सीजीको ‘द फर्न’ बन्यो भारतकै सर्वाधिक ठूलो चेन होटल, २०२१ मा थप १३ होटल खोल्ने

बिजमाण्डू
२०७७ चैत्र २९ गते १६:०४ | Apr 11, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। सीजी हस्पिटालिटी अन्तर्गतको ‘द फर्न होटेल्स एन्ड रिसोर्टस्’ सन् २०२० मा भारतको सर्वाधिक ठूलो हस्पिटालिटी सेवा प्रदायक घोषणा भएको छ।

एचभीएस एनारकले प्रकाशन गरेको ‘इन्डियन हस्पिटालिटी ओभरभ्यु २०२०’अनुसार ‘द फर्न’ले गत वर्ष भारतमा सबैभन्दा धेरै व्यवसाय विस्तार गरेको हो। यसअघि सन् २०१९ मा पनि ‘द फर्न’ पहिलो थियो। सीजी कर्प ग्लोबलको सदस्य कम्पनी सीजी हस्पिटालिटीले होटल तथा रिसोर्ट सञ्चालन गर्ने गर्छ।

एचभीएसले गत वर्ष भारतीय होटल व्यवसायमा आएको उतारचढावबारे पनि अध्ययन गरेको छ।

कोरोना महामारीका कारण विश्वभर व्यापार व्यवसायले घाटा बेहोरे पनि भारतीय होटल व्यवसाय क्षेत्रमा केही प्रगति देखिएको छ।

दर्ता संख्याका आधारमा गत वर्ष त्यहाँ होटल व्यवसायमा वृद्धि भएको छ। मध्यमस्तरका होटल दर्ता तथा सम्झौताका कारण समग्र बजारमा सुधार देखिएको हो। ठूला होटलले पनि अघिल्लो वर्षभन्दा उल्लेख्य प्रगति गरेका छन्।

मध्यमस्तरका होटल भारतमा बढी रुचाइन्छन्। सन् २०२० मा उपलब्ध कोठा संख्याका आधारमा यस्ता होटलले ४१ प्रतिशत हिस्सा ओगटेका छन्, जहाँ ठूला होटलको हिस्सा ३७ प्रतिशत छ। विलासी र सामान्य होटलको हिस्सा ११–११ प्रतिशत छ।

एचभीएसको अध्ययनअनुसार व्यवसाय विस्तारमा ‘द फर्न’पछि म्यारियट, सरोवर होटल्स, आईएचसीएल र इन्टेली स्टे छन्। कोठा संख्याका आधारमा भने ‘द फर्न’ तेस्रो नम्बरमा छ।

आईएससीएलले कोठा संख्या सर्वाधिक विस्तार गरेको छ। दोस्रो नम्बरमा विन्धाम होटेल्स छ। सन् २०२० मा भारतभर ४ हजार ५ सय ३७ होटल कोठा थपिएका छन्।

सीजी हस्पिटालिटीले कन्सेप्ट हस्पिटालिटी प्रालिसँगको सहकार्यमा होटल विस्तार र सञ्चालन गर्दै आएको छ।

'भारतकै ठूलो चेन हुन पाउनु गर्वको कुरा हो, यसले हामीलाई उत्साहित बनाएको छ,' कन्सेप्ट हस्पिटालिटी प्रालिका सीइओ सुहेल कन्नामपिली भन्छन्, 'व्यवसायप्रति हाम्रो समर्पण र आबद्ध सबैको परिश्रमले हामीलाई यहाँसम्म पुर्‍याएको हो। अझै धेरै गर्ने हौसला मिलेको छ।'

सन् २०२१ मा विभिन्न स्थानमा थप १३ वटा होटल खोल्ने योजना कम्पनीको छ। यससँगै फर्नको चेन संख्या ८७ पुग्नेछ। ती १३ होटलमा १ हजार १ सय ५६ कोठा थपिएपछि ‘द फर्न’को कुल कोठा संख्या ५ हजार २ सय १७ पुग्नेछ।

वर्षको शुरुवातमै ‘द फर्न’ले नयाँ शहरहरू जबलपुर, जुनागढ, मुसोरीसँगै उत्तरपूर्वी भारतको गान्तोक (सिक्किम)मा होटल विस्तार गरिसकेको छ।

एचभीएसको अध्ययन प्रतिवेदनमा प्रतिक्रिया दिँदै सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले यसबाट आफूहरू अत्यन्त उत्साहित भएको बताए।

'हामीले लामो समयदेखि भारतमा व्यवसाय विस्तार गरिरहेका छौं, त्यसको प्रतिफल अहिले पाएका हौं,' उनले भने, 'यद्यपि पोहोर साल सम्पूर्ण विश्व विभिन्न खाले अवरोधबाट गुज्रियो। त्यस्तो जटिल अवस्थामा पनि हामी सुस्ताएनौं। सुदूर भविष्य हेरेर काम गरिरह्यौं। यही उमंगले हामीलाई पहिलो स्थानमा पुर्‍याएको हो।'

उनका अनुसार दिगो पर्यटन र पर्यावरण–संवेदनशील दर्शनमा आधारित भएर सीजी हस्पिटालिटीले विश्वभर व्यवसाय विस्तार गरिरहेको छ।