एनओसी पाएका दुई हेलिकोप्टर कम्पनी उडान नथाल्दै संकटमा, पुराना किन्ने विकल्प खोज्दै

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ माघ १२ गते १८:२५ | Jan 25, 2021
एनओसी पाएका दुई हेलिकोप्टर कम्पनी उडान नथाल्दै संकटमा, पुराना किन्ने विकल्प खोज्दै

  

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड महामारी नभएको भए यतिखेर नेपाली आकाशमा अरू हवाई सेवासँगै मुस्ताङ र अन्नपूर्ण कम्पनीका हेलिकोप्टर पनि फन्को लगाइरहेका हुन्थे।

एयरबस हेलिकोप्टर सञ्चालनमा ल्याउने दुई वर्ष अघिदेखि प्रक्रियामा रहेका यी कम्पनी यतिखेर दोधारमा छन्। कम्पनी सञ्चालकहरू तीन विकल्पमा छलफल गरिरहेका छन्- अनुमतिका प्रक्रिया पूरा गरेर नयाँ हेलिकप्टर भित्र्याउने, अरुका पुराना किन्ने वा कम्पनी सञ्चालनको योजना नै स्थगन गर्ने। 

योजना स्थगन नगरी जसरी भए पनि सञ्चालनमा ल्याउने मनस्थितिमा सञ्चालकहरू छन्। तर ठूलो लगानी पर्ने योजनाले तत्काल अपेक्षित प्रतिफल दिन नसक्ने हिसाब देखिँदा उनीहरू बीच अन्योल छ।

दुवैले कम्पनीले हेलिकप्टर ल्याउने प्रक्रिया अघि बढाइसकेका थिए। पुराना कम्पनीहरू आम्दानी घटेर टिक्न धौधौ परेको अवस्थामा नयाँलाई कोभिड आतंकले झन् गाँजेको छ। पर्यटक आवागमन नहुँदा हेलिकप्टर कम्पनी फुर्सदिला छन्। कोभिड बिरामी उद्धार गर्ने अनुमति लिए पनि अपेक्षित काम नपाउँदा भाडा दर घटाघटको प्रतिष्पर्धामा छन्। 

हेलिकप्टरको संख्या अनुसार उडानको काम निकै कम पाउँदा पुराना सबैजसो कम्पनीका सञ्चालक खुसी देखिँदैनन्। नयाँ कम्पनीसँग त उडान संचालनका लागि न हेलिकोप्टर छ न  खर्च व्यवस्थापनका लागि विकल्प। नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभागमा एनओसी प्रक्रिया पूरा गरिसेकको मुस्ताङले तत्काल सेवा सञ्चालनमा ल्याइहाल्न सक्ने अवस्था नरहेको जनाएको छ। गत मार्चमै एयरबसका दुई हेलिकप्टर ल्याएर उडान थाल्ने योजना बनाएको कम्पनी अब अलमलमा छ। 

'अहिले भइरहेकै हेलिकोप्टर कम्पनीबीच कटथ्रोट कम्पिटीसन छ। एक हजार डलरमा हेलिकप्टर सञ्चालन गर्नु भनेको त सुसाइड अटेम्प्ट गर्नु हो। त्यसैकारण हामी आजभोलिमै सञ्चालनमा आउँदैछौं भन्ने अवस्था छैन,' मुस्ताङका सञ्चालक रोनन लामिछानेले भने, 'आगामी सेप्टेम्बरसम्मकै अवस्था जटिल देखिन्छ। तर हामी त्यसअघि नै एओसी प्रक्रिया पूरा गर्ने योजनामा छौं।' 

ठूलो रकम खर्चेर नयाँ ल्याउनुभन्दा सम्भव भएसम्म मुलुकभित्रै सञ्चालनमा रहेका कुनै कम्पनीका हेलिकोप्टर खरिद गर्ने विकल्पमा बिचार भइरहेको उनले बताए। यसका लागि केही कम्पनीसँग छलफल भए पनि खरिद-बिक्रीको टुंगो भने भइसकेको छैन।       

एक वर्षअघि एयरबस कम्पनीका दुई हेलिकोप्टर अर्डर गरेको अन्नपूर्णले गत फेब्रुअरीदेखि सेवा  सञ्चालनमा ल्याउने योजना बनाएको थियो। तर योजना पछाडि धकेलियो। कम्पनी यतिबेला आर्थिक संकटमा छ। चाहिने पैसा व्यवस्था गर्न नसक्दा उडान कहिले थाल्ने भन्ने अनिश्चित भएको छ। एयरबसको एचवन-२५ सिरिजको हेलिकप्टरमार्फत उडान गर्ने योजना बैंकिङ प्रक्रियामै रहेको प्रशासन प्रबन्धक श्रीष शर्माले बताए।

'कम्पनी सञ्चालन गर्ने भनेर अहिलेसम्म पाँच करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। अहिले बैंकिङ प्रोसेसमा छौं। बैंकबाट सहयोग जुटलगत्तै तीन महिनाभित्र एनओसी प्रक्रिया सकेर व्यवसायिक उडान सुरु गर्छौं,' उनले भने, 'हामी प्रयासरत छौं।' नागरिक उड्डयन प्राधिकरणबाट मान्यता प्राप्त १८ जना जनशक्ति भर्ना गरिसकेको कम्पनीले मासिक ६ लाख रुपैयाँ खर्च गर्दै आएको उनले बताए। 'हामी जसरी भए पनि अपरेसनमा आउने योजनामा छौं तर आफूले मात्रै हतार गरेर हुने अवस्था छैन,' उनले भने।

पुराना हेलिकोप्टर बिक्री गर्न चाहेका नेपाली कम्पनीबाट खरिद गर्ने विकल्पसहितका योजना रहेको उनले बताए। हाल मुलुकमा सञ्चालित हेलिकप्टर कम्पनीको संख्या १० छ। यी कम्पनीका ३५ वटा हेलिकोप्टर छन्। कतिपय कम्पनी आंशिकरूपमा सञ्चालित छन् भने केहीले तत्कालका लागि सेवा बन्द गरेको अवस्था छ। 

सञ्चालन खर्च उठाउन गाह्रो परेपछि कम्पनीहरू बीच भाडामा प्रतिष्पर्धा छ। कम्पनी सञ्चालनमा गाह्रो परेपछि 'मर्जर'को प्रक्रियामा लैजान केही व्यवसायीले छलफल पनि गरेका थिए। तर, सरकारले त्यससम्बन्धी प्रावधानको जटिलता फुकाइदिन चासो नदिएको गुनासो व्यवसायीको छ।

क्षेत्रीय बेस उडानका लागि अनुमति   
पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौं बाहिर बेस बनाएर उडान गर्न इच्छुक हेलिकप्टर कम्पनीलाई इजाजत दिन सुरु गरेको छ।

केही समयअघि नयाँ हेलिकोप्टर कम्पनी 'त्रिलोक' ले मन्त्रालयबाट लाइसेन्स पाएको छ। त्रिलोकलाई भैरहवा बेस रहेर उडान गर्ने सर्तमा इजाजत दिइएको मन्त्रालयले जनाएको छ। प्रक्रियाका लागि यतिखेर कम्पनीको फाइल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभागमा पुगिसकेको स्रोतले जनाएको छ।

'एनओसी लिन कागज अघि बढाएका दुई कम्पनी प्रक्रियामै जान सकेका छैनन्। अब यी दुई कम्पनीको सबै प्रक्रिया सकेर एओसी दिइसकेपछि मात्र नयाँ कम्पनीका लागि प्रक्रिया सुरु हुनेछ,' प्राधिकरणका एक कर्मचारीले भने। काठमाडौं बाहिर बेस रहेर उडान गर्नका लागि त्रिलोकसँगै अन्य नयाँ कम्पनी पाइपलाइनमा छन्। 

'कोभिडको परिणामलाई मध्यनजर गर्दै नयाँ हेलिकप्टर कम्पनी दर्ता हुनु स्वभाविक हो। अहिले भइरहेकै कम्पनी बन्द हुने अवस्था छ। चरम रूपमा कटथ्रोट कम्पिटीसन छ। कतिपय कम्पनी डुब्ने प्रक्षेपणका आधारमा नयाँ कम्पनी दर्ता हुन थालेको पाइएको छ,' एक व्यवसायीले भने। 
नयाँ नीति अनुसार क्षेत्रीयस्तरमा यसरी हेलिकप्टर कम्पनी विस्तार हुँदै आउनु सकारात्मक रहेको व्यवसायीले जनाएका छन्।

क्रय शक्ति बढेसँगै मार्केट एक्सपान्सन गर्नका लागि अब विदेशी पर्यटकभन्दा पनि आन्तरिक पर्यटकलाई प्राथमिकता दिँदै अगाडि बढ्न आवश्यक रहेको उनीहरूको भनाइ छ।