ललितपुरको जावलाखेल र झम्सिखेलपछि काठमाडौं छिर्‍यो चौधरी समूहको सिजी नेट, छुट अफर

बिजमाण्डू
२०७८ असार ३१ गते १०:४१ | Jul 15, 2021
ललितपुरको जावलाखेल र झम्सिखेलपछि काठमाडौं छिर्‍यो चौधरी समूहको सिजी नेट, छुट अफर

Tata
GBIME
Nepal Life

काठमाडौं। जेठ १८ गते औपचारिक रुपमा ललितपुरको जावलाखेल, झम्सिखेललगायतका स्थानबाट फाइबर इन्टरनेट सेवा सुरु गरेको चौधरी समूहको सिजी नेट काठमाडौंमा पनि विस्तार भएको छ। 

सिजीले बिहीबारबाट कुलेश्वर, बल्खु, कलंकी, कालिमाटी, टेकु, त्रिपुरेश्वर क्षेत्रवरपर आफ्नो सेवा विस्तार गरेको जनाएको छ।

चौधरी समूहले अहिले संचालनमा रहेका अरु सबै आइएसपीभन्दा कम मूल्यमा अहिलेसम्म नपाएको इन्टरनेट स्पीडसहित भित्रिएपछि नेपालको इन्टरनेट बजारमा तरङ्ग ल्याएको थियो। 

सिजी नेटले उपभोक्ताहरुलाई सेवा प्रारम्भको अफरस्वरुप (इन्ट्रडक्टरी अफर) तत्काल १२० एमबीपीएसको प्याकेज मात्रै सार्वजनिक गरेको छ। यो प्याकेज एक, तीन, ६ र १२ महिनामा उपलब्ध गराएको छ। आवासीय र व्यापारिक दुवै प्रयोजनका लागि उपभोक्ताहरुले यो सेवा जडान गर्न सक्ने बताइएको छ।

कम्पनीले उपभोक्तालाई उपलब्ध गराएको सबै प्याकेज खरिद गर्दा जडान र ड्रप-वायर (नजिकको प्वइन्टदेखि घरसम्म जोड्ने तार) को शुल्क भने तिर्नु नपर्ने जनाएको छ। सिजी नेटले उपभोक्ताहरुलाई १२० एमबीपीएस स्पीडको मूल्य एक महिनाको भ्याटबाहेक ९९९ रुपैयाँ तोकेको छ।

एक महिने प्याकमा एकपटक तिर्नुपर्ने गरी सिंगल ब्याण्ड राउटरको २५ सय रुपैयाँ, डुअल ब्याण्ड राउटरको ३५ सय रुपैयाँ र रिफन्डेबल डिपोजिट पाँच सय रुपैयाँ तिर्नुपर्ने जनाएको छ। 

यसबाहेक तीन, ६ र १२ महिने प्याकेज लिँदा उपभोक्ताले राउटरमा छुट पाउनेछन् । मासिक शुल्क भने कुनै पनि अवधिको प्याकेजमा यथावत रहेको छ ।

सिजी नेटले तीन महिने प्याकको भ्याटबाहेक दुई हजार नौ सय ९७ रुपैयाँ तोकेको छ। जसमा सिंगल ब्याण्ड राउटरको दुई हजार रुपैयाँ, डुअल ब्याण्ड राउटरको तीन हजार रुपैयाँ र रिफन्डेबल डिपोजिट पाँच सय रुपैयाँ तिर्नुपर्ने जनाएको छ।

कम्पनीले १२० एमबीपीएस स्पीड इन्टरनेटको ६ महिने प्याकेजको भ्याटबाहेक पाँच हजार नौ सय ९४ रुपैयाँ तोकेको छ। जसमा सिंगल ब्याण्ड राउटरको १५ सय रुपैयाँ, डुअल ब्याण्ड राउटरको २५ सय रुपैयाँ र रिफन्डेबल डिपोजिट पाँच सय रुपैयाँ तिर्नुपर्ने जनाएको छ।

यस्तै, १२ महिने प्याकेजको मूल्य सिजी नेटले भ्याटबाहेक ११ हजार ९८८ रुपैयाँ तोकेको छ। यो प्याकेजमा उपभोक्ताहरुले रिफन्डेबल डिपोजिट पाँच सय रुपैयाँ मात्रै अतिरिक्त तिर्नुपर्ने कम्पनीले जनाएको छ। यो प्याकेजमा राउटर नि:शुल्क दिने कम्पनीको तयारी छ। 

कम्पनीले अन्य स्थानहरुमा पनि क्रमश: इन्टरनेट विस्तार गर्दै लैजाने जनाएको छ।