निषेधाज्ञासँगै वीरगंज भन्सारबाट सामान आउन कम हुन थाल्यो, राजस्व पनि आधा घट्यो

बिजमाण्डू
२०७८ बैशाख २७ गते १०:५५ | May 10, 2021
निषेधाज्ञासँगै वीरगंज भन्सारबाट सामान आउन कम हुन थाल्यो, राजस्व पनि आधा घट्यो

Tata
GBIME
Nepal Life

वीरगंज। मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सारबाट पछिल्लो दुई सातादेखि मालसमानको आयातमा कमी आएको छ। कोरोना महामारीसँगै मुलुकमा निषेधाज्ञासँगै सामान आयातमा गिरावट आएको हो।

वीरगंज भन्सार कार्यालयका अनुसार इन्धन र सवारी साधानको आयातमा ठूलो धक्का लागेको छ। प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार अरु समयमा साढे ७ सय सवारी साधन मालसामान लिएर भित्रिन्थे भने अहिले दैनिक ३ सय वटाको हाराहारीमा मात्र मालसामान लिएर भित्रिरहेका छन्।

चकलेट, बिस्कुट, हार्डवेयरका समान, फलामजन्य समान,गार्मेन्ट उद्योगका कच्चा पदार्थ कम आएको उनले बताए। भन्सार कार्यालयका अनुसार अहिले ३५ करोड मात्रै राजस्व उठेको छ। सामान्य समयमा दैनिक ७० करोड भन्सार असुली हुन्थ्यो। वैशाखमा १९ अर्ब ४४ करोड ५८ लाख ९७ हजारको लक्ष्य पाएको वीरगंज भन्सारले वैशाख २३ गतेसम्म जम्मा १२ अर्ब ६६ करोड राजस्व मात्र असुली गर्न सकेको छ।

त्यसैगरी,चैतमा वीरगंज भन्सारले १५ अर्ब १७ करोड ६७ लाख ५ हजार राजस्व पाएकोमा १९ अर्ब ८७ करोड ८८ लाख ४० हजार राजस्व असुली गरेको थियो। चैत मसान्तसम्म चालु आवको ९ महिनामा वीरगंज भन्सारले १ खर्ब १६ अर्ब ५० करोड ६५ लाख १३ हजार राजस्व लक्ष्य पाएकोमा १ अर्ब २४ अर्ब ७७ करोड ४९ लाख ८० हजार राजस्व असुली गरेको थियो।

वीरगंज भन्सारले चालु आवको १२ महिनाको लागि १ खर्ब ७० अर्ब ७६ करोड ५१ लाख ४५ हजार राजस्व लक्ष्य पाएको छ।