राष्ट्र बैंक निर्देशकको सरुवा: युवराज खतिवडाका ज्वाइँ पोखरा, महिलाहरु जिल्ला, गुरुलाई भुक्तानी

बिजमाण्डू
२०७८ मंसिर १२ गते १९:०४ | Nov 28, 2021

काठमाडौं। नेपाल राष्ट्र बैंकमा २१ जना निर्देशक र तीन जना कामु निर्देशकको सरुवा भएको छ। शुक्रबार राष्ट्र बैंकका गभर्नरले भुक्तानी प्रणाली विभागको नेतृत्व गर्ने गरी गुरुप्रसाद पौडेललाई विदेशी विनिमय विभागबाट सरुवा गरेका छन्।

Tata
GBIME
Nepal Life

उनी सबैभन्दा बरिष्ठ निर्देशक हुन्। कार्यकारी निर्देशक भुवन कँडेल अवकाशका लागि बिदामा बसिसकेकाले पौडेललाई भुक्तानी प्रणाली विभागको नेतृत्वसहित सरुवा गरिएको हो।

राष्ट्र बैंकले यसपाली महिला निर्देशकहरुलाई जिल्ला पठाएको छ। काठमाडौंको विभिन्न विभागमा रहेका उनीहरुलाई क्षेत्रिय कार्यालयको नेतृत्व जिम्मा दिएर जिल्ला पठाइएको छ।

विराटनगर क्षेत्रीय कार्यालयमा रहेका सत्येन्द्र तिमिल्सिनालाई बैंक सुपरिवेक्षण विभागमा ल्याइएको छ भने आर्थिक अनुसन्धान विभागका डा. रामशरण खरेललाई पोखरा क्षेत्रीय कार्यालय पठाइएको छ। उनी पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडाका ज्वाइँ हुन्। यही कारण उनले राष्ट्र बैंकमा 'पावर एक्सरसाइज' गर्दै आएका थिए।

वित्त कम्पनी सुपरिवेक्षण विभागका दीपकराज लामिछानेलाई जनशक्ति ब्यवस्थापन विभाग पठाइएको छ। बैंक सुपरिवेक्षण विभागका हिमप्रसाद न्यौपानेलाई संस्थागत योजना विभाग सरुवा गरिएको छ।

यसैगरी बैंकर्स प्रशिक्षण विभागका आनन्द पौडेललाई बैंकिङ विभाग र नेपालगंज क्षेत्रीय कार्यालयबाट गोबिन्द नागिलालाई विदेशी विनिमय विभाग ल्याइएको छ। उनी पूर्व गभर्नर चिरञ्जिबी नेपालको पालामा सञ्चालक समिति सचिव पनि थिए। 

बैंक तथा वित्तीय संस्था नियमन विभागबाट मीना पाण्डेलाई विराटनगर पठाइएको छ भने धनगढी कार्यालयमा रहका सुभाषचन्द्र घिमिरेलाई बैंक सुपरिवेक्षण विभाग ल्याइएको छ। बैंकिङ विभागकी सृजना बास्तोलालाई  लघुवित्त विभाग ल्याइएको छ। 

सिद्धार्थ नगर कार्यालयका सुदीप फुँयाललाई वित्त ब्यवस्थापन विभाग सरुवा गरिएको छ। बैंकिङ विभागकी निभा श्रेष्ठलाई नेपालगञ्ज कार्यालय पठाइएको छ। बैंक सुपरिवेक्षणका डिलाराम सुबेदीलाई आन्तरिक लेखापरीक्षण विभाग सरुवा गरिएको छ।

पोखरा कार्यालयका  इश्वरीप्रसाद भट्टराईलाई  बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरुवा गरिएको छ। लघुवित्त विभागबाट राजनदेव भट्टराईलाई वीरगंज कार्यालय पठाइएको छ भने  संस्थागत योजना विभागबाट लक्ष्मीप्रसाद प्रसाइँलाई आर्थिक अनुसन्धान विभाग सरुवा गरिएको छ।

यसैगरी जनशक्ति विभागका रमेश आचार्यलाई  वित्त कम्पनी सुपरिवेक्षण विभागमा सारिएको छ भने वीरगंज डा. राजनकृष्ण  पन्तलाई आर्थिक अनुसन्धानमा सरुवा गरिएको छ।  जनकपुर कार्यालयका दुर्गेश गोपाल श्रेष्ठलाई  बैंकिङ विभागका साथै बित्त ब्यवस्थापनकी रञ्जना पौडेललाई सिद्धार्थनगर कार्यालय सरुवा गरिएको छ। 

मुद्रा ब्यवस्थापन विभागकी निरा ताल्चाभडेललाई जनकपुर कार्यालय सरुवा गरिएको छ। यसैगरी आर्थिक अनुसन्धानकी आर्या जोशीलाई मुद्रा ब्यवस्थापन विभाग सरुवा गरिएको छ। वित्त कम्पनी सुपरिवेक्षणका विनोदराज लेखकलाई धनगढी र आन्तरिक लेखाका अशोक घिमिरेलाई बैंकर्स प्रशिक्षण केन्द्र सरुवा गरिएको छ। जोशी, लेखक र घिमिरे कामु निर्देशक हुन्।