पूर्वका उद्योगीले कोभिडग्रस्त उद्योगका लागि पुनर्कर्जा मागे, भन्छन्- कर्जा पाउनै गाह्रो भो

बिजमाण्डू
२०७७ माघ ८ गते १४:१८ | Jan 21, 2021

Tata
GBIME
Nepal Life

विराटनगर। पूर्वका ब्यापारीहरुले पुनर्कर्जा प्रणाली सहज बनाउन माग गरेका छन्।

नेपाल उद्योगवाणिज्य महासंघको प्रदेश नम्बर १ को पदस्थापन समारोहमा पूर्वका उद्योगी व्यवसायीले आफ्ना समस्याहरु महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सामु राख्दै पुनर्कर्जा लिन समस्या भएको बताएका हुन्।  

महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले पुनर्कर्जाको ८० अर्बमध्ये १० अर्ब मात्र लगानी भएको तथ्याङ्क प्रस्तुत गर्दै पुनर्कर्जाको प्रक्रियालाई सरल बनाउन माग गरे ।

‘पुनर्कर्जा पाउन सजिलो छैन’, उपाध्यक्ष राउतले भने, ‘पुरानो कर्जामा थप्न सजिलो छ । नयाँ पाउन गाह्रो छ । त्यसमा पनि २० करोडसम्म मात्र पुनर्कर्जा दिने भएकाले ठूला उद्योग वञ्चित भएका छन् ।’

उनले कोभिडले ग्रस्त उद्योगलाई पुनर्कर्जा दिन आग्रह गरे ।

यसैगरी महासंघको प्रदेश नम्बर १ का नवनिर्वाचित अध्यक्ष टीकाराज ढकालले उद्योगको दर्ता प्रक्रिया र वातावरणीय प्रभाव मूल्याङ्कनमा धेरै समय लाग्ने दुखेसो गरे ।

महासंघका केन्द्रीय सदस्य उमेश डालमियाँले राजमार्गमा प्रहरीले निर्दोष व्यवसायीलाई दुःख दिएको गुनासो गरे। उनले भीसीटीएस् प्रविधिको उपयोग गरेर मूअकरको रसिद काटेर राजमार्गमा लगिएको हरियो केराउलाई प्रहरीले पक्राउ गरेर दुःख दिएको बताए।

उद्योगी व्यवसायीलाई आश्वासन दिँदै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले तीन तहकै सरकारले निजी क्षेत्रलाई व्यावसायिक साझेदार नबनाएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका छन् ।

उनले देशको समग्र विकास र समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई साझेदार बनाउन आग्रह गरे ।

ढकालले कृषि र पर्यटन लगायतका क्षेत्रमा सरकारी संयन्त्रले निजी क्षेत्रलाई सहयोग गर्ने हो भने सानो समयमा धेरै काम गर्न सकिने धारणा प्रकट गरे ।

उनले नेपालमा कमर्सियल बैंकको ब्याज चर्को भयो भनेर नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलन गरेकै कारणले अहिले ब्याज सिङ्गल डिजिट (एकल अङ्क)–मा झरेको दाबी गरे ।

ढकालको भनाइ थियो, ‘यो एकल अंकको ब्याजलाई हामी उद्योगी–व्यापारीले उपयोग गर्न सक्नुपर्छ । हाम्रा लागि यो अवसर हो ।

यसैगरी द्वैध करप्रणाली मुलुकमा अझै विद्यमान भएको उल्लेख गर्दै यसको अन्त्यका लागि  पनि उनले सरकारसँग आग्रह गरे।

ढकालले भर्खरै देशका नागरिकले चन्द्रागिरि हिल्स र पूर्वाधार विकास बैङ्कमा दिएको आइपिओको आवेदनको अध्ययन गर्दा कुनै पनि लगानीकर्तालाई स्रोत र साधनको खाँचो नहुने निष्कर्ष निस्किएको बताए ।

उनले भने, ‘स्रोत र साधन आम जनतामा छरिएर रहेको छ । आइपिओमा १५ गुणा बढीले आवेदन पर्न थालेको छ । यसबाट छरिएर रहेको स्रोत र साधनलाई संयोजनको खाँचो छ भन्ने पुष्टि भएको छ ।’

अध्यक्ष ढकालले जग्गाजमिनको मूल्य अत्यधिक भएको हुँदा उद्योग स्थापना गर्न कठिनाइ भएको चर्चा गर्दै सरकारले औद्योगिक ग्रामका संख्या बढाउनुपर्नेमा जोड दिए ।