क्याल र बीएचपी समूहले ओकिनावाको विद्युतीय बाइक र स्कुटर बेच्दै, आक्रामक रुपमा शोरुम विस्तार

बिजमाण्डू
२०७८ असोज १ गते १०:५५ | Sep 17, 2021
क्याल र बीएचपी समूहले ओकिनावाको विद्युतीय बाइक र स्कुटर बेच्दै, आक्रामक रुपमा शोरुम विस्तार

वीरगंज। वीरगंजका दुई व्यापारिक घरानाले दुई पांग्रे विद्युतीय सवारी साधनको आयात र बिक्री वितरण थालेका छन्। क्याल समूह र वीरगंज हेल्थकेयर(बीएचसी)समूहले जापानको ओकिनावा कम्पनीको मोटरसाइकल र स्कुटर बिक्री थालेका हुन्।

Tata
GBIME
Nepal Life

क्याल समूहका सुरेश क्याल र वीरगंज हेल्थ केयरका सञ्चालक डा. अबुलहैस अन्सारीको संयुक्त लगानीमा बीएचसी इन्टरनेशनल प्रालि स्थापना गरिएको छ। ओकिनावाको बाइक र स्कुटर अहिले भारतमा उत्पादन हुन्छ।

करिब २५ करोडको लगानी गरी तीन महिना अघिदेखि बाइक र स्कुटरको बिक्री सुरु गरेको अन्सारीले बताए। ‘२०८८ सम्म सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन विस्थापन गर्ने लक्ष्य लिएको छ,’ उनले भने, ‘त्यसकारण हामी यो व्यवसायमा प्रवेश गरेका हौं।'

तीन महिनाको अवधिमा ६ सय विद्युतीय स्कुटर बेचिसकेको उनले बताए। अन्सारीका अनुसार वीरगंजको गण्डक बहुअरी, काठमाडौंको जडीबुटी, बल्खु, रौतहटको गौर र चन्द्रपुर, जीतपुर सिमरा उपमहानगरको लालका पुल नजिकै, पोखरामा गरी कुल ७ वटा शोरुम सञ्चालनमा ल्याइएको छ।

कम्पनीले एक साताभित्रै इटहरी, चितवन, हेटौंडा र बुटवलमा पनि शोरुम सञ्चालनमा ल्याउने जनाएको छ। दसैंसम्म देशका करिब २४ स्थानमा शोरुम खोल्ने उनले जानकारी दिए।

अन्सारीले अहिले स्कुटर मात्रै बिक्री भइरहेको र तीन महिनापछि मोटरसाइकलको पनि बिक्री शुरु गर्ने योजना रहेको पनि सुनाए। स्कुटर १ लाख ७० हजारदेखि ३ लाख ४० हजारसम्म पर्छ। उनका अनुसार मोटरसाइकलको मूल्य ३ लाखदेखि साढे ४ लाख रुपैयाँसम्म छ।