काठमाडौंका व्यस्त पाँच चोक र आठ जेब्रा क्रसिङमा ट्राफिक बत्ती जडान हुँदै, असारभित्रै सकिने

रासस
२०७७ चैत्र ३१ गते १२:०१ | Apr 13, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ।

चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ। काठमाडौं उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको हो।

पाँच चोकमा र त्यहाँका आठ जेब्रा क्रसिङमा जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए। ट्राफिक बत्तीका केही सामान आएको छ केही आउने क्रममा रहेको ओझाले बताए।

यी बत्ती जडानका लागि एक करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ। उनले भने, 'यस वर्षभित्रै यहाँ जडान सकिन्छ, अरु ठाउँमा पनि निरन्तर काम भइरहन्छ।'

विभागले अहिले बत्ती जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि बत्ती थियो। पहिले थापाथलीमा एउटा निजी संस्थाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेको थियो।

त्यो सफल नभएपछि उसले बत्ती निकालेर लगेको उनले बताए। तीनकुने-सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले जडीबुटीमा बत्ती जडान गरेको थियो।

बत्तीले काम नगरेको र पुरानो प्रविधि भएकाले त्यसका ठाउँमा नयाँ प्रविधिको बत्ती जडान गर्न लागिएको उनले जानकारी दिए। विभागले अहिलेसम्म उपत्यकामा १९ स्थानमा ट्राफिक बत्ती जडान गरिसकेको छ। ठाउँ ठाउँमा उपत्यकाका स्थानीय तहले राखेका पनि बत्ती छन्।

यी सबै बत्तीमा कुन कति समय बल्ने भनी व्यवस्थापनको काम ट्राफिक प्रहरी महाशाखाले गर्दै आएको छ। अरु निकायले जडान गरेको बत्ती पनि केही महिनामा विभागलाई नै हस्तान्तरण हुने प्रमुख ओझाले जानकारी दिए। विभागले थप अरु ६/७ ठाउँमा बत्ती राख्ने योजना बनाएको छ। चक्रपथको कोटेश्वरबाट–कलंकी खण्डमा ट्राफिक बत्ती जडानको काम आगामी आर्थिक वर्षमा हुनेछ।

काठमाडौं उपत्यका बाहिर पनि पोखरा नगरपालिकाले एक ठाउँमा ट्राफिक बत्ती जडान गरिसकेको छ। वीरगञ्जमा पनि जडान गरिने योजना बनाइएको छ। उपत्यकासँगै उपत्यका बाहिर पनि यसको माग भइरहेको प्रमुख ओझाले बताए।

बत्ती जडान भएका स्थानमा ट्राफिक प्रहरीलाई सडक व्यवस्थापनमा सजिलो भएको छ। यात्रु र चालकबाट पनि राम्रो प्रतिक्रिया आइरहेको विभागले जनाएको छ। अझै पनि कतिपय यात्रु र चालकले बत्तीको संकेत नबुझेर त कतिले बुझे पनि बेवास्ता गरेकाले त्यसको पालना गराउन ट्राफिक प्रहरी चोक चोकमा खटिएको देख्न सकिन्छ।