काठमाडौं। जनकपुरमा १२ विघा जग्गामा पोल्ट्री, जैविक ग्यास, मल र दाना कारखाना खोल्न उद्योग विभागमा आवेदन परेको छ। यो मेडिकल कलेजमा लगानी गर्दै आएको खुमाप्रसाद अर्यालको समूहले खोल्न लागेको हो।
जनकपुर एग्रो फार्मका नाममा भौतिक पूर्वाधार धेरै अगाडि बढिसकेको छ। यो पोल्ट्रीबाट वार्षिक १२ करोड ९४ लाख अण्डा उत्पादनको लक्ष्य राखिएको छ। १ अर्ब ४ करोड लगानी रहेको पोल्ट्रीमा साढे तीन सय जनालाई रोजगारी दिने लक्ष्य राखिएको छ।
त्यही ४३ करोड ३५ लाख लगानीमा कुखुराको दाना उद्योग खुल्ने भएको छ। ब्रोइलर, गिरिराज, प्यारेन्ट लगायत कुखुराको दाना उत्पादनको लागी उद्योग खुल्ने भएको हो। यो उद्योगले १ सय ५० जनालाई रोजगारी पाउने विभागमा दिएको आवेदनमा छ।
यो पोल्ट्री जनकपुरको धनुषाधाम नगरपालिका-९ मा छ। एक वर्षभित्र पहिलो चरणमा लेयर्स पाल्ने र दुई वर्षभित्र ६ लाख लेयर्स पालेर दैनिक पाँच लाख अण्डा उत्पादन गर्ने लक्ष्य राखिएको छ। यो फार्म पूर्ण वातानुकुलित र स्वचालित हुनेछ।
यो बाहेक फार्मभित्र दैनिक तीन सय सिलिण्डर बायोग्यास उत्पादन हुनेछ। यो बायोग्यास औद्योगिक प्रयोजनमा बिक्री हुनेछ। एलपीजी भन्दा प्रभावकारी हुने भएकाले औद्योगिक प्रयोजनमा अहिले बायोग्यास प्रयोग बढ्दो क्रममा छ। एलपीजीभन्दा १० प्रतिशतले सस्तो पर्नुका साथै १५ प्रतिशतले प्रेसर (चाप) बढी बायोग्यासमा हुन्छ।
यो बाहेक जैविक मलको प्रयोग बढ्दै गएकाले उत्पादनका लागि प्लान्टबाट दैनिक २० टन जैविक मल उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीका संचालक शोभाकान्त ढकालले बताए। यो फार्ममा कृषि विकास बैंक र नेपाल बैंकले ऋण लगानी गरेका छन्।