हिरो मोटोकर्प ३७ वर्षमा, १० करोड बाइक उत्पादन, एक्स्ट्रिम, स्प्लेन्डर र डेस्टिनीको नयाँ संस्करण

बिजमाण्डू
२०७७ माघ ८ गते १७:२० | Jan 21, 2021
हिरो मोटोकर्प ३७ वर्षमा, १० करोड बाइक उत्पादन, एक्स्ट्रिम, स्प्लेन्डर र डेस्टिनीको नयाँ संस्करण

Tata
GBIME
Nepal Life

काठमाडौं। भारतको मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले ३७ वर्षको अवधिमा १० करोड थान हिरो मोटरसाइकल उत्पादन गर्न सफल भएको छ।

कम्पनीले १० करोड थान मोटरसाइकल उत्पादन गर्दै बिहीबारदेखि 'आइकोनिक ल्याण्डमार्क'मा प्रवेश गरेको छ। कम्पनीले उत्पादन गर्दै आएको विभिन्न सेग्मेन्टका मोटरसाइकलमध्ये भारतको उत्तराखण्डस्थित हरिद्वार प्लान्टमा उत्पादित प्रिमियम बाइक हिरो एक्स्ट्रिम १६० आर उत्पादन गरेर १० करोडको संख्या पुगेको हो।

सन् १९८४ मा स्थापना भएको कम्पनीले सन् २०१३ मै पाँच करोड थान बाइक उत्पादन गरेको थियो। सन् २०१७ मा कम्पनीले साढे सात करोड थान बाइक उत्पादन गरेको थियो। बिहीबार कम्पनीले 'हिरो मोटोकर्प १०० मिलियन अचिभमेन्ट'  काम गरेको थियो। यही अवसरमा कम्पनीले स्प्लेण्डर प्लस, एक्स्ट्रिम १६० आर, ग्ल्यामर १२५, डेस्टिनी १२५, मेस्ट्रो एड्ज ११० लगायत नयाँ संस्करणका सार्वजनिक गरेको छ।

आउँदो फेब्रुअरीदेखि यी संस्करणको औपचारिक बिक्री सुरु हुने कम्पनीले जनाएको छ। कम्पनीका अध्यक्ष पवन मुन्जल र भारतीय चर्चित अभिनेता शाहरुख खानले ती बाइक सार्वजनिक गरे। कम्पनीले निमराना, गुरुग्राम र हरिद्वार लगायत तीन वटा प्लान्टमा बाइक उत्पादन गरिरहेको छ। 'हामी सबैमा हिरोको विशेषता छ। एउटा हिरोले मात्र नभइ हामीसँग जोडिएका सबैको हिरोको साथ सहयोगले आज यो अवस्थामा आइपुगेका छौं,' बिहीबार आयोजित भर्चुअल कार्यक्रममा कम्पनीका अध्यक्ष मुन्जलले भने।

३७ वर्ष अगाडि (सन् १९९४ जनवरी १९ तारिख)मा स्थापना भएको कम्पनी सुरुवाती समयमा हिरो होण्डाको नामले परिचित थियो। भारतीय बजारमा आफ्नो उत्पादन बिक्री वितरण गर्नका लागि कम्पनीले होण्डासँग सहकार्य गर्दै आएको थियो। सन् २०११ मा दुई कम्पनी विभाजित भएपछि 'हिरो मोटोकर्प' स्थापना भएको थियो।

'विगत पाँच वर्ष अगाडिदेखि हामी भारत बाहिरका ४० मुलुकमा आफ्नो प्लेटफर्म विस्तार गर्ने योजनामा छौं,' उनले भने। केही समय अगाडि मात्र कम्पनीले हार्ले डेभिडसनसँग साझेदारी गरिसकेको छ। पाँच वर्षको अवधिमा कम्पनीले प्रत्येक वर्ष भेरियन्ट्स र अपग्रेडका आधारमा १० वटा मोडलको उत्पादन सार्वजनिक गर्ने योजना रहेको जनाएको छ।