दुई महिनापछि काठमाडौं-राजविराज नियमित उडान गर्दै बुद्ध एयर, शुक्रबारदेखि सुरु हुने

बिजमाण्डू
२०७८ असार २३ गते १७:१३ | Jul 7, 2021
दुई महिनापछि काठमाडौं-राजविराज नियमित उडान गर्दै  बुद्ध एयर, शुक्रबारदेखि सुरु हुने

Tata
GBIME
Nepal Life

काठमाडौं। निजी वायुसेवा कम्पनी बुद्ध एयरले आउँदो शुक्रबारदेखि काठमाडौं-राजविराज नियमित उडान सुरु गर्ने भएको छ।

निषेधाज्ञाका कारण दुई महिना अघिदेखि यो गन्तब्यमा बन्द भएको उडान फेरि सुरु हुन लागेको हो। 

कम्पनीले मंगलबारदेखि यो गन्तब्यका लागि बुकिङ खुला गरेको सुचना अधिकारी दिपेन्द्र कुमार कर्णले जानकारी दिए।

'गत बिहीबारदेखि नियमित उडान पुनः सुरु भएसँगै हामीले राजविराज बाहेक सबै गन्तब्यमा उडान सुरु गरेका थियौँ। अब आउँदो शुक्रबारदेखि हामी राजविराजमा पनि नियमित उडान सुरु गर्नेछौँ।' सुचना अधिकारी कर्णले भने। 

कम्पनीले एटिआर-७२ सिरीजको जहाजमार्फत यो गन्तब्यमा साताको एउटा  नियमित उडान गर्दै आएको छ। राजविराज उडान पुनः सुरु भएसँगै कम्पनीको दैनिक ३२ वटा उडान हुनेछ। 

उनका अनुसार यो गन्तब्यका लागि सुरुवाती भाडादर २८ सय रुपैयाँ निर्धारण गरिएको छ। 

नागरिक उड्डयन प्राधिकरणको अनुमति पाएसँगै कम्पनीले अन्तर प्रादेशिक उडान पनि सुरु गर्ने तयारी रहेको उनले जानकारी दिए।

कम्पनीले एटिआर-७२, एटिआर-४२, विचक्राफ्ट लगायत तीन किसीमको जहाजमार्फत विराटनगर, पोखरा, धनगढी, भरतपुर, जनकपुर, भैरहवा, भद्रपुर लगायत विभीन्न गन्तब्यमा नियमित उडान गर्दै आएको छ।