार्मिक पर्यटकलाई आकर्षित गर्न होटलहरुले पर्यटकको चाहना अनुसार बस्न तथा आफैं पकाएर खान चाहनेहरुलाई सुविधा उपलब्ध गराउन सके उचित हुने राष्ट्र बैंकको बुझाइ छ।

धार्मिकस्थल भ्रमण गर्ने पर्यटकको बढ्दो संख्यालाई दृष्टिगत गरी सम्बन्धित वस्तु तथा सेवाको स्थानीयस्तरमा उत्पादन गर्दै उद्यमशीलता प्रवर्द्धन गर्न सकिन्छ। यो माध्यमबाट स्वरोजगार र आत्मनिर्भरताको विकास गरी आर्थिक तथा सामाजिकस्तर उठाउन सकिने केन्द्रीय बैंकको सुझाव छ।

सम्बन्धित सरोकारवाला निकायहरुले होटल तथा अन्य व्यवसाय सञ्चालन गर्नका लागि अत्यावश्यक मानिएका उपभोग्य पानी, बिजुली तथा अन्य पूर्वाधारहरुको उचित व्यवस्था समन्वय गर्न स्थानीय तहले नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्ने राष्ट्र बैंकको बुझाइ छ।

१५ वर्षभन्दा बढी अवधिदेखि सञ्चालनमा रहेका होटलहरुले दिने सेवा परम्परागत प्रकृतिका छन्। पर्यटकलाई आकर्षित गर्न तथा उनीहरुले गर्ने दैनिक औसत खर्चलाई वृद्धि गर्नका लागि सेवाको विविधिकरण तथा आधुनिकीकरणमा जोड दिनुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ।

‘होटलले प्रदान गर्ने सेवा तथा सुविधाको बारेमा लक्षित पर्यटक (आन्तरिक र वाह्य) सम्म सूचना तथा जानकारी प्रवाह गर्न इन्टरनेट लगायत अन्य डिजिटल प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने जसले गर्दा एकातर्फ पर्यटक संख्या तथा आय बढ्ने देखिन्छ भने अर्कोतर्फ ग्राहकले सहज तरिकाले बुकिङ गर्न पाँउदा धार्मिक यात्रा अझ सहज हुने देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ।

धार्मिकस्थलमा पर्यटकहरु धार्मिक उद्देश्यका लागि मात्र नभई प्राकृतिक दृश्यावलोकन, सांस्कृतिक सम्पदाको अवलोकन, पदयात्रा, मनोरञ्जनात्मक क्रियाकलाप आदिका लागि पनि भ्रमण गर्ने भएकाले उक्त स्थलहरुको समग्र विकासका लागि छुट्टै गुरुयोजना बनाउनुपर्ने केन्द्रीय बैंकले भनेको छ।

मन्दिरमा दान दक्षिणा गर्न, धार्मिकस्थलमा रहेका होटल तथा स्थानीय व्यापारको भुक्तानीका लागि आधुनिक भुक्तानीका साधनहरु जस्तै. इ-वालेट, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा अन्य डिजिटल भुक्तानीका माध्यमको प्रयोग बढाउनुपर्ने राष्ट्र बैंकले सुझाव दिएको छ।

धार्मिकस्थल वरपरका पूजा सामाग्री व्यवसाय अनौपचारिक क्षेत्रको रुपमा मात्र रहेको तथा वित्तीय साधनको परिचालनबाट बञ्चित रहेको परिप्रेक्ष्यमा उक्त क्षेत्रलाई औपचारिक क्षेत्रको रुपमा विकास गर्नका लागि व्यवसाय दर्ता गरी नियमनको दायरामा ल्याई वित्तीय सेवा उपभोग गर्न सक्ने वातावरण बनाउनुपर्ने उसले भनेको छ।

जीर्ण तथा कमजोर गुणस्तरको सडक पूर्वाधारका कारण धार्मिक पर्यटकीयस्थल मुख्य गन्तव्य वा मार्ग भएर सञ्चालन हुने यातायात का साधनको इन्धन, मर्मत तथा सम्भार बापतको सञ्चालन खर्च अधिक हुने गरेको तथा पर्यटकको यात्रा समेत कष्टकर हुने हुँदा सहज र सुविधायुक्त यात्राकालागि बाह्र महिना यातायातका साधन सञ्चालन गर्न सकिने गरी मुख्य राजमार्गबाट धार्मिकस्थलसम्मको पहुँच मार्गको नियमित मर्मत सम्भार तथा स्तरोन्नती गर्न सम्बन्धीत निकायले ध्यान दिनुपर्ने राष्ट्र बैंकले सुझाबमा उल्लेख गरेको छ।

एउटै धार्मिकस्थलमा एक भन्दा बढी धमावलम्वीको आस्था तथा विश्वास जोडिएका कारण हालसम्म कायम रहेको धार्मिक सहिष्णुतालाई अझ मजबुत बनाउन स्थानीय तह तथा मन्दिर व्यवस्थापन समितिले दीर्घकालीन सोचका साथ विशेष पहल तथा विभिन्न समन्वयात्मक कार्यक्रम मार्फत परिपूरक सम्बन्ध स्थापना गर्न भूमिका निर्वाह गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

धार्मिकस्थलको भ्रमण गर्न चाहने विदेशी पर्यटकलाई आवश्यक शान्ति सुरक्षाको प्रत्याभूति गर्ने, गुणस्तरीय, विश्वसनीय र सहजताका साथ उपलब्ध हुने हवाई/सडक यातायातका साधनको उपलब्धताका सम्बन्धमा पर्यटन व्यवसायीले डिजिटल विज्ञापनमा जोड दिनुपर्ने राष्ट्र बैंकले सुझाव दिएको छ।

पहाडी क्षेत्रमा विभिन्न कारणले बन्द भएका विमानस्थलहरु चालु गरी पर्यटकको आवागमनलाई सहज बनाउनुपर्ने पनि सुझाव छ।

धार्मिकस्थल रहेका स्थानीय तथा प्रदेश सरकारले गैर आवासीय नेपालीसँग सहकार्य गरी हिन्दु तथा बौद्ध धर्मसँग सम्बन्धित ऐतिहासिक धार्मिकस्थलको महत्व तथा आस्थालाई विश्वसामु पुर्‍याइ अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षण गर्न विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने राष्ट्र बैंकले सुझाएको छ।

शिव सर्किट, रामायण सर्किट जस्ता धार्मिक पर्यटन विकास तथा प्रवर्द्धनका एकीकृत/ सृजनात्मक अवधारणा अनुरुप समान धार्मिक आस्था एवं विश्वास रहेका वरपरका धार्मिकस्थलको पहिचान गरी दुई वा दुईभन्दा बढी धार्मिकस्थल जोडने सडक मार्गको विस्तार तथा सडकमार्ग नभएका स्थलहरुमा अन्य विकल्पहरु जस्तैः घोडा सवारी, केवलकार वा साहसिक पदमार्ग निर्माण गरी पर्यटन गन्तब्य पहिचान, विकास तथा प्रचारप्रसार गर्नुपर्ने सुझाव पनि दिएको छ।

धार्मिकस्थलहरुमा पर्यटकको बसाई अवधि लम्ब्याउनका निम्ति स्थानीयस्तरमा विविध मेला तथा महोत्सव, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रहरु आयोजना गर्न स्थानीय निकाय तथा विकास समितिहरु सक्रिय हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

धार्मिक उद्देश्य राखेर भ्रमण गर्ने पर्यटकहरुलाई पहिचान भएका अन्य धार्मिकस्थलको जानकारी दिने तथा ती धार्मिकस्थलसम्म पुर्‍याउन आवश्यक पूर्वाधारको निमार्णमा जोड दिन भनेको छ।

सांस्कृतिक तथा धार्मिक रुपले महत्त्वपूर्ण मानिएका सम्पदाको संरक्षण तथा सम्बर्द्धनका निम्ति धार्मिकस्थल रहेका क्षेत्रमा सुरक्षा निकायको उपस्थिति, सीसीटीभी जडान तथा अग्नि नियन्त्रक उपकरणहरुको व्यवस्था हुनुपर्ने राष्ट्र बैंकको सुझाव छ।

धार्मिक पर्यटन क्षेत्रको समग्र विकास गर्न, मन्दिरको दान-भेटीमा आर्थिक पारदर्शिता कायम राख्न, तथ्यमा आधारित नीति निर्माण गर्नका लागि पर्यटकको आवागमन संख्या, दान-भेटी तथा अन्य महत्वपूर्ण पक्षको व्यवस्थित अभिलेख राख्नुपर्ने जनाएको छ।

धार्मिकस्थलको प्राकृतिक र परम्परागत स्वरुपमा मानवीय क्रियाकलापले पुग्ने क्षति न्यूनीकरण गर्दै पुरातात्विक वस्तुको संरक्षण तथा सम्बर्धन गर्ने कार्यमा नीतिनिर्माता तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने सुझाव राष्ट्र बैंकको छ।

नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६ सँग तादात्म्यता हुने गरी प्रादेशिक पर्यटन गुरुयोजना तर्जुमा गर्नुपर्ने जनाएको छ।

प्रदेशमा पहिचान भएका ४९ वटा प्रमुख धार्मिक पर्यटकीय गन्तव्यहरुलाई अन्तर-प्रदेश धार्मिक गन्तव्यसँग आबद्ध गर्नुपर्ने जनाएको छ।

धार्मिक स्थलहरुमा ध्यान तथा योग शिक्षा, परम्परागत उपचार पद्धति स्पा, आध्यात्म केन्द्र स्थापना गरी पश्चिमा मुलुकका पर्यटक समेत आकर्षित गर्न सके गैर-हिन्दु धर्मावलम्बीले समेत उक्त स्थानको भ्रमण गर्न सक्ने राष्ट्र बैंकको बुझाइ छ।