दोस्रो लहरको धक्काले अन्योलमा नाइट क्लब, सञ्चालक भन्छन् ‘खोप लिएकालाई सेवा दिन्छौं, खोल्न देउ’

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ असार २९ गते १५:३१ | Jul 13, 2021
दोस्रो लहरको धक्काले अन्योलमा नाइट क्लब, सञ्चालक भन्छन् ‘खोप लिएकालाई सेवा दिन्छौं, खोल्न देउ’

Tata
GBIME
Nepal Life

काठमाडौं। ठमेलका नाइट क्लब र रेस्टुरेन्टहरु सञ्चालकहरु अन्योलमा छन्। कोरोना महामारीको दोस्रो लहर आएपछि सुरु भएको निषेधाज्ञा खुकुलो भइसक्दा पनि क्लबहरु खुल्न पाएका छैनन्। 

रेस्टुरेेन्टहरुले टेक अवे र होम डेलिभरीको सेवा थालेका छन् तर त्यसले सञ्चालन खर्च पनि धान्न पुगेको छैन। करोडौंको लागत रहेको यो क्षेत्रमा आम्दानी ठप्प र खर्चको भार बढिरहँदा धान्न गाह्रो परेर  व्यवसायी निराश छन्। यही अवस्था लामो समयसम्म रहे लगानीकर्ताले यो क्षेत्रबाट धमाधम हात झिक्ने अवस्था आएको छ।  

करोडौंको लागत रहेका एलओडी, स्टेशन पब, भिक्ट्री लाउन्ज, भीआइपी, त्रिशारा लगायत हाइ इण्ड लाउन्ज लगायत नाइट क्लबका सञ्चालकहरुले सधैंका लागि व्यवसाय बन्द गर्नु बाहेकको विकल्प नरहेको जनाएका छन्।

निषेधाज्ञा खुकुलो भएयता केही व्यवसायी क्लब पुनः सञ्चालनमा ल्याउन तयार छन्। तर स्थानीय प्रशासनले अनुमति दिएको छैन। व्यवसायलाई डुब्न नदिन भए पनि कोभिड-१९ विरुद्धको खोपका दुवै मात्रा लिइसकेका ग्राहकलाई सेवा दिन पाउनुपर्ने व्यवसायीको भनाइ छ। 
कोरोना पहिलो लहरमा सरकारले गरेको लकडाउन र निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौंमा होटल, रेष्टुरेन्ट र नाइट क्लबमा सञ्चालनमा आउनु सुरु भइसकेको थियो। 

ग्राहकको प्रत्यक्ष सहभागिता बढ्न सुरु भएको थियो। सप्ताहान्त, पर्व लगायतका दिनमा ठमेल, झम्सिखेल, दरबारमार्ग लगायत क्षेत्रमा ग्राहकको चहलपहल सुरु हुन थालिसकेको थियो। तर कोभिड दोस्रो लहरका कारण तीन महीनायता नाइट क्लब ठप्प छन्। होटल रेस्टुरेन्टहरुले सीमित ग्राहक राखेर, होम डेलिभरी गरेर पनि व्यवसाय सञ्चालन गर्न पाए पनि नाइट क्लब सुनसान छन्। ग्राहकको प्रत्यक्ष उपस्थिति हुनैपर्ने व्यवसाय भएकाले सञ्चालकले विकल्प पाएका छैनन्। 

व्यवसाय ठप्प भएपछि कर्मचारीको पारिश्रामिक, व्यवस्थापन, भाडा लगायत आर्थिक कारोबार गर्नै मुस्किल अवस्था रहेको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) ले जनाएको छ। कोभिड ‍पहिलो लहरमा सात महिना र दोस्रो लहरमा तीन महीना गरेर करिब १० महीना व्यवसाय ठप्प भएपछि आउँदो दिनमा व्यवसायलाई निरन्तरता दिन/ नदिने विषयमा अलमल रहेको क्लबका संचालक रवीन श्रेष्ठले बताए।

'हामी पर्ख र हेर अवस्थामा छौं। यो अवधिमा सरकारले जनताका लागि धमाधम खोप व्यवस्था गर्नुपर्ने थियो तर त्यसो हुन सकेन। यही अवस्था हो भने व्यवसाय नै टुंग्याउने बाहेकको विकल्प छैन,' संचालक श्रेष्ठले भने, 'दुई चरणको खोप लगाइसकेकालाई प्रमाणको आधारमा सीमितरूपमा सेवा सुरु गर्न दिइए तत्काल टिक्न सकिन्थ्यो। केहि नभए पनि कर्मचारीलाई राहत हुने थियो।' 

यो अवधिभर क्लबले आफूसँग डेढ सय जनशक्तिलाई नियमित पारिश्रामिक दिन नसके पनि अवस्था र आवश्यकता हेरेर खर्च व्यवस्थापन गर्दै आएको उनले बताए। दिउँसोको समयमा उपत्यका भित्रका बजारु क्षेत्रमा घुइँचो हुँदा पनि नाइट क्लब, रेष्टुरेन्ट लगायत व्यवसायिक क्षेत्र बन्द गर्नु न्यायोचित नरहेको ठमेल पर्यटन विकास बोर्डका महासचिव एवं भीआइपी लाउन्जका संचालक ध्रुव अधिकारीले बताए।

रात्रीकालीन व्यवसाय बन्द गरेरै कोरोना संक्रमण नियन्त्रणमा आउनु सम्भव नरहेको बताउँदै उनले भने, 'सरकारलाई धेरै कर तिर्ने पर्यटन क्षेत्रसँग सम्बद्ध क्षेत्र बन्द गर्दैमा कोभिड नियन्त्रण त हुँदैन नि। दिउँसोको समयमा बजारमा भिडभाड देखिन्छ। अब रात्रिकालीन व्यवसाय, रेष्टुरेन्ट खुल्दा चाहिँ कोभिड सर्ने दाबी गर्दै बन्द गरिएको देखिन्छ। भ्याक्सिन व्यवस्थापन नगरिएसम्म कुनै विकल्प देखिँदैन।'

हाल ठप्प व्यवसाय लामो समय बन्द रहेको अवस्थामा पर्यटनसँग सम्बद्ध व्यवसाय नै विस्थापित हुँदै जाने उनले चिन्ता जनाए। 'सरकारले सक्दो छिटो व्यवसाय लक्षित राहत कार्यक्रम कार्यन्वयनमा ल्याउनुपर्‍यो। कि त तत्काल स्वास्थ्य सुरक्षा अवलम्बन गराउँदै व्यवसाय पुनः सुरु गराउनु पर्‍यो,' उनले भने। 

कोरोनाको पहिलो र दोस्रो लहरमा १० महिना बन्द भएका कारण पर्यटनसम्बद्ध क्षेत्रको ३० अर्ब आम्दानीमा गुमेको ठमेल पर्यटन विकास बोर्डले जनाएको छ। हालसम्म ठमेलमा मात्र ३५ प्रतिशत व्यवसायी विस्थापित बोर्डका महासचिव ध्रुव अधिकारीले बताए। 'धेरैजनाको लगानी डुबेको छ। हात झिक्दैछन्,' उनले भने।    

रेष्टुरेन्टमा पनि धक्का

होम डेलिभरीका तुलनामा ग्राह रेस्टुरेन्ट पसेर खान रमाउँछन्। व्यवसायीलाई पनि अर्डरअनुसार टेबल टेबलमा परिकार पस्कँदा नै आनन्द लाग्छ। तर कोभिड-१९ का कारण व्यवसाय नै जोखिममा परेपछि पलायन हुने संख्या क्रमिक बढ्दैछ। 

'होम डेलिभरी नयाँ अभ्यास हो। होम डेलिभरी र टेक अवेले व्यवसाय धान्दैन,' रेस्टुरेन्ट एन्ड बार एसोसिएसनका अध्यक्ष अरनिको राजभण्डारीले भने, 'टप्प भएपछि पाँच प्रतिशत रेष्टुरेन्ट विस्थापित भइसकेको छ। अवस्था जटिल छ।' धेरै लगानी परेका व्यवसायी आत्तिएको उनले बताए। 

'१५ प्रतिशत रेष्टुरेन्टको स्वामित्व र व्यवस्थापन परिवर्तन भएको छ,' उनले भने, 'विशेषगरी ठमेलमा संचालित अधिकांश रेष्टुरेन्टमा नयाँ स्वामित्व आएको छ।' व्यवसाय लामो समय बन्द रहँदा अवस्था जटिल भएको उनले बताए। 'ठमेलमा सामान्य रेष्टुरेन्ट सञ्चालनका लागि घर भाडा नै पाँच लाख रुपैया पर्न आउँछ। अब व्यवसाय छैन। भाडा कसरी तिर्ने? यो बीचमा ठमेलमा कतिपय सधैंका लागि बन्द भएका छन् भने अधिकांश रेष्टुरेन्ट खरिद बिक्री भएको छम' अध्यक्ष राजभण्डारीले भने।

कोभिड-१९ का कारण अतिप्रभावित रेष्टुरेन्ट क्षेत्रका लागि सरकारका तर्फबाट कुनै पनि राहतको व्यवस्था नभएको उनले गुनासो गरे। राष्ट्र बैंकले पनि मौद्रिक नीतिमा ठूला उद्योगबाहेकलाई राहत दिन ध्यान नपुर्‍याएको भन्दै उनले चिन्ता जनाए। 'हालको अवस्थामा अति प्रभावित भएका साना तथा मझौला किसिमका होटल तथा रेष्टुरेन्टलाई बिना धितो ३० लाख रुपैयाँसम्मको ऋणको व्यवस्था गरिदिन आवश्यक छ,' उनले भने। 

तत्काल सामाजिक सुरक्षा कोषमा एक वर्षदेखि आबद्ध भएका कर्मचारीलाई न्यूनतम दुई लाख रुपैयाँ सापटी दिन आवश्यक रहेको उनले बताए। 'होटल रेष्टुरेन्टमा कार्यरत कर्मचारीले निषेधाज्ञा अवधिमा दुई लाख रुपैयाँम्म ऋण पाएको अवस्थामा दैनिक खर्च जोहो गर्न सहज हुन्छ,' उनले भने।  

निषेधाज्ञा खुकुलो भएसँगै कर्मचारी बोलाउँदै  
सरकारले पछिल्लो समय निषाधाज्ञा खुकुलो पारेसँगै रेष्टुरेन्टहरुले निषेधाज्ञा अगाडि काठमाडौं बाहिरिएका आफ्ना कर्मचारीलाई बोलाउन थालेका छन्।        
'सपिङ मलहरु संचालनमा ल्याउन दिइसकिएको छ। रेष्टुरेन्टतर्फ टेक अवे र अनलाइन डे लिभरीको सेवा दिइँदै आइएको छ। अब स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गर्दै रेष्टुरेण्ट व्यवसायलाई पनि सामान्य अवस्थामा झैं सुरु गर्न आवश्यक छ,' अध्यक्ष राजभण्डारीले भने, 'आजबाट रेष्टुरेण्ट सरसफाइ गर्न सुरु गरिएको छ।'