निर्माण कम्पनी सीई कन्स्ट्रक्सनको नाफा बर्सेनि बढ्दो, २०२० मा गर्‍यो ३ अर्बको कारोबार

बिजमाण्डू
२०७७ फागुन १७ गते १७:२० | Mar 1, 2021
निर्माण कम्पनी सीई कन्स्ट्रक्सनको नाफा बर्सेनि बढ्दो, २०२० मा गर्‍यो ३ अर्बको कारोबार

काठमाडौं। विभिन्न पूर्वाधारहरु निर्माण गर्दै आएको सीई कन्स्ट्रक्सनको कारोबार बर्सेनि बढिरहेको छ। कम्पनीले सन् २०२० मा तीन अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ।

Tata
GBIME
Nepal Life

सन् २०१८ मा दुई अर्ब र सन् २०१९ मा कम्पनीले साढे दुई अर्बभन्दा बढी कारोबार गरेको रेटिङ कम्पनी इक्रा नेपालले जनाएको छ। 

कम्पनीले विगत चार वर्षदेखि कारोबारसँगै नाफा बढाउँदै लगेको छ। तर कोरोना महामारीका कारण परियोजनाको निर्माण र कार्यान्वयनमा केही असर पुर्‍याएको इक्रा नेपालले जनाएको छ। कम्पनीले सन् १९९२ देखि जलविद्युत, हाउजिङ तथा अपार्टमेन्ट, अस्पताल, होटल, कार्यालय तथा व्यापारिक भवन इत्यादिको निर्माण, डिजाइन र परामर्शको काम गर्दै आएको छ।  

स्थापनाको सुरुआतमा हाउजिङ तथा अपार्टमेन्ट निर्माण गर्दै आएको कम्पनीले विगत पाँच वर्षदेखि भने जलविद्युत निर्माणमा ध्यान केन्द्रीत गर्दै लगेको छ। दुई वर्षदेखि कम्पनीले ठूला क्षमताको जलविद्युत निर्माणको ठेक्का पाउँदै आएको इक्रा नेपालले जनाएको छ। 

सीईले कुल चार अर्ब रुपैयाँको ऋणका लागिसमेत रेटिङ पाएको छ। सीईले ८० करोड रुपैयाँ दीर्घकालीन, ७५ करोड ९० लाख रुपैयाँ छोटो अवधि ऋण र दुई अर्ब ४४ करोड ३० लाख रुपैयाँ नन-फन्डमा आधारित छोटो अवधिको ऋणका लागि रेटिङ पाएको छ। दीर्घकालीन ऋणका लागि एनपीएल डबल बी प्लस, छोटो अवधिसँगै नन-फन्डमा आधारित छोटो अवधि ऋणका लागि एनपी ए फोर प्लस रेटिङ पाएको छ।