साङ्घाई प्लान्टको क्षमता वृद्धिमा साढे २२ अर्ब लगानी थप्दै टेस्ला, कुल १९ हजारलाई रोजगारी दिने

बिजमाण्डू
२०७८ मंसिर १० गते १०:२४ | Nov 26, 2021
साङ्घाई प्लान्टको क्षमता वृद्धिमा साढे २२ अर्ब लगानी थप्दै टेस्ला, कुल १९ हजारलाई रोजगारी दिने

साङ्घाई। संसारको मूल्यवान कम्पनीको सूचीमा तीव्ररुपमा माथि उक्लिएको टेस्ला इंकले आफ्नो सांघाईस्थित उत्पादन प्लान्टको उत्पादन क्षमता विस्तारका लागि एक अर्ब २० करोड चिनियाँ युआन (करिब १८ करोड ७९ लाख अमेरिकी डलर, एक डलरबराबर ६.३८६० युआनको दरले ) लगानी गर्ने भएको छ। यो करिब २२ अर्ब ५५ करोड नेपाली रुपैयाँ बराबर हुन्छ।

Tata
GBIME
Nepal Life

यो थप लगानीसहितको उत्पादन क्षमता विस्तारबाट टेस्लाले थप चार हजार जनालाई रोजगारी दिनसक्ने समाचार चीनको बेइजिङ डेलीको शुक्रबार अंकमा छ। सांघाई सरकारको प्लेटफर्म (वेब) मा उल्लेख कम्पनीको वातावरणीय प्रभावसम्बन्धी जानकारीलाई उद्धृत गर्दै पत्रीकाले लेखेको जनाइएको छ। 

टेस्लाले चीनको उत्पादन प्लान्टमा गर्न लागेको थप लगानी रकमबारे सांघाई सरकारको प्लेटफर्ममा २३ नोभेम्बरमा विवरण सार्वजनिक भएको थियो, जसको कागजात रोयटर्सले भने शुक्रबार मात्र प्राप्त गरेको उल्लेख गरेको छ। यस विषयमा टेस्लाले पनि कुनै पनि प्रतिक्रिया जनाएको छैन।
यद्यपि, कम्पनीले फाइलिङ गरेको कागजातहरुले टेस्लाको विस्तारले थप चार हजार कर्मचारी थप हुने देखाएको छ। त्यससहित टेस्लाको चीनस्थित प्लान्टमा काम गर्नेको संख्या १९ हजार पुग्नेछ। 

तर लगानी थपपछि उक्त प्लान्टको उत्पादन क्षमता कति पुग्ने भन्ने खुलाइएको छैन। यद्यपि, क्षमता विस्तारपछि पनि टेस्लाले उक्त प्लान्टबाट उत्पादन गर्ने गाडीको मोडेलमा परिवर्तन नगर्ने जनाइएको छ।

टेस्लाको सांघाई प्लान्ट वर्षमा पाँच लाख कार उत्पादन गर्न सक्ने गरी डिजाइन गरिएको छ। अहिले मोडेल ३ र मोडेल वाई गरी वार्षिक साढे चार लाख एकाइ उत्पादन क्षमता रहेको छ।

यस अमेरिका अटोमेकरमाथि नियामकीय दबाब तथा कम्पनीले कसरी तथ्यांकहरु राख्ने गरेको भन्ने कुराको जाँचपड्तालका बाबजुद चीनमा टेस्लाको बिक्री लगातार उकालो लागिरहेको छ। टेस्लाले स्थानीय रुपमै डाटा स्टोर गर्नका लागि साङ्घाईमा रिसर्च सेन्टर र छुट्टै डाटा सेन्टर निर्माण गरेको गत महिना बताएको छ।

यसले अहिले चीनमा बनाइएको मोडेल ३एस युरोप निर्यात गरिरहेको छ। युरोपमै यसले जर्मनीमा फ्याक्ट्री समेत निर्माण गरिरहेको छ। गत अक्टोबरमा टेस्लाले चीनमा बनाइएका ५४ हजार ३९१ थान कार बिक्री गरेको थियो। त्यसमध्ये ४० हजार ६६६ एकाइ निर्यात समेत रहेको चाइना प्यासेन्जर कार एशोसिएशनको तथ्यांकले देखाएको छ।

साङ्घाई कारखाना पूर्णरुपमा टेस्लाको स्वामित्वमा छ र यो विदेशस्थित एकमात्र प्‍यासेन्जर कार प्लान्ट हो जुन संयुक्त लगानीमा संचालित छैन।