खाद्य कम्पनीले बढायो चाडपर्वलक्षित सहुलियत पसल संख्या, ४३ केन्द्रबाट २५ सय टन खाद्यान्न बेच्ने

बिजमाण्डू
२०७८ भदौ ३० गते १९:०२ | Sep 15, 2021

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसलबाट यसपालीको चाडपर्वमा २५ सय टन खाद्यान्न बिक्री गर्ने लक्ष्य राखेको छ।

Tata
GBIME
Nepal Life

असोज १ गतेदेखि तिहार र छठसम्म राखिने सहुलियत पसलबाट २५ सय टन खाद्यान्न बिक्री गर्ने लक्ष्य रहेको कम्पनीकी सूचना अधिकृत शर्मिला सुवेदीले बताइन्। 

कम्पनीले यो पटक धेरै आउटलेटबाट सुपथ मूल्यमा उपभोक्तालाई खाद्यान्न बिक्री गर्न लागेको हो। खाद्यले पहिलोपटक देशभर ४३ वटा बिक्री केन्द्रमार्फत सहुलियतमा खाद्यान्न बेच्नेछ।

जसमध्ये चारवटा काठमाडौं उपत्यकामा र  बाँकी उपत्यकाबाहिर रहने छ। उपत्यकामा अहिले कम्पनीले खाद्यान्न बिक्री गर्दै आएको रामशाहपथका साथै थापाथली, नख्खु र भक्तपुरमा रहेको बिक्री कक्षमै सहुलियत पसल राख्न लागेको हो। पछि भीड बढे थप बिक्री कक्ष राख्ने योजना रहेको सुवेदीले बताईन्।

कम्पनीले यो वर्षदेखि सबै कार्यालयबाट खाद्यान्न बिक्री गर्न लागेको छ। गत वर्ष कम्पनीले देशभरका ३० कार्यालयबाट मात्र खाद्यान्न बिक्री गरेको थियो। यो वर्ष कम्पनीले उपस्थिति बढाएर अप्राकृतिक मूल्य नियन्त्रणमा बजार हस्तक्षेपका लागि सबै कार्यालयबाट बिक्री गर्न लागेको हो।

सुवेदी भन्छिन्, 'यसले सरकारी कम्पनीको उपस्थित रहन्छ भनेर निजी व्यवसायीहरुले मनपरी मूल्य राख्न सक्दैनन्। यसले मूल्य बढ्ने अवस्था रह्यो भने त्यसलाई नियन्त्रण पनि गर्छ। यसकारण कम्पनीको नेटवर्क भएको सबै ठाउँमा सहुलियत पसल राख्ने निर्णय गरेका हौं। यसबाट उपत्यकामा मात्र नभइ बाहिरी जिल्लाका उपभोक्ताले पनि सुपथ मूल्यमा खाद्यान्न खरिद गर्न पाउनेछन्।'

गत वर्ष पनि कम्पनीले २५ सय टन नै खाद्य वस्तु बिक्री गर्ने लक्ष्य राखेको थियो। तर कोभिडको संक्रमणका कारण तोकिएको अवधिभरमा लक्ष्यभन्दा कम मात्र खाद्यान्न बिक्री भएको थियो।

सहुलियत पसलबाट उपभोक्ताले सुपथ मूल्यमा चामल, नुन, पिठो, दाल, तेल लगायतका खाद्य वस्तुहरु खरिद गर्न सक्नेछन्।  सहुलियत पसलमा अन्य समयभन्दा चामल र दालको भेराइटी बढाएर राख्न बिक्री गर्ने बताएको छ। कम्पनीका अनुसार ९ थरीका चामल र तीन थरिका दाल सहुलियत पसलमा हुनेछन्। 

हालको लागि चामल, दाल, पिठो, चिउरामा प्रतिकेजी र सूर्यमुखी तथा तोरी तेलमा प्रतिलिटर ५ रुपैयाँ छुट दिने निर्णय गरिसकेको छ। भटमासको तेलमा प्रतिलिटर १० रुपैयाँ र खसीबोकामा पनि प्रतिकेजी १० रुपैयाँ छुट दिएको कम्पनीले जनाएको छ।