टिकटकसहित ५९ वटा बिभिन्न चिनियाँ एप भारतमा चलाउन नमिल्ने, स्थायी प्रतिबन्ध लगायो

बिजमाण्डू
२०७७ माघ १३ गते १०:३२ | Jan 26, 2021

Tata
GBIME
Nepal Life

सीमा क्षेत्रमा बढ्दो तनावका बीच भारतले बिभिन्न ५९ वटा चिनियाँ एपहरुमाथि स्थायी रूपमा नै प्रतिबन्ध लगाएको छ।

टिकटक, हेलो, वि च्याट, अलिबाबाको यूसी ब्राउजर तथा यूसी न्यूज, सीन, क्लब फ्याक्ट्री, लाइकी, बिगो, लाइभ क्वाई, कल्यास अफ किंग्स, तथा क्याम स्क्यानर जस्ता एपहरु परेका छन्।

भारतको सूचना प्रविधि ऐन अनुसार यी एपहरुमाथि स्थायी प्रतिबन्ध लगाइएको बताइएको छ।

भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले गत हप्तामात्रै यी सबै एपहरुलाई स्थायी प्रतिबन्ध लगाउन सूचना जारी गरेको हो। त्यसअघिसम्म यी एपहरुमा अस्थायी प्रतिबन्ध लगाइएको थियो।

मन्त्रालयले नयाँ सूचना जारी गर्दै पछिल्लो पटक पठाएको नोटिसमा एपहरुबाट प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै यसअघि लगाइएको अस्थायी प्रतिबन्धको सट्टा स्थायी रूपमै प्रतिबन्ध लगाएको बताएको छ।

चीनसँग सीमानामा भइरहेको झडपहरुपछि गत वर्ष जुनमा भारतले बिभिन्न चिनियाँ एपहरु भारतका लागि 'सुरक्षाको खतरा' बनेको भन्दै अस्थायी प्रतिबन्ध लगाएको थियो।