राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित, भोलि बस्ला त प्रतिनिधिसभा बैठक ?

बिजमाण्डू
२०७८ माघ २ गते १३:२१ | Jan 16, 2022
राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित, भोलि बस्ला त प्रतिनिधिसभा बैठक ?

काठमाडौं। राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। सोमबारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले विशेष कारणवस बैठक स्थगित भएको जानकारी दिए।

Tata
GBIME
Nepal Life

यता, प्रतिनिधि सभाको बैठक भने सोमबारका लागि बोलाइएको छ। पछिल्लो समय नेकपा एमालेले दुवै सदन अवरुद्ध गरी विरोध गर्दै आएको छ। एमालेले हिउँदे अधिवेशनको सुरुदेखि नै बैठकमा विरोध जनाउँदै आएको हो।

माधवकुमार नेपाललगायतका सांसदलाई कारवाही वा सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा नआएसम्म संसद बैठकमा अवरोध कायमै रहने एमालेले बताउँदै आएको छ। हाल देशभर कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा संसद बैठक के हुने हो भन्ने अन्यौल सिर्जना भएको छ।

यसअघि पुस २८ गतेका लागि तोकिएको राष्ट्रियसभा बैठक माघ ३ गतेसम्मका लागि सारिएको थियो। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै अवरोध हटाउन आग्रह गरेपनि अवरोध कायमै रहने एमालेले जनाएको छ।