१५ लाखबाट थालेको बंगुर फर्म १३ गुणाले बढाएकी कञ्चनपुरकी कृषक कलावतीलाई प्रधानमन्त्रीको सम्मान

बिजमाण्डू
२०७७ चैत्र १२ गते १६:१६ | Mar 25, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। कञ्चनपुरकी कृषक कलावती भट्ट प्रधानमन्त्रीबाट सम्मानित भएकी छन्। राजधानीमा बिहीबार आयोजित पशुजन्य उत्पादनहरुमा आत्मनिर्भरता घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टलाई दोसल्ला ओढाएर सम्मान तथा प्रमाणपत्र प्रदान गरे।

पशुजन्य उत्पादनमा आफ्नो क्षेत्रबाट देशलाई आत्मनिर्भर बनाउनमा योगदान गरेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सम्मानका लागि सुदूरपश्चिम प्रदेशबाट भट्टलाई छनोट गरेको थियो। सम्मान पत्र प्रदान गर्दै प्रधानमन्त्री ओलीले भट्टलाई प्रगतिको शुभकामना दिए।

कलावतीले २०७० माघ २८ मा शुक्लाफाँटा नगरपालिकास्थित सुनबरा नदी किनारमा 'रिभरसाइड पिक्ज एण्ड एग्रो फर्म' खोलेर १५ लाख लगानीबाट व्यवसाय सुरु गरेकी थिइन्। अहिले उनको व्यवसाय त्यसको १३ गुणाभन्दा धेरैले बढेर दुई करोड रुपैयाँभन्दा माथिको भइसकेको छ। उनको फर्मले मासुका लागि बंगुर र त्यसका बच्चा उत्पादन तथा बिक्री गर्दै आएको छ। स्थानीय स्तरमा रोजगारीको माध्यम पनि बनेको छ उनको बंगुर फर्म।

कलावतीले बंगुर बजारको प्रवर्द्धनका साथै बंगुरको मासुबारे सचेतिकरणलाई पनि प्राथमिकता दिँदै आएकी छन्। भट्ट यसअघि जिल्लाकै उत्कृष्ट कृषकका रुपमा सम्मानित भइसकेकी छन्।

प्रधानमन्त्रीबाट पाएको सम्मानले आफूलाई काम गर्न थप हौसला मिलेको कलावतीले प्रतिक्रिया दिइन्। ‘प्रधानमन्त्रीज्यूले महिलाले यत्रो राम्रो गर्नुभएको छ, धेरै खुसी लाग्यो। तपाईहरुकै योगदानले मासुमा हाम्रो देश आत्मनिर्भर भइसकेको छ। उत्तरोत्तर प्रगतिको कामना। अझै राम्रो होस्। धेरै प्रगति गरेको देख्न पाइयोस् भन्नुभयो,’ सम्मानका दौरान प्रधानमन्त्रीको प्रतिक्रियाबारे भट्टले भनिन्। 

कार्यक्रममा प्रस्तोताले नेपालमा बंगुर पालन विस्तारै व्यवसायीकरण हुँदै गएको क्षेत्र भन्दै कलावती भट्ट जस्ता कर्मठ हातहरुले बंगुर पालनको उत्पादन र बजारीकरणमा एकदमै विकास हुँदै गइरहेको उल्लेख गरेका थिए।