सुस्ताएको पोखराको पर्यटन व्यवसाय लयमा फर्किँदै, लेक साइडमा झुम्‍न थाले भारतीय पर्यटक

बिजमाण्डू
२०७८ चैत्र २ गते १५:०८ | Mar 16, 2022

पोखरा। कोरोना भाइरस संक्रमण फैलिएसँगै सुस्ताएको पोखराको पर्यटन तंग्रिन थालेको छ। उत्साहजनक रुपमा भारतीय पर्यटकको आगमनले लामो समयसम्म लेकसाइडमा छाएको सन्नाटा चिरिएको छ। भारतीय साथै नेपालकै विद्यालयको शैक्षिक भ्रमण र पोखरामा आयोजना भएका केही ठूला 'इभेन्ट'ले फेवाताल किनारको रौनक फर्किएको हो।

Tata
GBIME
Nepal Life

कोरोनाको तेस्रो लहर शान्ता भएसँगै शून्यमा रहेको पर्यटक आगमन पछिल्लो दुई सातादेखि बढ्न थालेको पर्यटन व्यवसायीले बताएका छन्। यसले पोखराको पर्यटनमा क्षेत्रमा पुन: आशा जगाएको छ।

पश्चिमाञ्चल होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले कोरोनाको त्रास कम भएसँगै भारतीय र आन्तरिक पर्यटकको संख्या बढ्दै गएको सुनाए।

'अहिले पोखराको पर्यटन राम्रो भएको छ। भारतीय सानादेखि ठूला गरी ३ सयभन्दा धेरै गाडी पोखरामा छन्। अब कोभिडको प्रभाव परेन भने चलायमान हुन्छ कि भन्ने छ। सामान्य अवस्थामा फर्किन्छौं भनेर हामी आशावादी छौं,' सुवेदीले भने।

तत्काल नै लेक साइडले तेस्रो मुलुकको पर्यटक आगमनको अपेक्षा गरेको छैन। पर्यटन चलायमान बनाउनका लागि व्यवसायको आशा भनेकै आन्तरिक पर्यटक र भारतीय पर्यटक बनेका छन्।

'तेस्रो मुलुकका पर्यटक भर्खर आउने सम्भावना छैन। आर्थिक चपेटामा छन् सबै। अब उताबाट नआएपनि भारतीय पर्यटक आउन सुरु भएको छ। आन्तरिक र भारतीयले डेढ वर्ष धान्यो भने सामान्य लयमा फर्किन्छौं कि,' सुवेदी आशावादी सुनिए।

भारतीय पर्यटकको आगमनसँगै लेकसाइडमा होटलको ‘अकुपेन्सी’ बढेको हो। अहिले लेकसाइडमा होटलको ‘अकुपेन्सी’ समग्रमा ७० प्रतिशतभन्दा माथि रहेको सुवेदीले बताए। यस्तै, आन्तरिक पर्यटकको आगमनले शुक्रवार र शनिवारको दिन लेकसाइडमा होटलको अकुपेन्सी उत्साहजनक छ।

होटल बाराहीका अपरेसन म्यानेसजर चिन्ताप्रसाद गौतमका अनुसार होटलमा अहिलेको अकुपेन्सी ६५ प्रतिशत छ। जसमध्ये बढी आन्तरिक पर्यटकको उपस्थिति नै उत्साहजनक छ। यद्यपि, पछिल्लो एक साता यता भारतीय पर्यटकले पनि अकुपेन्सी जमाएका छन्।

'अहिले हाम्रोमा भारतीय पर्यटक भन्दा पनि आन्तरिक पर्यटकको उपस्थिति राम्रो छ भर्खर अघिल्लो हप्ताबाट मात्र भारतीय आउन थाल्नुभएको छ,' गौतमले भने।

गौतमका अनुसार आगामी महिनाका लागि तेस्रो मुलुकको पर्यटकले पनि प्रि – बुकिङ गरेका छन्। अष्टेलिया र बेलायतबाट बुकिङ गर्ने पर्यटक २३ प्रतिशत रहेको गौतमले बताए।

यस्तै, अहिलेको सिजन पदयात्राका लागि दोस्रो उपयुक्त सिजन पनि हो। अध्यक्ष सुवेदीका अनुसार भारतबाट आगमन भएका केही पर्यटक पदमार्गका लागि पनि गएका छन्।

अघिल्लो हप्तामात्र सय जना हाराहारीमा भारतीय पर्यटक पदयात्रामा पुगेको सुवेदीले बताए। पोखरामा यतिबेला आउने पर्यटक बिहारका बढी छन्। यस सिजनमा मुख्यगरी उनीहरु गर्मी छल्न पोखरा आउने गर्छन्। आगामी महिनामा बोर्डर नजिकका बाहेकका भारतीय पर्यटकको बुकिङ पनि उत्साहजनक छ।

ट्रेकिङ एसोसिएसन अफ नेपाल पोखरा (टान)का उपाध्यक्ष धर्मराज पन्थीका अनुसार यतिबेला पदमार्गमा पाँच प्रतिशत भारतीय पर्यटक छन्। अन्य समयभन्दा यतिबेला भारतीय पर्यटकले पदयात्राका लागि चासो र सोधखोज गरेका छन्। पोखरा आउने पर्यटकमध्ये अधिकांश भारतीयको गन्तव्य मुक्तिनाथ हुन्छ।

'आगमन भर्खर मात्रामा हुँदैछ। आएका पर्यटक मुक्तिनाथ दर्शनमा जाने बढी छन्। अन्नपूर्ण पदमार्गमा जानको लागि उत्साहजनक सोधखोज भइरहेको छ। ५ प्रतिशत भारतीय पर्यटक यतिबेला पदयात्रामा छन्,' पन्थीले भने। उनका अनुसार पदमार्गमा सबभन्दा बढी मर्दी पदमार्गमा आन्तरिक पर्यटक छन्। अन्नपूर्ण र राउन्ड अन्नपूर्णमा न्यून संख्यामा पदयात्री छन् यतिबेला।

यस्तै, नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाटा) गण्डकी महासचिव कमला गिरिका अनुसार भारतीय पर्यटकसँगै आन्तरिक पर्यटकको आगमन बढ्दो छ। सातादेखि भारतीय पर्यटकको आगमनमा उत्साह थपिएको छ।

‘आगमन आन्तरिक पर्यटककै बढी छ। तर भारतीय पर्यटकको उपस्थिति पनि गत हप्तादेखि बढेको छ। यसले व्यवसायीलाई उत्साही बनाएको छ पोखराको पर्यटनमा यसले आशा पलाएको छ,' महासचिव कमलाले भनिन्।

पर्यटकको आगमनले लेकसाइडका होटल व्यवसायीलाई मात्र नभइ डुंगा व्यवसायीमा पनि उत्साह थपिएको छ। डुंगा व्यवसायी संघका अध्यक्ष बुद्धिबहादुर नेपालीले फेवातालमा डुंगा सवार गर्न लागेको पर्यटकको उपस्थितिले सामान्य अवस्थामा फर्किन सक्ने सम्भावना रहेको सुनाए।