इसेवामा खाता खोल्नेको संख्या ४० लाख नाघ्यो, १२ वर्षमा देशभर एक लाख बढी एजेन्ट

बिजमाण्डू
२०७७ माघ १२ गते १६:३६ | Jan 25, 2021
इसेवामा खाता खोल्नेको संख्या ४० लाख नाघ्यो, १२ वर्षमा देशभर एक लाख बढी एजेन्ट

Tata
GBIME
Nepal Life

काठमाडौं। विद्युतीय भुक्तानी सेवा प्रदायक इसेवा १२औं वर्षमा प्रवेश गरेको छ। नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा आर्थिक कारोबारको महत्वपूर्ण माध्यम बनेको छ।

इसेवाले मुलुकका अधिकांश महानगरपालिका, नगरपालिका, गाउँपालिकाका वडा तहसम्म पुगेर नगदरहित 'क्यासलेस' कारोबार विस्तारलाई प्रभावकारी बनाएको छ।  

मोबाइल तथा इन्टरनेट माध्यमबाट भुक्तानी सेवा दिइरहेको इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४० लाख नाघेको कम्पनीले जनाएको छ। अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख इसेवामार्फत सेवा लिइरहेको बताइएको छ।

हाल इसेवाको देशभर एक लाखभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको कम्पनीले जनाएको छ। यसैगरी मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघेका छन्। 

'कुराकानीका लागि मात्र सीमित भएको मोबाइललाई हामीले वित्तीय कारोबार गर्ने महत्वपूर्ण माध्यम बनाउन सफल भएका छौं। आगामी दिनमा हामीले इसेवालाई भुक्तानीका लागि मात्र नभएर आर्थिक कारोबारको वान स्टप सोलुसनका रूपमा विकास गर्दै लैजानेछौं,' १२ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने।

तीन जना युवाको परिकल्पनाबाट सुरू भएको एफवानसफ्ट कम्पनी अन्तर्गत इसेवासँगै करिब एक दर्जन कम्पनीहरु सञ्चालनमा छन्। यस ग्रुपले अहिले एक हजारभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको कम्पनीले जनाएको छ।

इसेवाले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत् विभिन्न विद्यालयलाई डिजिटल बनाउने उद्देश्यसहित करिब ६ सय वटा कम्प्युटर वितरणसँगै इ-लाइब्रेरी स्थापना, नि:शुल्क शैक्षिक सफ्टवेयर उपलब्ध गराएको जनाएको छ।